Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपहिलो कार्यक्रम ‘हेल्लो डाक्टर’

पहिलो कार्यक्रम ‘हेल्लो डाक्टर’

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान सुरु


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियन्टको संक्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

विपत्तिमा मुलुक पर्दा मुलुकवासीहरूको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु-याउँदै आएको यसको इतिहास छ । महाभूकम्पमा होस् वा बाढी पहिरोको महाविपत्ति, महासंघले सधैँ अग्रभागमा रहेर सहयोग गर्ने गरेको छ । यस एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले पहिलो कार्यक्रमको रूपमा शनिबारबाट हेल्लो डाक्टरको शुभारम्भ गरेको छ ।

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा रहेको महासंघले जनाएको छ । हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा सञ्चालन गरिएको हो, जसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् । हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने कार्य आइतबारबाट सुरु हुनेछ ।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत भरपूर सहयोग लिन सक्नेछन् । हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ ।

प्रारम्भमा पाँँच जना डाक्टरहरूबाट परामर्शको कार्यथालनी गरिनेछ । त्यसका लागि बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्याइएको महासंघले जनाएको छ ।

महासंघका अनुसार नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ । तत्पश्चात् डाक्टरहरूले भिडियो कलमार्फत बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन् ।

म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनुपर्नेछ । यो सेवा निःशुल्क हुनेछ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्नेछन् । रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थाबाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाइदिने उद्देश्यअनुरुप यो कार्यक्रमको थालनी गरिएको महासंघको भनाइ छ । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर गोल्छाको दाबी छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढीभन्दा बढी लाभ उठाउन पनि उनले आग्रह गरेका छन् । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने समेत उनले बताए ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ । महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आआफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन पनि महासंघ सबैलाई आग्रह समेत गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया