Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व

खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व


काठमाडौं ।
प्रकृतिले पानीलाई यस्तो अद्भुत गुण दिएको छ कि सीमित अवस्थासम्म, यो स्वयं नै आफ्नो शुद्धता आफैं बनाउन सक्छ । मानव तथा जीवित प्राणीको लागि खानाको करिब तीन भाग बढी पानी प्रयोग हुन अति आवश्यक छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ । जसको करिब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण एक सय ४० लाख क्यूबिकमिटर पानीमा जम्मा ४० लाख क्यूबिकमिटर मात्र खानलाई सुरक्षित भएको अनुमान गरिएको छ ।

नेपालको कुल क्षेत्रफलको दुई दशमलव छ प्रतिशत पानीले ओगटेको छ । यहाँ साना ठूला गरी आठ हजार एक सयभन्दा बढी नदीनालाहरू छन् । जुन बाह्रै मासे बहने नदीनाला ७० प्रतिशत र सात महिना निरन्तर बग्ने नदीहरू २० प्रतिशत र १० प्रतिशत चार महिना बग्ने नदीहरू रहेका छन् । नेपालमा २५ देखि पाँच सय किमिसम्मका लामा नदीहरू छन् । प्रतिकूल मौसमका कारण हिमनदी र अन्य नदीनालामा समेत असर परी यस वर्ष अहिलेसम्म वर्षा भएको छैन । यसको मुख्य कारण प्राकृतिक सम्पदनको विनाश नै हो भन्नु अत्युक्ति नहोला ।

मानव जीवनको लागि पानी अपरिहार्य विषय हो । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन विताउन सहयोग पु¥याउँछ । स्वस्थ मस्तिष्कद्वारा नै स्वास्थ्य एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसको विपरीत कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको कुनै पनि विषयमा गहनरूपमा आफ्नो सोच विचार पु¥याउन नसकी विकासात्मक कार्यहरूमा वाधा व्यवधान उत्पन्न हुन पुग्दछ  ।

प्रश्न उठ्छ गुणस्तरीय जीवनका लागि कुन तहले कसरी प्रभाव पारिरहेको हुन्छ ? यसलाई गहिरिएर बुझ्ने हो भने गुणस्तरीय जीवनका लागि सम्बन्धित ठाउँमा उपलब्ध भइरहेको स्वस्थ वातावरणयुक्त खानेपानी व्यवस्थापनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । मानव तथा जीवित प्राणीलाई अपरिहार्य वस्तु पानी हो जसको अभावमा जीवन कल्पना समेत गर्न सम्भव छैन । तसर्थ यस्तो अपरिहार्य वस्तुको उचित प्रयोगबाट नै गुणस्तरीय जीवन जीउन सम्भव छ । गुणस्तरीय जीवन यापनको लागि प्रति व्यक्ति दैनिक प्रयोजनका लागि औसतमा १२५ लिटर पानीको आवश्यक पर्दछ ।

यस हिसाबले काठमाडौँमा प्रतिदिन ३० देखि ३६ करोड लिटर पानीको माग रहेको देखिन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको दाबीअनुसार वर्षा याममा १३ करोड र सुख्खायाममा नौ करोड लिटर मात्र दैनिकरूपमा पानी उपलब्ध गराउन सकिरहेको अवस्था देखिन्छ । त्यही पानी पनि कति स्वास्थ्यको लागि पिउन लायक छ भन्ने प्रश्न सधैँ अनुत्तर नै छ । त्यसमाथि उपत्यकामा पानीको चुहावट ४० प्रतिशतभन्दा बढी छ । यसबाट के देखिन्छ भने उपभोक्तामा वर्षायाममा सात/आठ करोड लिटर मात्र पुग्छ भने हिउँदमा पाँच/छ करोड लिटर मात्र पुग्छ ।

यसरी मोटामोटी आकलन गर्दा २५/२६ लाख काठमाडौँवासीको भागमा वर्षा समयमा सात/आठ करोड लिटर र सुख्खायाममा पाँच/छ करोड लिटर मात्र पानी पर्न जान्छ अथवा एक जनाको भागमा २४ देखि ३२ लिटर पानी पर्न जान्छ । यसमा पनि धेरै वर्ष पुरानो भौतिक संरचना, अस्तव्यस्त भागवण्डाको व्यवस्थापन, राजनीतिक हस्तक्षेप, आफ्नो मान्छे आदि कारणले उपत्यकामा पानी वितरण असमान रहँदै आएको छ । यसले गर्दा नेपाल विश्वकै दोस्रो जलस्रोतको धनि देशमा काठमाडौँ महानगरीमा धेरै ठाउँमा हप्तामा १/२ घण्टा धारामा पानी आउँछ भने कति ठाउँमा महिनौँसम्म पनि पानीको तिर्खा मेटाउन धाराबाट नसकेको अवस्था छ ।

माथिको तथ्यबाट काठमाडौँ उपत्यकाको नागरिकलाई हिउँदमा करिब २८ करोड लिटर र वर्षामा २६ करोड लिटर पानी नपुग्ने देखिन्छ । माथिको यो समस्यालाई समाधान गर्न मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउनका लागि मेलम्ची खानेपानी आयोजनाको आवश्यकता भएर सुरु गरेको तपाई हाम्रो अगाडि प्रस्ट छ । यो अवधिलाई हेर्ने हो भने काठमाडौँ उपत्यकाका जनताहरूलाई मेलम्ची खानेपानी त मृगतृष्णा भई खानेपानीको ठूलो समस्या भएको छ ।

काठमाडौं उपत्यकाका तलका स्थानहरू भूमिगत पानी पुनर्भरणको दृष्टिले महत्वपूर्ण छन् । पुनर्भरणका लागि राम्रा मानिएका स्थानहरू तीव्र सहरीकरण भई पक्की घर, अपार्टमेण्ट, हाउजिङ, सडक विस्तार आदिले गर्दा ती स्थान पुरिँदै छ । काठमाडौंका गोङ्गबु, धापासी, साङलाखोला, नेपालटार, गोलढुङ्गा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, भीमढङ्गा, खड्का भद्रकाली, बुटानिलकण्ठ, चपली, महादेवस्थान, सैबु, सीतापाइला, कीर्तिपुर, थानकोट, तीनथाना, बलम्बु, सतुङ्गल, कटुञ्जे, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, नयाँपाटी, साँखु, थली, झोरमहांकाल, इचंकुुनारायण, भक्तपुरको बोडे, मनहरा खोला आसपास, सिपाडोल, बालकोट आदि स्थानमा भूमिगत पानीको दोहन गरेको पाइन्छ । तथ्यांकअनुसार दूतावास, अस्पताल, अपार्टमेन्ट र आवास, होटल, स्कुल र कलेज, उद्योग तथा ट्यांकरले गरी दुई करोड ४९ लाख २१ हजार लिटर पानी दोहन गरेको पाइन्छ । यसैगरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १६ लाख लिटर पानी भूमिगत स्रोतबाट संकलन गरेको दाबी छ ।

नेपालमा पानीको समस्या हुनको कारण यथास्थानमा भएका मुख्य तथा सहायक मुख्य मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुुनु, नालाको व्यवस्था नहुनु, संरक्षण क्षेत्र र मुहान क्षेत्र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षारोपण नहुनु, वर्षाको पानी संकलन प्रविधिलाई अभियानको रूपमा नल्याइनु, दिगो खानेपानी योजना बनाउन नसक्नु, जनतालाई प्रत्यक्ष सहभागी गराउन नसक्नु, शिक्षा एवं जनचेतनाको अभाव, व्यापक कमिसन एवं भ्रष्टाचार, गुणस्तरीय जनशक्तिको प्रयोग नगरी राजनीतिका आफ्ना मान्छेको भर्तिकेन्द्र हुनु, योजनाहरूको छनौटमा जनताको आवश्यक सहभागीको कमी, योजना छनौट प्रक्रिया राजनीतीकरण, दिगो योजनाको निर्माण हुन नसक्नु, सरकारी एवं गैरसरकारी निकायहरूको समन्वयमा कमीले गर्दा नेपाललाई विश्व मानचित्रमा नियाल्ने हो भने सुरुमा हामी गौरव गर्ने विश्वकै दोस्रो जलस्रोतको धनी देश नेपाल, कुनै दिन काठमाडौँवासीले सबभन्दा सस्तो वस्तुको रूपमा नाम लिनुपर्दा पानीलाई लिइन्थ्यो तर माथिको कारकतत्वले गर्दा काठमाडौँ उपत्यका साथै देशका अन्य प्रमुख सहरहरूमा समेत खानेपानीको हाहाकार छ । सरकार राजनीतिक स्वार्थको लागि जे गर्न पनि तयार छ । देशको आर्थिक स्थिति झन्झन् नाजुक हुँदै छ ।

‘नेपाल जलस्रोतमा धनी छ’ भनेर हामी कहिल्यै थाक्दैनौँ । हुन पनि, मुलुकका हिमाली र पहाडी क्षेत्र भएर साना ठूला करिब आठ हजार एक सय नदीनाला बग्ने गर्दछन् । तर, यही भेगका कति नागरिकका लागि पिउने पानीकै पनि अति संकट छ । पानी अभावमै बसाइँ सरेर नै हिँड्नुपर्नेसम्मको दयानीय अवस्था छ । मुलुकका कतिपय वस्तीहरूमा जलसंकट हुनुको एउटा कारण सरकारले जलसम्पदाको उचित व्यवस्थापन गर्न नसक्नु हो । त्यसमाथि, विश्वव्यापी तापमान वृद्धि र पछिल्लो समय सञ्चालित अनियोजित र अनियन्त्रित विकासे गतिविधिका कारण भएकै मूल पनि सुक्दै छन्, जुन निकै चिन्ताको विषय हो । तसर्थ, नागरिकका लागि खानेपानी व्यवस्थापनमा सरकारको ध्यान जानुपर्छ र विकासे गतिविधि पनि पानीको मूल नसुक्ने अर्थात प्रकृतिलाई दख्खल नपुग्ने गरी मात्रै सञ्चालन गरिनुपर्छ ।

उन्नत जीवनको लागि मानिसहरू बसाइँ सरी हिँड्नु स्वभाविक भए पनि खानेपानीकै प्यास मेटाउनकै कारण थातथलो छाड्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ । एक गाग्री पानीको लागि पूरै विहान माया मानुपर्ने र वस्तुभाउलाई अड्कली अड्कली मात्रै पानी खुवाउनुपर्ने दूरावस्थाबाट सरकारले नागरिकलाई कहिले मुक्त गर्ने हो ? हिमाल–पहाडका मानिसहरू तराईतिर बसाइँसर्ने गरेका छन्, तर भोली तराईमा पनि पानीको संकट अझ गहिरियो भने के गर्ने ? अहिले नै पनि तराईका कति भूभागमा चैत्रदेखि जेठसम्मै पनि पानी अभाव हुन्छ । मनसुन ढिलो भएमा यो समस्या असार मध्यसम्म लम्बिन्छ । त्यहाँ भूमिगत पानीको सतह निकै घट्दो छ । पहिले–पहिले जमिन खोस्रिँदा पानी भेटिने क्षेत्रमा अहिले कैयौं मिटर पाइप गाड्नुपर्छ ।

राष्ट्रिय तथ्यांक विभागको जलवायु परिवर्तन प्रभाव सर्वेक्षण, २०७३ अनुसार मुलुकका सबैजसोले खडेरी बढेको महसुस गरेका छन् । आफ्नै जीवनकालमा पानीको मुहान सुकेको देख्ने नेपाली निकै छन् । उक्त अध्ययनमा सहभागी हिमाली क्षेत्रका तीन चौथाइले पानीका केही मुहान पूर्णरूपमा सुकेको बताएका छन् । ७४ प्रतिशतका अनुसार पानीको मुहान बदलिएको बताएका छन् । ८४ प्रतिशतले पानीको सतह घटेको अनुभव गरेका छन् । यसो हुनुमा हाम्रा मानवीय गतिविधि नै मूलरूपमा जिम्मेवार छन् । पहाडमा वातावरणीय प्रभाव मूल्यांकनविनै भइरहेको डोजरे विकासको कारणले पनि कयौँ मूलहरू सुकेका छन् ।

तराईमा पानीको लागि ठूलो महत्व भएको चुरेमा चकचकी चर्काे छ । जथाभावी ढल, क्रसर उद्योग, चुनढुंगा उत्खनन र जंगल विनाश उत्तिकै छ । चुरेबाट तराई झर्ने पानी कंक्रिटका संरचना र कालोपत्रे सडक तथा ढलका कारण पानी सिञ्चित हुन सक्दैन, सोझै बगेर जान्छ । नदीजन्य पदार्थको दोहनले पनि वरिपरिको जमिनमा पुनर्चरण हुन पाउँदैन । नांगा डाँडाले त त्यसै पनि कम पानी सोस्छ । यी सबैको मार पानीको स्रोतमा परेको छ । कति स्थानमा जथाभावी सडक खन्दा गएका पहिरोले पनि पानीका स्रोत बगाएका छन् । २०७२ सालको भूकम्पले पानीको प्राकृतिक मार्गमा तलवितल पु-याउकाले पनि प्रभावित जिल्लाहरूमा कति मुहान सुकेका छन् । जलवायु परिवर्तनका कारण आरी भोप्ट्याए जसरी परेको आकासे पानी जमिनले पर्याप्त सोस्न नपाएर मुहान सुक्नमा बल पु-याउको छ ।

स्रोतको सीमितता र जनसंख्या बढोत्तरीका कारण पनि कतिपय स्थानमा पानी अभाव भएको पाइन्छ । कारण जे नै भए पनि, पानी व्यवस्थापन गर्नु र मूलहरू सुक्न नदिनु पनि सम्बन्धित सबैको जिम्मेवारी हो । र, सुकिसकेका मूलहरूलाई फेरि रसाउने तथा पानी आउने बनाउनका लागि सरकार तथा समुदायले आवश्यक कार्यहरू गर्नुपर्दछ । मुख्य समस्या त काठमाडौँ उपत्यकालगायतका ठूला सहरमा भएको पानी अभावको पर्याप्त चर्चा हुने गरे पनि दूरदराजका कैयौँ सर्वसाधारणले भोगिरहेको सास्तीबारे बहसै पनि कम हुनेगरेको छ । यसले गर्दा दैनिक जीवन बिताउन कठिनाइ भएको छ । पिउने तथा सिँचाइ गर्ने पानीको अभावको कारण आर्थिक स्थिति नाजुक हुनुका साथै मानव स्वास्थ्य समेत प्रभाव परेको छ ।

मानव जीवनको मुख्य आधार पानीका स्रोत बर्सेनी घटिरहेको विषयलाई हामीले देखे नदेखेझैँ गरिरह्यौँ भने महासंकट अवश्यम्भावी छ । बाजा बजाएरै आइरहेको यो दशाप्रति समुदाय र सरकार दुवै गम्भीर हुनुपर्छ । पानीका मूल नसुकाउनको लागि विकास निर्माणका गतिविधि गर्दा, कुनै बाटो बनाउँदा या पूर्वाधारहरू निर्माण गर्दा पानीको प्राकृतिक मार्ग विनाश गर्नु हुँदैन । सबै क्षेत्रका बासिन्दा पानी सञ्चय र पुनर्भरणमा सचेत रहनुपर्छ । पानी संरक्षणका लागि स्थानीय सरकारहरूले ठाउँठाउँमा साना–ठूला पानी सञ्चय गर्ने भण्डार बनाउनेलगायतका योजना नै अघि सार्नुपर्छ । योजना मात्रै भन्दा पनि अभियान नै चलाउनुपर्छ । जसरी हुन्छ, जल आपूर्ति प्रणालीलाई अक्षुण्ण राख्न पानीका स्रोतहरूको संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र सो ठाउँका मानिसहरूलाई पिउन तथा सिँचाइको लागि पानीको आपूर्ति हुन्छ र उनिहरूको आर्थिक स्थिति बलियो हुन्छ ।

सरकारले भोलीको पुस्ता सोचेर पानीको स्रोत जोगाउने योजना बनाउनु ढिलो भइसकेको छ । यो पुस्ताको सुखी जीवन सुनिश्चित गर्न विकासे गतिविधि गर्दा अर्काे पुस्ताको भविष्य दाउमा लगाउनु हुँदैन । हामीले पर्यावरण र पारिस्थितिक प्रणालीको जति संरक्षण गछौँ, त्यति नै यसबाट लाभान्वित हुन्छौँ । यसको उदाहरण काठमाडौँको शिवपुरी जलधार छँदै छ । चालीसको दशकको आधाबाट संरक्षण थालेपछि यसको जलधार छ गुणसम्म बढेको छ । आजैदेखि सचेत भएर यस्ता कार्यक्रम मुलुकभर सञ्चालन गरिएन्न भने जलवायु संकटका कारण भोलिका दिनमा ठूलो संख्यामा नागरिकले काकाकुल जिन्दगी जिउनुपर्ने अवस्था आउने निश्चित छ । तसर्थ, अनिवार्यरूपमा दिगो विकासका सूत्र अपनाऔँ, ताकि सुकेका मुहान फेरि पलाउन र अहिले भएका नसुकून् ।

गुणस्तर जीवन र आर्थिक विकासको लागि खानेपानी व्यवस्थापना तथा वितरणमा सुधारको साथै पानीको मूल संरक्षणको आवश्यकता अपरिहार्य छ । किनभने खानेपानी, गुणस्तरीय जीवन र देश तथा जनताको आर्थिक विकासबीचको अन्तरसम्बन्ध बारेमा विभिन्न समयमा धेरै अध्ययन र अनुसन्धान नभएका त भन्न नमिल्ला । सम्पूर्ण अध्ययनको निचोडको रूपमा पानी नै जीवनको आधारशीला तथा गुणस्तरीय जीवन बिताउन पानीकै कारणले मात्र सम्भव भएको उल्लेख भएको पाइन्छ । साथै जनताको आर्थिक उन्नतिको लागि पानीनै आधारशीलता हो ।

आज पृथ्वीमा जीवित सम्पूर्ण प्राणीले पानीलाई अमृतको रूपमा स्वीकार गरिसकेका छन् । किनभने वैज्ञानिकहरूले अनुसन्धानको क्रममा विभिन्न मानव तथा अन्य प्राणीको आवश्यकताको रूपमा नयाँ वस्तुको आविस्कार गर्न सक्षम भए पनि आजको एक्काइसौं शताब्दीसम्म पनि पानीको विकल्पको रूपमा अन्य वस्तुको विकास गर्न सकिएको छैन ।

पानी नै जीवन हो किनभने मानव शरीरको संरचनामा ८० प्रतिशत पानी नै रहेको छ जबकि हामी बस्ने पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकेको छ भने हाम्रो गुणस्तरीय जीवनलाई शत प्रतिशत पानीले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ । तैपनि माथिको बाधक तत्वले खानेपानीमा ठूलो नकारात्मक असर पु-याएको छ । यी कारण खानेपानी व्यवस्थापना तथा वितरणमा अविलम्ब पुनर्संरचनाको आवश्यक देखिन्छ । नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्दछ, राजनीतिक भागवण्डा होइन वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्तिको कार्यान्वयन गर्नुपर्ने हुन्छ, स्वतन्त्र पारदर्शी राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने प्रतिबद्धता, भ्रष्टाचार मुक्त, जनताको निगरानीमा रहने प्रकृतिको बनाइनुपर्दछ ।

यो संस्थालाई नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्ने गुणात्मक सुधार, दिगो विकास गर्नु पर्दछ, नातावाद, कृपावाद, भ्रष्टाचार, राजनीतिक कारण द्वन्द्व, अयोग्य योजनाकार आदिको अन्त गरी विश्वकै जलस्रोतको दोस्रो उपाधी पाएको नेपालको राजधानीवासी तथा अन्य जिल्लाका जनतालाई खानेपानी, विद्युत्, कृषि आदिमा आत्मनिर्भर बनाई व्यक्ति तथा देशकै आर्थिक विकासमा लागौँ । ९८४१२५७३६४ (लेखकः गुणस्तरीय जीवन विषयमा विद्यावारिधि)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया