खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ४६ युवा ठगिए
खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका खोटाङका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर वर्षैसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले एक करोड पाँच लाख १३ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको जानकारी दिए । उनले भने, ‘वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा २३ लाख ४० हजार पाँच सय रुपैयाँ ठगी भएको उल्लेख छ ।’ उनका अनुसार विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन् । उनले भने, ‘सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा हालसम्म म्यानपावर र एजेन्टबाट १० लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकिएको छ ।’
चालु आव स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले एक लाख ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिए । वैदेशिक रोजगारीका सिलसिलाका रकम फिर्ता लिनका लागि एजेन्ट र म्यानपावर धाउँदाधाउँदा हैरान भएका पीडितले अन्तिम विकल्पका रूपमा आप्रवासी स्रोत केन्द्रलाई गुहार्ने गरेको जनाइएको छ ।
वैदेशिक रोजगारसम्बन्धी ठगीमा परेका पीडितसँग आवश्यक प्रमाण नहुनु, ठगी गर्ने अधिकांश जिल्ला बाहिरका हुनुजस्ता कारणले पीडित न्यायबाट बञ्चित भएको स्रोत केन्द्रले जनाएको छ । वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोबार सकेसम्म बैंकिंङ माध्यमबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुने संयोजक राईले जानकारी दिए । ठगीका नयाँनयाँ शैली प्रयोग हुन थालेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘पछिल्लो समय नयाँनयाँ तरिका र प्रक्रियाबाट वैदेशिक रोजगारसम्बन्धी तथा विभिन्न बहानामा ठगीका घटना हुन थालेका छन् । ठगीका घटनालाई न्यूनीकरण गर्न हामीले पनि नागरिकलाई सचेत गराइरहेका छौं’, उनले भने, ‘घटना भइसकेपछि मात्र प्रहरीमा जानकारी आउँछ । पीडितसँग आवश्यक प्रमाण नहुँदा समस्या हुने गरेको छ । यसप्रति सचेत हुन आवश्यक छ ।’
खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारमा जानेको सूचीमा पर्छ । राससले जनाएनुसार वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारका समस्या पनि बढ्दै गएको पाइएको हो । आव २०८०/८१ को पछिल्लो पाँच महिना (मङ्सिरसम्म)मा खोटाङबाट तीन हजार तीन सय ४१ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसमा महिला तीन सय २२ रहेको श्रोत केन्द्रले जानकारी दिएको छ । १० स्थानीय तह रहेको खोटाङबाट गत वर्ष नौ हजार आठ सय छजना युवाले श्रम स्वीकृति लिएको पाइएको छ । यसमा आठ सय ३१ महिला छन् ।
क्याटेगोरी : समाचार, श्रम
ताजा अपडेट
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया