Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रमण दशक घोषणा गर्ने तयारी

भ्रमण दशक घोषणा गर्ने तयारी


काठमाडौं । सरकारले नेपाल भ्रमण दशक (२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा घोषणा गर्ने तयारी थालेको जानकारी दिए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ मा उनले पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको बताए । पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकोले भ्रमण दशक कार्यक्रमलाई अघि सारिएको उनको भनाइ थियो । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आफूले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको बताउँदै उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले समेत प्राथमिकता दिएको उनको भनाइ थियो । साथै उनले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको व्यवस्था गरिने उनले जानकारी दिए ।

मुलुकका सबै जातजाति र भाषाभाषीका स्थानीय खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ । विभिन्न जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि अध्ययन–अनुसन्धान अघि बढाउने प्रतिष्ठानले योजना बनाएको छ भने सार्क सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने योजना समेत अघि सारेको छ । पर्यटकीय जनशक्ति उत्पादनमा काम गर्दै आएको नाथमले स्थापनाको ५० वर्ष पुगेको अवसरमा पर्यटन सम्मेलन आयोजना गरेको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा देश विदेशका पर्यटन क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यवसायीहरुले पर्यटन क्षेत्रका विभिन्न आयामहरुबारे छलफल गर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया