Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकादयनीय अवस्थामा सामुदायिक विद्यालय !

दयनीय अवस्थामा सामुदायिक विद्यालय !


दोलखा । पछिल्लो समय दोलखाका सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका २८ वटा सामुदायिक विद्यालय रहेका छन् । तर ती विद्यालयमा विद्यार्थी संख्या भने न्यून छ । माथिल्लो कक्षामा पढ्ने विद्यार्थीको संख्या सन्तोषजनक रहे पनि तल्लो कक्षामा पढ्ने विद्यार्थी भने शून्यप्रायः स्थितिमा पुगेको छ ।

बैतेश्वर गाउँपालिका–१ मा रहेको एक सामुदायिक विद्यालय हिमालयन प्राविमा हाल जम्मा २२ जना विद्यार्थी छन् । यहाँ भूकम्प जानुअघि एक सयको हाराहारीमा विद्यार्थी अध्ययन गर्थे । हिजोआज यहाँका मानिसले गाउँमा बसोबास गर्न छाडेपछि विद्यार्थीको संख्या घटेको विद्यालयका प्रधानाध्यापक भीम तामाङले बताए । त्यसैगरी बैतेश्वर गाउँपालिका–२ मा रहेको गौरीशंकर प्राविमा हाल ४१ जना विद्यार्थी अध्ययन गर्छन् । यहाँ कक्षा ४ मा तीन जना विद्यार्थी छन् । कुनै दिन एक जना मात्रै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षकहरू बताउँछन् । हिमालयन प्रावि र गौरीशंकर प्राविमा मात्रै होइन आधारभूत र अन्य प्राविको हालत पनि उस्तै छ । बैतेश्वर– ३ मा रहेको यार्सा प्राविमा हाल २८ जना विद्यार्थी रहेका छन् भने सोही वडामा रहेको जनश्रमदान प्राविमा भने जम्मा सात जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

त्यस्तै, बैतेश्वर गाउँपालिकाको घिमिरेटारमा रहेको अर्को एक सामुदायिक विद्यालयमा पनि आठ जना विद्यार्थी रहेका छन् । यस विद्यालयमा तीन कक्षासम्म पढाइ हुँदै आएको छ । बैतेश्वरकै अर्को सामुदायिक विद्यालय कालिदेवी आधारभूत विद्यालयमा पनि निरन्तर विद्यार्थीको संख्या घट्दै गएको विद्यालयले जनाएको छ । यहाँ तीन वर्षअघिसम्म कक्षा एकदेखि आठसम्म पढ्ने विद्यार्थीको संख्या एक सयको हाराहारीमा रहेको भए पनि अहिले कक्षाभन्दा विद्यार्थी थोरै छन् । सो विद्यालयमा जम्मा ४५ जना विद्यार्थी रहेका छन् । प्रावि र आधारभूत तहमा मात्रै होइन पालिकामा रहेका केही माध्यमिक विद्यालयमा समेत निरन्तर विद्यार्थीको संख्या घट्दै गएको विद्यालयले जनाएको छ ।

कुनै समय चार सयदेखि पाँच सय विद्यार्थी हुने बैतेश्वर गाउँपालिकाको कालीढुङ्गा माध्यमिक विद्यालयमा अहिले जम्मा दुई सय ५९ जना विद्यार्थी रहेको बताइएको छ । यहाँ प्रारम्भिक बाल कक्षादेखि १२ कक्षासम्म पठनपाठन हुँदै आएको छ । त्यस्तै, बैतेश्वर गाउँपालिकामै रहेको विष्णु माविमा हाल दुई सय ४५ जना विद्यार्थी रहेकोे विद्यालयले जनाएको छ । त्यस्तै, जनज्योति माध्यमिक विद्यालय तीन सय ५५ जना विद्यार्थी छन् । जबकि केही वर्षअघिसम्म यी विद्यालयका कक्षाकोठामा विद्यार्थी नअट्दा विद्यार्थीलाई सेक्सन छुट्याएर पढाउने गरिएको विद्यालयको भनाइ छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको मुख्य कारण स्थानीयको बसोबास घट्नु तथा जन्मदरमा कमी आउनु रहेको बैतेश्वर–३ मिर्गेका वडाध्यक्ष कमल अधिकारी बताउँछन् । मानिस गाउँ छाडेर सहर केन्द्रित बन्दा गाउँका विद्यालयमा विद्यार्थीको खडेरी पर्दै गएको उनको भनाइ छ ।

यता बैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि गर्न राज्य स्रोतको सेवा सुविधा लिनेका बालबच्चा अनिवार्य सामुदायिक विद्यालय पढाउनुपर्ने निर्णय गरेको छ । पालिकाको सो निर्णयले करिब ४५ जना विद्यार्थी बढेको बैतेश्वर गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, प्रविधि / शिक्षा
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया