Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखाद्यान्नमा धानको महत्व

खाद्यान्नमा धानको महत्व


काठमाडौं । संसारभरिलाई हेर्ने हो भने करिब ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी विश्वभरमा ६० करोड मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । त्यसकारण एसियालीहरुलाई एकैसाथ ल्याउन सेतुको कामसमेत गरेको छ धानखेतीले । यसर्थ कृषिमा आकर्षण घटेकाले खाद्यान्न उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको छैन । मूलतः यस्तो किसिमको खाद्यान्नको मुख्य स्रोत मानिएको धानखेतीलाई प्रवर्द्धन गर्न सरकारको २९ मंसिर २०६१ को निर्णयअनुसार नेपालमा प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको छ । यसैलाई निरन्तरता दिने क्रममा यस साल पनि कृषि विभागले राष्ट्रिय धान दिवस गतसाता मनाएको थियो । यस सालको धान दिवसको मूल नारा भने ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ रहेको छ । यसैक्रममा यो विसं २०७९ साल असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पर्न गएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएको कारणले गर्दा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा वृद्धि हुने अनुमान गरिएको छ ।

नेपाल धान उत्पादन गर्नका लागि जल, वायु, जमीन सबै किसिमले उपयुक्त भए पनि अपेक्षित रुपमा धानको उत्पादन भइरहेको छैन् । यसर्थ अझै पनि अकासे खेतीमा भर पर्ने अवस्था छ धेरै किसानहरूलाई । धेरै उब्जाउ खेतहरूमा सिँचाइको आवश्यक व्यवस्था हुनसकेको छैन । मूलतः यसमा भ्रष्टाचार र राजनीति अस्थिरता यसको प्रमुख बाधक पनि हो । यद्यपि, कृषिको विकासको लागि जबसम्म किसानलाई तालिम, मल, सहुलियत दरमा कृषि औजार, अनुदान, बीउलगायत आधुनिकीकरण र व्यवसायिकीकरणको अभावले पनि नेपालले चाहेको धान उत्पादन गर्न नसकेको तीतो यथार्थ हो । नत्र नेपालमा संसारको सबैभन्दा उच्च स्थानमा धान फलाउने प्राकृतिक अनुकूलता छ । यसमा मुलुकको जुम्ला जिल्लाको छुमचौर संसारको सबैभन्दा उच्च स्थानमा धान उत्पादन भइरहेको स्थानको कीर्तिमान साथ धान उत्पादन दिइरहेको छ । त्यहाँ जुम्लामार्सी धानको उत्पादन गरिन्छ । उच्च पहाडी भेकदेखि तराईको समथर मैदानी भेकमा धान उत्पादन हुने प्रशस्त जमीन भए पनि नेपाल धान उत्पादन गर्ने देशहरूको क्रममा निकै तल नै पर्दछ ।

देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्व कालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेसाको रुपमा रहीआएको छ । विश्व अर्थतन्त्रमा अरु क्षेत्रको विकास र विस्तारसँगै कृषिक्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । देशको अर्थतन्त्रमा कृषिमा कुल गार्हस्थ्य उत्पादनमा हाल २७ प्रतिशत ओगटेको छ । त्यसमध्ये धानबाट कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान रहेको छ । त्यसरी मुलुकमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत भूमिमा धान खेती हुँदै अएको छ । त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ ।

देशमा अन्नबाली उत्पादन हुने कुल क्षेफलको करिब ४३ प्रतिशतमा धानखेती हुनेगरेको र कुल अन्न बाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । यसर्थ राष्ट्रमा वार्षिक करिब एक दशमलव पाँच खर्ब रुपैयाँबराबरको धान तथा यसका अन्य उत्पादनबाट प्राप्त हुने हिसाबकिताब सम्बन्धित क्षेत्रका विज्ञहरुले गरेका छन् । त्यसरी नै मुलुकको धानबालीको क्षेत्रफलमा आर्थिक वर्ष ०७६/७७ मा १४ लाख ५८ हजार नौ सय २० हेक्टरमा लगाइएको थियो । सो क्षेत्रफलको तुलनामा आर्थिक वर्ष ०७७/७८ मा एक प्रतिशतले वृद्धि भई अर्थात् १४ हजार पाँच सय ५० हेक्टर वृद्धि भई १४ लाख ७३ हजार चार सय ७० हेक्टर पुग्ने अनुमान गरिएको छ । त्यसैगरी उत्पादनतर्फ हेर्ने हो भने पनि आर्थिक वर्ष ०७६/७७ मा ५५ लाख ५० हजार आठ सय ८० बाट एक दशमलव २८ प्रतिशत अर्थात् ७० हजार आठ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । त्यसरी नै उत्पादकत्वतर्फ अवलोकन गर्ने हो भने पनि अधिल्लो आर्थिक वर्ष ३ दशमलव ८ प्रतिशत प्रतिहेक्टर उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा शून्य दशमलव २८ ले वृद्धि भई ३ दशमलव ८२ प्रतिशत प्रतिहेक्टर मेट्रिक टन भएको अनुमान छ ।

देशमा विद्यमान तीन करोड नाघि सकेको जनसंख्यालाई खाद्यान्न भाग लगाउने हो भने प्रतिव्यक्ति प्रतिवर्ष एक सय ९१ किलो चामल उपलब्धता रहेको छ । जसले गर्दा देशलाई ६० लाख मेट्रिक टन धान प्रत्येक सालको लागि आवश्यक पर्छ । मौसमी अनुकूलतामा बढी निर्भर रहेको कृषि क्षेत्रको पछिल्लो दश वर्षको बृद्धिदर भने अपेक्षाकृत रुपमा सन्तोषजनक रहन सकेन । फलतः कृषि क्षेत्रबाट प्राप्त हुन गएको रोजगारी अवसर र मुलुकलाई समष्टिगत रुपमा प्रदान हुने खाद्य सुरक्षाको कारण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रहन गएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण तथा विविधीकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको सक्षम बनाउनु आवश्यक छ ।

कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषक समुदायको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन कृषि विकासका कार्यक्रमहरु केन्द्रित रहेका छन् । खाद्यान्न बालीहरु धान, मकै, गहुँ, जौ, कोदो, फापर आदिमा भएको उत्पादन र उत्पादकत्व वृद्धिले नेपालको खाद्य सुरक्षामा टेवा पुगेको छ । हाम्रो राष्ट्रिय आय विदेशी मुद्रा आर्जन विदेश व्यापार र रोजगारी प्रदान गर्ने सन्दर्भमा कृषिको सर्वोपरि महत्व छ । हाम्रो देशमा भने २० वर्षे दीर्घकालीन कृषि योजनाले धानलाई विशेष प्राथमिकतामा राखेको छ । अब देशमा चैते, भदैया, वर्षे, हिउँदे आदि गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ ।

मुलुकको ७७ जिल्लाहरुमध्ये ४० देखि ४५ जिल्लामा आफ्नै उत्पादनले खान नपुग्ने कुरा सरकारी तथ्यांकले देखाएको एकातिर छ भने अर्कोतिर बढ्दो जनसंख्याको भारले गर्दा ६० वर्ष अगाडि ८० लाख जनसंख्या थिए भने अहिले वृद्धि भई तीन करोडभन्दा बढी पुगेको अनुमान छ । किसानहरुमा सबैभन्दा बढी आवश्यक खाद्य वस्तु धानको खेतीप्रति वितृष्णा बढ्दै गएको छ । किसानहरुले धानखेतीलाई नोक्सान मात्र पार्ने खेतीको रुपमा परिभाषित गर्न थालेका छन् । देशमा विद्यमान नदीनाला, मलिलो माटो, मिलेको हावापानी भएको हुँदा नेपाल धानमा आत्मनिर्भर हुने सम्भावना धेरै रहेको छ । यद्यपि देशमा धान खेतीको सम्भावना पनि राम्रो छ ।

समग्रमा भन्नुपर्दा यसपालि वर्षा समयमा नै सुरु भएकाले किसानले गत वर्षभन्दा यसवर्ष समयमा नै धान रोपाइँ सकिने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ  । अतः संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने ठाउँ नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । यसरी मुलुकमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक वृद्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक वृद्धिदर नै ओरालो लाग्छ । तसर्थ धानले देशलाई पु-याएको देनलाई सिंहावलोकन गरी देशले पनि धानबालीको अनुसन्धान र विकासमा प्राथमिकताका साथ विशेष लगानी गर्नु पर्दछ । देशमा उत्पादन भएको चामल भारतबाहेक अरु देशहरुमा निकासी भएको आँकडा पाइँदैन । तर, मुलुकले नपुग हुने चामल भारतलगायत अन्य देशहरुबाट आयात गरी नै रहेको छ ।

गत वर्ष पनि झण्डै एक खर्बबराबरको चामललगायत खाद्यान्नहरुको आयात भएको थियो । मुलुकको प्रमुख बालीका रुपमा रहेको धानको अनुसन्धान, उत्पादन र प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । अब देशममा मनसुनको सुरुवात भइसकेकाले देशभर धान रोपाइँ गर्न थालिएको छ । देशको भौगोलिक धरातलको विविध हावापानीका कारणहरुले गर्दा यसपालि धानबालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा केही बढ्न सक्ने संकेतको अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरुले गरेका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

1
0
Would love your thoughts, please comment.x
()
x