Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषरुससँगको युद्धमा आफ्ना ३१ हजार सैनिक मारिएको युक्रेनको दाबी

रुससँगको युद्धमा आफ्ना ३१ हजार सैनिक मारिएको युक्रेनको दाबी


काठमाडौं,युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्नो देशका ३१,००० सैनिकको ज्यान गइसकेको जानकारी गराएका छन्।

उनले रुसलाई सैन्य योजना बनाउन सहयोग पुग्न सक्ने भनी घाइतेहरूको सङ्ख्या भने सार्वजनिक गरेनन्।

सामान्यतया युक्रेनले मृत्युको सङ्ख्या सार्वजनिक गर्दैन र अन्य स्रोतहरूले हाल बताइएको भन्दा धेरै जनाले ज्यान गुमाइसकेको अनुमान गरेका छन्। अमेरिकी अधिकारीहरूले गत अगस्टमा ७०,००० सैनिक मारिएको र १,२०,००० मानिस घाइते भएको तथ्याङ्क अगाडि सारेका थिए।

तर युक्रेनी रक्षामन्त्रीले हालै पश्चिमा शक्तिले प्रतिबद्धता गरेको सहायताको आधा परिमाण प्राप्त हुन ढिला भइरहेकाले आफ्नो देशले जनधन र भूभाग गुमाउनु परिरहेको बताएसँगै यो तथ्याङ्क सार्वजनिक गरिएको छ।
सर्वसाधारण कति मरे?
जेलेन्स्कीले रुसले युक्रेनले भोगेको मानवीय क्षतिको अतिरञ्‍जित तथ्याङ्क फैलाएकोले आफूले अद्यावधिक जानकारी दिएको बताए।

“यस युद्धमा ३१,००० युक्रेनी सैनिकहरूको मृत्यु भएको छ, ३,००,००० वा १,५०,००० वा पुटिन र उनका सहयोगीहरूले बताउँदै आएजस्तो अन्य कुनै मिथ्या सङ्ख्या होइन। तर मारिएको हरेक व्यक्ति हाम्रो लागि ठूलो क्षति हो।”

तर उनले रुसले कब्जा गरेको क्षेत्रहरूमा हजारौँ सर्वसाधारणको मृत्यु भइसकेको र ठ्याक्कै सङ्ख्या थाहा हुन नसकेको पनि बताए।

“मलाई थाहा छैन कति मरे, कतिलाई मारियो, कतिलाई यातना दिइयो, कतिलाई निकाला गरियो।”
रुसतर्फ भने जेलेन्स्कीले १,८०,००० सैनिक मारिएका र दसौँ हजार घाइते भएका बताए।

बीबीसी रसिअनले मिडियाजोन नामक वेबसाइटसँगको सहकार्यमा युद्धमा मारिएका ४५,००० भन्दा बढी रुसी सैनिकहरूको पहिचान गरेको छ। तर मृत्युको वास्तविक सङ्ख्या योभन्दा बढी रहेको उसको अनुमान छ।

फेब्रुअरीमा ब्रिटेनको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ३,५०,००० रुसी सैनिकहरू मरिसकेको वा घाइते भएको बताएको थियो।

ढिलाइप्रति असन्तुष्टि
राष्ट्रपति जेलेन्स्कीले यो सबै जानकारी उनका रक्षामन्त्री रुसटम उमेरभले पश्चिमा मित्रराष्ट्रहरूले सैन्य सहायता प्रदान गर्न ढिलाइ गरेको भनी असन्तुष्टि पोखेपछि प्रस्तुत गरेका हुन्।

“प्रतिबद्धता व्यवहारमा देखिएन,” उमेरभले केही समय अगाडि भनेका थिए।

युक्रेनले केही समययता रुसविरुद्धको आफ्नो अभियानमा असफलताको सामना गर्दै आएको छ। यस्तो अवस्थामा वाचा गरिएको सहयोग प्राप्त नहुँदा युक्रेनलाई “युद्धको गणित” मा थप क्षति पुगेको भनी उनले भनेका थिए।

“हामीले सम्भव असम्भव सबै कार्य गरिरहेका छौँ तर [सहयोग] आपूर्ति नहुँदा हामीलाई हानि पुगेको छ।”
जर्मनीले नोभेम्बरमा नै युरोपेली सङ्घले सुरुमा भनेको जति तोपका गोला दिन नसक्ने बताएको थियो।

युरोपले आगामी मार्चसम्ममा युक्रेनलाई १० लाख गोला दिने योजना बनाएको थियो। तर ज्यानुअरीमा ईयूले सो मितिसम्म प्रतिज्ञा गरिएको भन्दा आधि सङ्ख्या मात्र दिन सकिने बतायो। बाँकी गोला सन् २०२४ को अन्त्यसम्म मात्र प्रदान गर्न सकिने पनि उसले स्पष्ट पार्‍यो।

जेलेन्स्कीले हतियारको अभावले गर्दा युक्रेनको गत वर्षको प्रत्याक्रमण अभियान ढिला सुरु भएको पनि बताए।

त्यो प्रत्याक्रमण सफल हुन पनि सकेन। युक्रेनले रुसले फेब्रुअरी २०२२ मा सुरु गरेको आक्रमणको सुरुवाती दिनमा केही सफलता हासिल गरे पनि हालका दिनहरूमा उल्लेख्य प्रगति गर्न सकेको छैन।
जेलेन्स्कीले आइतवार प्रत्याक्रमणको सूचना रुसलाई पहिले नै चुहाइएको हुन सक्ने भनी शङ्का पनि प्रकट गरे।

गत हप्ता युक्रेनी सेनाले रणनीतिक महत्त्वको अभ्दियिभ्का सहर छोड्नुपरेको थियो। यसलाई रुसले ठूलो विजयको रूपमा लिएको थियो।

जेलेन्स्कीले यो पनि पश्चिमा राष्ट्रहरूले हतियार समयमा नदिएको कारणले भएको धारणा राखे।

अमेरिकामा जो बाइडनको सरकारले आफूले युक्रेनलाई दिन चाहेको ६० अर्ब अमेरिकी डलर बराबरको सहायता संसद्‍मा रोकिएकोले सो सहर रुसी नियन्त्रणमा गएको बताएको छ।

रुसलाई पनि गाह्रो
रुसले युद्ध सुरु गरेको दुई वर्ष पूरा भएको अवसरमा शनिवार पश्चिमी राष्ट्रका नेताहरूले राजधानी किएभमा पुगी युक्रेनका लागि समर्थन देखाए।

सोही उपलक्ष्यमा इटली र क्यानडाले युक्रेनलाई नेटो सदस्य नबनेसम्मका लागि सैन्य सहयोग गर्न सुरक्षा सम्झौता गरेको घोषणा गरे।

युक्रेनझैँ रुसलाई पनि आफ्नो सेनालाई हातहतियार पुर्‍याउन गाह्रो भइरहेको पश्चिमी मुलुकहरूको भनाइ छ।

“रुसको वर्तमान हतियार उत्पादन क्षमता सेनाको आवश्यकता पूरा गर्नका लागि पर्याप्त छैन,” एक पश्चिमा अधिकारीले भने। मस्कोले तत्कालका लागि वैकल्पिक स्रोत प्रयोग गरी हतियारको आपूर्ति बढाए पनि यसले दीर्घकालीन रूपमा उसलाई नसघाउने उनले बताए।
(बीबीसी)


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया