बाहुन, क्षेत्री खस आर्य–१९ : काठमाडौँ । नेपालका बाहुन क्षत्रीयलगायत खस आर्य वर्गहरु वैष्णव भएझैँ शैव धर्मावलम्बी भनेर समेत शैवमार्गीका रुपमा शिवभक्त समुदाय रहेका छन् ।
शिव भक्तिको परम्परा नेपालमा अतिप्राचीनकालदेखिकै रहेको छ। प्राचीनकालको किराँत राज्यमा शिवभक्त वा भगवान् महादेव शिव शंकर मानिएकाले नै पुराणलगायतका पौराणिक ग्रन्थहरुमा किराँतेश्वर महादेवको उल्लेखहरु आएको हो । ती धर्मशास्त्रहरुले नेपाल वा हिमवत् खण्डका पर्वतीय भू–भागहरु शिवजीका क्रीडास्थल भनेर समेत उल्लेख गरेका छन् ।
मानसरोवर झि नजिकको कैलाश पर्वतलाई शिवजीको निवास स्थल मानिन्छ भने हिन्दू धार्मिक ग्रन्थ महाभारतमा समेत किराँतेश्वर महादेव अर्थात् शिवशंकरले भेष बदली अर्जुनसँगका प्रसंगलगायत प्रसंगहरु उल्लेख गरिएको छ । शिवजीकी पत्नी देवी माता पार्वतीलाई पनि पर्वतकी छोरी भनेर भनिने गरिन्छ ।
धार्मिक ग्रन्थहरु नेपाल महात्म्य र हिमवत् खण्डले नेपालमा सत्ययुगभन्दा अघिको समयदेखि नै भगवान् शिव शंकरलाई यस भेगमा मान्दै आइरहेको कुरा उल्लेख गरिएको छ । प्राचीन वंशावली मानिएको गोपाल वंशावलीमा पशुपतिनाथको उल्लेख छ भने पशुपतिनाथको प्राचीन मन्दिर ढलेर लामो समय पुरिएपछि एक जना ग्वालाको गाईले सधैँ सो शिवलिङ्गमा गई दूध दिई चढाउने गरेकाले गाईका मालिक ग्वालाले त्यस ठाउँमा खनिहेर्दा शिवलिङ्ग भेटिएको भन्ने मान्यता राखिन्छ ।
यस प्रकार गोपाल वंशकाल, किराँतकालका साथै नेपालमा लिच्छवी कालमा समेत शिवभक्तिका अनेक प्रमाणहरु पाइएका छन् । राजा मानदेव विष्णु भगवान् साथै शिवजीका समेत भक्त रहेका थिए । सोही हुनाले लिच्छवी राजाहरुले शिलालेखहरु लेखाउँदा आफूलाई भगवान् पशुपति भट्टारकका पाउको कृपा पाएका भनेर लेखाउने गरेका अनेकौं शिलालेखहरु पाइएका छन् ।
यसैगरी बाह्रौँ शताब्दीमा देखा परेको नाथ सम्प्रदायहरु पनि शिव भक्तिमार्गको नै निरन्तरताका रुपमा देखा परे । यी नाथ सम्प्रदायको प्रभावहरु ऐतिहासिक कालमा अत्यन्तै महत्वपूर्ण रहेको थियो। तिनमा गुरु गोरखनाथको नाम प्रमुख रुपमा आउँछ भने गोरखकाली अर्थात् गोर्खाली भन्ने शब्द, यस्तै गुरु गोरखनाथको क्रीडास्थल गोरखा राज्यको नाम आदिले समेत नेपालमा शिवभक्तिमार्गको परम्पराको निरन्तरतातर्फ इंगित गर्छ ।
नेपालमा प्राचीनकालमा बनेका शिवमन्दिर तथा शिवका मूर्तिहरु प्रशस्त रहेका थिए । लिच्छवीकालीन निर्मित शिवमूर्तिहरु अझै पाइने गरिन्छ । यस्तै पश्चिम नेपालको खस साम्राज्यमा समेत भगवान् शिवका उपासक र शिवभक्तिको परम्परा रहेको थियो ।
खस सम्र्राट् राजाहरुले गौरवसाथ उल्लेख गरी लिने गरेका परम् भट्टारक भ्रन्ने उपाधिले शिवभक्तिलाई प्रष्ट पार्छ भने खस साम्राज्यको कुमाउ खण्डमा आदिगुरु शंकराचार्यको आगमनले शैव धर्मको महिमाले व्यापकता पाउन गयो भने शिवजीको वासस्थान कैलाशपर्वत जाने मार्ग समेत खस साम्र्राज्यको कर्णाली प्रदेश हुँदै जानुपर्ने भएकाले शैव मतावलम्बीहरुको शिवेश सम्पर्क र प्रभावमा खस साम्राज्य पर्दै आएको थियो ।
खस राजकुमार अभय मल्लले वि.सं. १३३७ मा स्थापित गराएका पञ्चदेवलमा पाञ्चायनमध्ये एक शिवजीको मूर्ति समेत छ । यसैगरी खस साम्र्राज्यकालमा दुल्लुको दुल्लभेश्वर धुलीश्वर क्षेत्र शैवमार्गी वा शिवभक्तहरुका लागि विशेष तीर्थ वा आस्थाको केन्द्र थियो ।
धुलिश्वरमा भेटिएको उमामहेश्वरको आलिंगन मूर्तिले शिवभक्ति मार्गको आस्थामा सो क्षेत्र रहेको थियो भन्ने कुरालाई प्रष्ट गर्दछ । धुलीश्वरमा कुनै बखत भू–गर्भबाट अग्नि निस्किने गरेकामा त्यसैलाई शिवज्योतिस्वरुप मानी शिवशक्ति ज्योतिरुप प्रस्फुटित स्थानमा शिव मूर्ति निर्माण गरिएको हो ।
सो क्षेत्र अर्थात् सुर्खेतको चौघानचौरमा भैरवको मूर्ति समेत पाइएको छ। महादेव शिवजीलाई भूतनाथेश्वर भनिएको छ ।यसैगरी खस सम्राट् पृथ्वी मल्लका दरबारीया ठूला पदधारी एक व्यक्ति जयसिंह भन्नेले वि.सं. १४१२ मा धुलीश्वरनजिकै दुल्भेश्वर भन्ने स्थानमा जयश्वरशिवको प्रसिद्ध देवालय मन्दिर स्थापना गराएका थिए । कुमाउखण्डका केदारनाथ बद्रीनाथ नेपालका पशुपतिनाथ शैवमार्गी मात्र नभई अपितु सारा हिन्दू धर्मावलम्बीका आस्थाका केन्द्र हिन्दू धार्मिक तथा ऐतिहासिक धरोहर मानिन्छन् ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शिवशंकर भगवानका प्रसिद्ध मन्दिर, मूर्ति, शिवलिंग सर्वत्र पाइन्छन् भने सो स्थापित हुने क्रम आजपर्यन्त चलिराखेको छ । शिव भगवान् नेपालीहरुका प्रमुख देवता हुनाले शिवभक्तहरु नेपालका हरेक कुरामा भेटिने गर्दछन् । नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिर विश्वभरिका हिन्दूहरुका निमित्त आकर्षणको केन्द्र हुनुका साथै आस्थाको केन्द्र र प्रमुखमध्येको तीर्थस्थलका रुपमा समेत प्रसिद्ध छ ।
अतिप्राचीन मानिएको पशुपतिनाथको शिवलिङ्गलाई मुसलमान आक्रमणकर्ता शमशुद्धिनले नष्ट गरेकामा पशुपतिनाथको शिवलिङ्गलाई ई.सं १३५० मा पुनस्र्थापित गरियो भने जयस्थिति मल्लकै पालामा पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिर समेत निर्माण गरियो ।
ब्राह्मण साहित्य तथा धार्मिक ग्रन्थहरुले शिवजीलाई सबै देवताहरुमा ठूला देवता तथा महत्वपूर्ण देवता भनी उल्लेख गरिएकाले नै देवाधिदेव महादेवलाई नेपालका खस आर्य क्षेत्री ब्राह्मणले विशेष महत्व दिने गरेका छन् । यस्तै उपनिषद् हिन्दू धर्म ब्राह्मण साहित्यले शिवजीलाई आराध्या देवता मानेका छन् भने केन उपनिषदले शिवजीका साथै उमाहेमदेवीको नाम उल्लिखित छ ।
यस्तै नेपालको पशुपतिनाथका बारेमा स्कन्द पुराण र पशुपति पुराणमा विस्तृत रुपमा उल्लेख गरिएको भेटिन्छ । अथर्ववेद लेखिँदाका समयमा नै शिव भगवान्लाई ठूला देवता भनेर मानिएकाले महादेव भनेर वर्णन गरियो भने यजुर्वेद लेखिँदाका समयमा भगवान शिवलाई रुद्र्रका रुपमा पुजिने गरिन्थ्यो । यजुर्वेदमा भगवान् शिवलाई रुद्र देवता भनी वर्णन गरिँदै रुद्रलाई औषधोपचार गर्ने देवताका रुपमा प्रशंसा एवं वर्णन गरिएको पाइन्छ ।
अथर्ववेदले नै शिवजीलाई सर्वप्रथम पशुपतिनाथ भनी लेखिएकाले जंगलमा डुलेर हिँड्ने गाईवस्तु, भेडाबाख्राहरुलाई मेघबाट उत्पन्न विद्युत् अर्थात् चट्याङ्गबाट रक्षा गर्ने हुनाले रुद्र्रलाई पशु संरक्षक पशुहरुका बीच रहने देवता मानिएको हो । यस्तै ऋग्वैदिक कालमा नै शिवका रौद्र रुपमा विनाशकारी र सौम्य रुपमा मङ्गलकारी भनी दुई रुपमा छुट्याइएको पाइन्छ ।
नेपालमा पाशुपत वा पशुपति महादेवको महिमा बढ्नुमा मुख्यतया खस आर्य बाहुन तथा क्षेत्रीय वर्गकै मुख्य भूमिका छ । क्षत्रीय राजाहरुले बेलाबखत शिव मन्दिर, शिवलिङ्ग निर्माण गरेका हुनाले नै शिवभक्तिको परम्परा जनजनमा बस्न गएको हो । वर्तमान पशुपतिनाथको मन्दिर करिब तीन सय वर्षअघि निर्माण गरिएको हो । प्राचीनकालमा नै स्थापित गरिसकिएको उक्त पशुपतिनाथको शिवमन्दिर भूकम्प, आक्रमण र समय क्रममा भत्किने गरेको थियो ।
नेपालका खसआर्य शैवमार्गी समुदायको शिव भगवान प्रतिको परम आस्थाले शिवका अनेक स्वरुपहरुलाई उनीहरु व्याख्या गर्ने गर्छन् । अर्धनारीस्वरुप उमामहेश्वरलाई कसै–कसैले शिवपार्वतीको जोडी भनी समेत व्यख्या गरेका छन् । यस्तै पौराणिक साहित्यलाई हेर्ने हो भने शिवको आठ रुपको परिचर्चा गरिएको पाइने हुनाले नै पुराणलगायतका अन्य धार्मिक ग्रन्थहरुमा शिवका अष्टमूर्ति अर्थात् आठ मूर्तिलाई आठ रुपमा व्याख्या गरिएको पाइन्छ ।
ती अष्टमूर्तिमा भव, ईशान, पशुपति, उग्र, रुद्र, भीम, सर्व, महादेव भनी आठमूर्तिका रुप उल्लिखित छन् । यसैगरी एकादशरुद्र भनी ११ वटा रुपको समेत वर्णन पाइन्छ ।
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया