Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषआर्थिक दैनिक १५ वर्षमा प्रवेश (प्रकाशकीय)

आर्थिक दैनिक १५ वर्षमा प्रवेश (प्रकाशकीय)


२०८१ सालको नयाँ वर्ष सुरुवातसँगै आर्थिक दैनिक १४ वर्ष पूरा गरेर १५ वर्षमा प्रवेश गरेको छ । बितेको १४ वर्षमा हामीले नियमितरुपमा आर्थिक दैनिक प्रकाशित गर्दै १५ वर्षको सुरुको दिन चार हजार सात सय ४३औँ अंक लिएर तपाईँहरुको माझ आएका छौँ । विगत १४ वर्ष हाम्रा लागि जति कष्टकर थिए, सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको छलाङको कारण समग्र छापा पत्रकारिता नै कष्टकर यात्रामा रहेको कारण हाम्रो यात्रा पनि आगामी दिनमा झनै कष्टकर हुनेछन् भन्ने हामीलाई थाहा छ । कष्टकर भए पनि पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको माया र हौसला हामीले पाइरहेका छौँ । आम नागरिकको त्यही बलले नै हामीलाई हाम्रो यात्रा अगाडि बढाउन थप प्रोत्साहन मिल्नेछ र हाम्रो यात्रा अनन्तकालसम्म निरन्तर हुने प्रतिज्ञा आर्थिक दैनिकको १५ वर्ष प्रवेशको वर्ष र नेपालीको नयाँ वर्ष २०८१ सँगै गर्दछौँ ।

आर्थिक दैनिक प्रकाशनका सुरुका वर्षहरुमा नेपालको मात्र होइन विश्वको अर्थतन्त्र जति सहज थियो अहिलेसम्म आइपुग्दा झन्भन्दा झन् जटिल बन्दै गरेको अनुभूत हामीले गरेका छौँ । विश्वका सबैजसो मुलुक आर्थिक मन्दीको मारमा परेका छन् । विश्वमा वस्तु तथा सेवाको मूल्य वृद्धि भएको छ भने रोजगारीको अभाव छ । अझ नेपालजस्ता आयातित वस्तुबाट राजस्व संकलन गरेर खर्च व्यवस्थापन गर्ने देशहरुको अवस्था त कहालीलाग्दो हुँदै गएको छ । देशको अर्थतन्त्र कमजोर बन्दै जाँदा समग्र आर्थिक गतिविधिमा सुस्तता आएको छ । यो सुस्तताले सबै पेसा तथा व्यवसायमा नकारात्मक प्रभाव पार्ने पारेको छ । यसको प्रभाव कहिले हट्ने अझै निश्चित छैन । तर, त्यसको प्रभाव सञ्चार माध्यमहरुमा परेको अनुभव हामीले दैनिकरुपमा गरिरहेका छौँ ।

हाम्रो यात्रामा जतिसुकै बाधा, अवरोध र काँडेतारको गुजुल्टो देखा परे पनि त्यसलाई पन्छाउँदै अगाडि बढ्ने प्रण गर्दछौँ । हामी असत्यसँग झुक्नेछैनौँ र सत्यसँग खेलबाड गर्ने पनि छैनौंँ । देशको समग्र आर्थिक विकासका लागि विगतदेखि जसरी सत्यको पक्षमा निरन्तर जुधिरहेका छौँ अझ खरो ढंगले जुधेर अगाडि बढ्ने प्रण गर्दछौँ । विकृति र विसङ्गति हाम्रा मुख्य शत्रु हुन त्यसलाई पराजित गर्ने हाम्रो यात्रा जारी रहनेछ ।


क्याटेगोरी : बिशेष, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया