Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनाले विश्वलाई दिएको सन्देश

कोरोनाले विश्वलाई दिएको सन्देश


लक्ष्मण सिटौला
हिजोआज आफैँलाई माया गर्छु म । मैले आफूलाई बुझेँ । धेरै बुझेँ । म देहभित्रको एउटा सलिल आत्मा हुँ । म देह पनि हुँ । म आत्मा पनि हुँ । देह एउटा आवरण हो । त्यो देहभित्र एउटा हिरा छ । त्यो हिरा आत्मा हो । म आत्मा पनि हुँ, देह पनि हुँ । मेरो आत्मा बस्ने घर हो मेरो देह । मलाई देख्नेले आत्मा भनेर बोलाउँदैनन् । मेरो देहलाई बोलाउँछन् । आत्मालाई कसैले देख्दैनन् । न यो जन्मेको देखे कसैले न यो मरेको देखे कसैले । मेरो देहलाई लुगाले ढाकेजस्तै मेरो आत्मालाई मेरो देहले ढाकेको छ । देहलाई दुख्छ । आत्मालाई दुःखदैन । देह गल्छ । देह ढल्छ । देह परिवर्तन हुन्छ । देह घामपानी र अन्य ऋतुजस्तै परिवर्तन भैरहन्छ । देहलाई रोग भोक शोकले बिगलित पार्छ । तर यही देहभित्रको मेरो आत्मालाई कुनै रोगभोक र शोकले गलाउन ढलाउन सक्तैन ।

मैले म बुझ्नु भनेको म आत्मा हुनु हो । आत्मा निर्विकल्प सत्य हो । मेरो देह त अस्थायी हो । मेरो आत्मा मात्रै नित्य निरन्तर एउटा ओमकारको आवाज हो, जो ब्रह्माण्डमा सदा ध्वनित, प्रध्वनित भैरहन्छ । मैले मेरो आत्मा र मैले मेरो देहका बारेमा योभन्दा अगाडि कहिले सोच्न भ्याइन छु । आज कोरोना आयो । म एकान्त भए । अरु एकान्त भए । यो एकान्तले मलाई ‘म’ बारेमा चिन्तन गर्ने अवसर दिलाइयो । एकान्त नै ध्यान हो । एकान्त नै योग हो । एक्लो हुनु नै आत्मासँगको सम्वार्ता हो । मैले बोलाएँ आफैँलाई । मैले आफैँसँग कुरा गरेँ । एक्लो हुनु नितान्त आफू हुनु पो रहेछ । मेरो उज्यालोको इन्द्रेणी म आफैँभित्र पो रहेछ । योभन्दा अगाडि मैले आफूलाई बाहिर खोज्थेँ । आजकल आफूलाई आफैँभित्र खोज्छु । आनन्द त आफूले आफैँभित्र खोज्नुमै रहेछ । एक्लै–एक्लै आफैँ नदी भएर बहनुमा कति मजा ! आफ्नै भंगालो आफ्नै झरना । आफ्नै शान्ति आफ्नै शीतलता । आफ्नै लहर । आफ्नै किनारा । आफ्नै भुमरी आफ्नै सुसाइ । आफ्नै बगाइ । आफ्नै उत्फुल्लता । एक्लै–एक्लै एउटा शान्त नदी भएर बग्न थालेको छु म आजकाल । यो एक्लोमा अर्कै मजा, अर्कै शान्ति, अर्कै खोजी, अर्कै उज्यालो, अर्कै लहर, अर्कै प्रमोदिता, अर्कै आनन्द । मानिस आखिर एक्लै त हो नि । ऊ जतिसुकै फुर्ती गरोस् । ऊ जतिसुकै कुर्लियोस् जतिसुकै उर्लियोस् । ऊ खुसीमा संसारको होला । ऊ हाँसोमा सबैमा बाँडिएला तर दुःखमा, आँसुमा, भोकमा र शोकमा शून्यमा एक्लो छ निरिह छ । ऊ दुःखमा एक्लै एक्लै त हो नि । एक्लो केवल एक्लो त्यही निरिहता हो मान्छेको सत्य भन्नु पनि । कति मजा छ एक्लोमा ।

म को हुँ भनेर बुझ्ने अवसर मिलाइदिने कोरोनालाई मैले धन्य भनेको छु । सायद अरुलाई त चित्त नबुझ्ला । आज कति मान्छेलाई भीड के हो भन्ने कुरा पनि राम्ररी बुझाउन सफल भएको छ कोरोना । । योभन्दा अगाडि कहिले फुर्सद मिलेन मलाई म के हो भनेर बुझ्न । मान्छे सधैं भीडभाडमा छ । ऊ सधैं हत्पतमा र बेफुर्सदीमा छ । ऊ एक्लो भएर कहिले सोचेन । सधैं परतन्त्र भएर बाचिरह्यो । त्यसैले कहिलेकाहीँ ऊ एकान्त खोज्छ । आज विश्व कोरोना महामारीमा छ । एकान्तमा बस । आफूलाई खोज । आफूलाई बुझ । एकछिन शान्ति अनुभूति गर । अपलक मौनतामा हेर आफूभित्रको त्यो निर्मल नदी बगिरहेको छ भनेजस्तो लागिरहेको छ कसैले परबाट ।

आफूलाई सुन । अरुलाई त सदियौँदेखि सुन्दै आइरह्यौँ हामीले । अब केही दिन, केही महिना, केही समय निकालेर आफूभित्रको त्यो आफ्नो सरगमलाई सुन । आफैँभित्रको त्यो रामलाई सुन आफूभित्रको त्यो बुद्धलाई सुन । आफूभित्रको त्यो महान आत्माको संगीतलाई सुन भनेको हो कसैले परबाट । नदी भएर बग्दाबग्दै ताल भएर थुनिनु जिन्दगी हो । फूल भएर रमाउँदा रमाउँदै कुनै दिन चटक्क चुँडिनु हो जिन्दगी । आफ्नो गुन्जन सुन्न नपाउँदानपाउँदै कतिखेर त्यो कोमल तार चुडिन्छ । यो मौका हो आफूले आफैँलाई सुनिरहने । यो मौका हो आफूले आफैँलाई सम्झिरहने । यो मौका हो आफूले आफैँलाई पूजिरहने । यो कोरोनाको त्रासद समय हो आफूभित्रको सुन्दर संसार फर्किएर हेर्ने । एक्लो सिर्फ एक्लोमा रमाएर त हेर झिलिमिली त त्यहीँ छ नि । भीडभाडमा रोग छ । भीडमा हुलमा त हल्ला छ । हल्लामा तिमी आफू रहन्नौ । भीडमा त भिजिलान्ते मात्रै रमाउँछन् ।

भीडमा नै हो महाभारत युद्ध भएको । भीडमा सत्य धर्मराउँछ । भीडमा शान्ति डगमगाउँछ । भीडमा भ्रम मात्रै जगजगाउँछ । भीडको चक्रव्युहमा नै हो अभिमन्युले हारेका । कृष्णले अपराधीहरूको भीडको अन्त्य गर्नलाई हो महाभारत रचेको । आफूलाई खोज्ने हो भने भीडमा होइन एकलासमा हो । आफूलाई भेट्ने हो भने एकान्तमा हो । आफूलाई बुझ्ने हो भने शान्तिमा हो । शान्ति र आरोग्यता एकान्तमा छ । एक्लो छ चादनी तर उज्यालो छ । एक्लो छ त्यो विराट स्वरूप श्री सूर्य पनि । राम वनबास कुनै भीड खोज्न गएका थिएनन् । बुद्ध वनमा कुनै क्रान्ति गर्न गएका थिएनन् । उनी सिर्फ एकान्त खोज्न शान्ति खोज्न गएका थिए । आज भीडको कोलाहलमय भ्रान्तिमा बाचेको छ मनुष्य त्यसैले निम्त्याएको छ कोरोना कहर । एक्लोमा आरोग्यता छ । एक्लोमा निर्मलता छ । एक्लोमा एकालाप छ । कुरा गर आफैँसित । कुरा गर एकान्तसित । एकान्तलाई नजिकबाट अनुभूत गरेर त हेर ।

हेर त तिमी हिँडिरहेको त्यो बाटो पनि त एक्लै त छ । उसले कहिले खोजेन अर्को बाटो आफूभित्र । अरु त अरु हुन् । हामी आफूलाई जब अरुमा मिसाउँछौ अनि आफ्नो निजत्वको त्यो निर्मलता पनि धमिलिन्छ । हिमालयबाट बहँदै आएको एउटा सङ्लो नदी जब सहर प्रवेश गर्छ, त्यहीँबाट सखाप हुन्छ उसको असीम अस्मिता । यही हो भीडमा मिसिनुको पीडा । यदि तिमी आफैँ आफ्नो सर्वस्व थियौ भने एक्लोमा थियौ । एक्लो यात्रा गर्नुछ तिमीले आफ्नै पृथ्वी मनको । त्यो मीठो यात्रा तिमीले एक्लैले तय गर्नुछ । भीडको यात्रा त एउटा भ्रम हो । कही पनि पुगिँदैन । त्यत्रो सगरमाथाको यात्रामा सयौं हुन्छन्् तर व्यक्ति सगरमाथाको शिरमा जब पुग्छ नि त्यहाँ व्यक्ति एक्लो हुनुमा प्रमोदित महसुस गर्छ । त्यही प्रशान्ति हो एक्लो प्रशान्ति मनुष्यले खोज्ने पनि । यो कोरोनाले हामीलाई एक्लो हुन सिकायो । सम्भावना नहोला सधैं एक्लो रहन । कुनै दिन समाज अनि ती आफ्ना पनि चाहिएलान् । तर यतिबेलाको समयले तिमी एक्लो रहनुमा नै तिम्रो आरोग्यताको अचुक ओखती हो भन्ने संकेत गरिरहेको छ ।

तिमी एक्लो हुनुलाई निरासताको संकेत भन्छौ तर म भन्छु एक्लो हुनु स्वयम् जलेर अरुलाई उज्यालो देखाउने दियो हुनु हो । दियोसँग अरुको जल्यो र खै आजसम्म ? । फूलसँग कहिले झ-यो र काडा खै ? एक्लै झर्छ फूल गलेपछि भैमा तर फूल कहिले भौतारिएन । एक्लो फूल । एक्लो जुन । एक्लो चाँदनी । एक्लो आकाश । एक्लो क्षितिज । एक्लो सूर्य । एक्लै छ हिमाल । नदीहरू एक्लाएक्लै छन् । एक्लै बगिरहेको देख्छु अनन्तदेखि ।

समय पनि त एक्लै छ नि । पर पर बाटोमुनि उभिएर एउटा पीपलको बोट वर्षौँदेखि मलाई गाउँ जाँदा स्वागत गरिरहेको छ । त्यसको एकान्त देख्दा मलाई खुसी लाग्छ किनकि म जस्तै त्यो पीपल पनि एक्लैमा रमाइरहेछ । रमाइलोको लागि यदि भीड नै चाहिने भए नदी उहिले नै सुकिसक्थ्यो होला । बारीमा उभिएका बोटहरू सबै ढलिसक्थे होलान् । बाटोहरू हराइसक्थे होलान् । म अगाडिको एउटा लाटो पहाड सधैं एक्लै देख्छु । त्यसले गाएको गीत एकान्तमा सुनेको छु मैले । म त्यो पहाड हेरेर निदाउँछु । उसको एकान्त मलाई मनपर्छ । चकमन्न जंगलको बीचबाट उठेको एकान्त सुसेली कहिलेकाहीँ बाटो हिँड्दा सुन्न पाइन्छ । मौनता पनि स्वयम् आवाज हो । मियो एक्लै उभिएको छ, खेतमा दश गोरुको बीचमा । हेर त ती गोरुहरू त्यही मियोवरिपरि घुमेका छन् र धानका गेडाहरू झारिरहेछन् । सूर्य पनि त एक्लै छ । तर हेर लाखौं ग्रह त्यसकै वरिपरि घुमिरहेछन् । विशाल बन्ने वृक्षको बीउ एक्लो उम्रनु पर्छ पृथ्वीमा । लहलहाउने फूलका कलेवर स्वयम् एक्लै छन् । पातहरू पनि एक्लै छन् । खै कोसँग मागेर तिनले हरियो सापटी ?

सापट त भीडले माग्छ । उधारो त भीडले खान्छ किनकि भीड महाभारतको युद्ध हो । खै कसले जित्यो त्यो युद्ध ? कृष्णले पनि हारे कौरवले पनि हारे, पाण्डवहरूले पनि हारे, सबैले हारे । केवल समयले जित्यो । भनिन्छ त्यो युद्धमा सत्यले जित्यो तर खै कहाँ छ र सत्य ? कसले देख्यो सत्य । सत्य पनि एक्लो छ । एक्लोहरूलाई देखिदैन तर दिग्बिजय एक्लोले गर्छ । सत्य सापेक्ष हुन्छ र आफूले खोजेको सत्य जहाँ पनि पाइन्छ । सत्यको स्वतन्त्र सत्ता हुँदैन । मानिसले सत्य आफैँ निर्माण गर्छन् । सत्य त सत्य हो तर जब सत्यलाई सबैले आ–आफ्नो निहित स्वार्थसँग जोडे अनि सत्य पनि रुन्छ मानिसको आँसुसँग पग्लिदिन्छ ।

सत्य पनि स्वयम् एक्लो छ । हिजोदेखि आजसम्म सत्यले भीड रोजेन । भीडमा असत् असत्य हुन्छ । मानिस भीडमा पशु बन्छ । भीडमा एउटा नाङ्गियो भने सबैलाई नाङ्गिन कुनै डर हुँदैन । तिमी एक्लो हुनुलाई बथानबाट छोडिएको चरी भन्छौ तर म त्यसैलाई बुलबुल भन्छु । भीड दुःखेको देखेको छु मैले तर एकान्त कहिले दुःखेको देखिन । एक्लो उभिएको पहाड लाई हेर्छु कति शान्त बाँचिरहेछ त्यो । भीड नाच्छ पहाडको छातीमा तर पहाडले कहिले दुःखयो भनेन । अहिलेको कोरोना त्रासद भीडबाट उभिएको श्रापित समय हो यसले मानिसहरूका सपनाहरू निलिरहेछ ।

म एक्लै छु । मलाई छोएर भाग्ने त्यो हावा एक्लै छ । भीरमा फूलेको गुराँस एक्लै छ । बाहिरको त्यो रात पनि एक्लै छ । मेरो हातमा थुनिएको कलम एक्लै छ । श्वास प्रस्वाश एक्लै गरिरहेछ भित्र अथवा बाहिर । म जिवित छु । ज्युँदो हुनेहरू एक्लैले संघर्ष गर्छन् । भीडत लासलाई मात्रै चाहिन्छ । हिजो धरहरा एक्लै बाँचेको थियो र एक्लै ढल्यो । ऊ ढल्दा ऊसँग ढले कयौँ एक्लाहरू । म पनि हिजो ढलेको धरहरा जस्तै हु एक्लो सत्य । इतिहासमा सत्यहरू पुरिए पनि कालान्तरमा ती पिपलुजस्तै फेरि–फेरि उम्रिन्छन् । तिमी एक्लो हुनुलाई नदीले छोडेर गएको बगर भन्छौ तर म एक्लो हुनुलाई कालीगण्डकीले कुँदेको सालिग्राम भन्छु । म छु । एक्लो छु । मसित सिर्फ मै छु अनि मैले गाउने गीत छ र त्यसलाई मैले कहिले एक्लो हुन दिएको छैन । गीतहरू जुनदिन एक्ला हुन्छन् ती नारायणगोपालका ओठहरूबाट जूनकीरी भएर गुन्जिनेछन् मुटुका लयहरूबाट ।

तिमी एक्लो हुनुलाई अभिशाप भन्छौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु हो । तिमी एक्लो हुनुलाई एकलास भन्छौ तर म भन्छु एक्लो हुनु ईश्वर नजिक पुग्नु हो । तिमी एक्लो हुनुलाई पूर्वजन्मको पाप भन्छौ तर म भन्छु एक्लो हुनु तपस्वी हुनु हो । एक्लो हुनु नदीजस्तै सफा हुनु हो । एक्लो हुनु हिमालझैँ स्निग्ध हुनु हो । एक्लो हुनु आफैँमा पारलौकिक परमानुभूति प्राप्त गर्नु हो । एक्लो हुनु सुनकोशी हुनु हो । एक्लो हुनु आकाश हुनु हो । एक्लो हुनु फूल हुनु हो । एक्लो हुनु एक उज्यालो हिमाल हुनु हो । एक्लो हुनु ऋषि हुनु हो । एक्लो हुनु इन्द्रेणी हुनु हो । एक्लो हुनु आकाशमार्गको पन्छी हुनु हो । एक्लै हुनु आफू हुनु हो । एक्लो हुनु त मनको आनन्दमा मिसिनु हो । आनन्द एक्लो हुनुमा फक्रिन्छ । एक्लो हुनु त किरण हुनु हो । जुन एक्लै त थियो नि । घाम पनि त एक्लै थियो नि । ती एक्लोमा विविध छन् । ती एक्लोमा विश्वास नजिकै छन् । ती एक्लोमा स्वाभिमानी छन् । एक्लै त डुब्छ घाम क्षितिजमा तर उसले सबको खुशी फर्काउने बाचा लिएर डुब्छ । र आजसम्म ऊ त्यही सतमार्गमा बिनाशर्त हिँडिरहेछ । हिँडिरहनु उसको कर्तव्य, खै मैले कहिले देखिन घामले आजसम्म बाटो बिराएको । थाहा भएन उसले कसैमाथि विभेध गरेको । थाहा छैन उसले मेरो तेरो भनेको । थाहा छैन उसले कसैलाई चिसो र कसैलाई तातो दिएको किनकि ऊ एक्लो छ । एक्लो हुनु निर्मल हुनु हो । एक्लो हुनु विवेकी बन्नु हो । हरेक शब्दका अक्षर एक्ला छन् । हरेक आवाज एक्लै ध्वनि त हुन्छन् । जंगली रुख पनि त एक्लै छ । खै कहिले बिर्सियो र उसले एकान्तमा हावासँग मिलेर गीत गाउनलाई । जंगलका चराहरू पनि एक्लै छन् खै कहिले बिर्सेर तिनले बसन्तमा गीत गाउन ।

तिमी एक्लो हुनुलाई कोही नभएको साहाराहीन भन्छौ तर म भन्छु एक्लो हुनु जीवनको लयसँग, जीवनको सुरसँग, जीवनको सङ्गीतसँग मिल्नु हो । जीवनत एक्लोमा कति मीठो छ । कसैले छोइदिएर बिटुल्याइदिएको फूल त भुइँमा खस्न सक्छ नि कुनै दिन । एकै सुर एकै स्वर एकै ताल आहा ! यसको मेलोडी । आहा ! यसको कम्पन । आहा ! यसको मुर्छना । वैशाखमा कतै पर गाइरहेकी कोइली पनि एक्लै त छे नि तर परपरसम्म ऊ आफ्नो मृदुलित झङ्कार फैलाइरहिछे । संसार हेर्ने हाम्रा दुई आँखा पनि एक्लाएक्लै त छन् । के ती दुईको कहिले भेट भएको देखेकी छ्यौ र ? एक्लै त छ आँखा तर एक्लोमा उसले सदा नयाँ–नयाँ संसार देखायो । दुई किन हुनुपर्ने ? म जन्मिएको एक्लै हो । तिमी जन्मिएको एक्लै हो अनि आमा, जसले हामीलाई जन्माइन तिनी पनि त एक्ली थिइन् । एक्लै थिइन तिनी जतिबेला तिनलाई सुत्केरी व्यथा लागेको थियो । तिमी गर्भभित्र एक्लै थियौ नि । न तिम्रो दाइ थिए साथमा न तिम्रो बहिनी थिइन् साथमा । गर्भको खोलभित्र त तिमी एक्लै थियौ । श्वास लिँदा पनि एक्लै र स्वास छोडेर जादा पनि एक्लो त हो नि मनुष्य । यो चेतनाको चैतन्य चोलामा खोइ कसले पायो र साथ कालन्तरसम्म ।

भीड त मलाई यति घातक लाग्छ कि भीडमा मान्छे पशुजस्तै अवचेतनमा हुन्छ । भीडभित्र लाज छोपिँदैन । यो संसारको आविष्कार र प्रगति कुनै भीडले बनाएको होइन । यो प्रगति एकान्तले बनाएको हो । यो वैभवता एकान्तले जन्माएको हो । एक्लोले बनाएको हो यो दुनियाँ । किनभने एक्लोमा चिन्तनले चीर नविनता पाएको हुन्छ । आइस्टाइन एक्लै त थिए नि । भारतकी रत्न लतामङ्गेस्कर एक्ली त छिन् । तिब्बत स्वतन्त्रताका गीतकार दलाई लामा एक्लो त छन् । बुद्ध एक्लैले त ल्याए शान्तिको धारा यो विश्वमा र आजपर्यन्त त्यही शान्तिगीत गुन्जिरहेछ पृथ्वीको आधा पाटोमा । ग्राहमवेलले टेलिफोनको ध्वनि सिर्जना गर्दा एक्लै थिए । बुद्ध आफू एक्लैले यत्रो शान्तिको आकाशलाई उचाले ।

संसारलाई हसाउने चार्ली च्यापलिनसँग अर्को को गाँसिएको थियो र ? एक्लैले हसाए यो दुनियाँलाई । म हेर्छु कहिलेकाहीँ आकाशमा अनि देख्छु चन्द्रमा एक्लो । खुशी लाग्छ यो एक्लैले यत्रो संसारलाई मीठो शान्ति र शीलता बढिरहेछ । आज कोरोनाले मलाई एकान्त रोज्न बाध्य बनायो । मलाई म बुझ्न सिकायो । मलाई भीडदेखि पृथक रहेर बाँच्न सिकायो । कोरोना नआएको भए म यो निबन्ध लेख्दैनथे हुँला । कोरोनाले मलाई एकान्तमा रम्न सिकायो । यो दुनियाँमा लाखौँ मरे । भीडले मरे । भीडको छुवाइले मरे । कुनै बेला छुवाइ पनि यति पीडादायी हुँदोरहेछ है ! कुनै बेला स्पर्श पनि यति घातक हुँदोरहेछ । जोडिनु त राम्रो हो भन्दै आएको हो हाम्रो पूर्वीय चिन्तनले तर यतिबेला जोडिनु आफैँमा घातक सिद्ध भएको छ । फरक भएर एक्लिएर बेजोडिएर बाच भन्दै छ यो कोरोनाले ।

यो शताब्दीको त्रासदीमा मानिसको मन मस्तिष्कलाई यसले यति धेरै घाइते बनाएको छ कि मानिसको आँखाबाट हत्पती यो हराउने छैन । भीडदेखि परपर भएकाहरू बाँचे । त्यसैले पनि एक्लो हुनु अभिशप्त होइन । एक्लो हुनु निरोगिताको चिह्न पनि हो रैछ भन्ने कुरा बुझ्दै छ आज विश्वले पनि । मलाई म हुनुछ, आज अनि मात्रै म भोलि अरुको हुनसक्छु । मलाई म हुनुछ आज त्यसपछि मात्रै म भोलि कसैको लागि काम लाग्न सक्ने हुनेछु । आजको यो भीडलाई मैले बिर्सिदिनुछ र भोलिको निर्विकल्प मनुष्यका लागि एउटा जितको कथा सुनाउनु छ मैले कि एक्लो हुनु स्वयम् सत्य, शान्ति र स्वस्थ हुनु हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया