Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराटनगरमा रोजगार मेला

विराटनगरमा रोजगार मेला


विराटनगर । अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विराटनगरमा एकदिने रोजगार मेलाको आयोजना गरिएको छ ।

स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले उक्त मेला फलफूल तथा कृषि थोक बजार कटहरी मोरङमा सोमबार आयोजना गरिएको हो । मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनीहरुसँग सम्पर्क स्थापित गरेको उद्योग वाणिज्य माहासंघ प्रदेश एकका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । रोजगारको खोजीमा रहेको जनशक्तिलाई रोजगारदातासँग सिधा सम्पर्क स्थापित गराउने आफ्नो उद्देश्य पूरा भएको उनले बताए ।

मेलाका माध्यमबाट प्रदेश १ मा स्थानीय उद्योग वाणिज्य संघ र रोजगार सेवा केन्द्रहरुबीचको समन्वय स्थापना भई व्यावसायिक परामर्श, मार्गदर्शन र रोजगार मिलानमार्फत विदेशबाट फर्किएका आप्रवासी कामदारहरुको श्रमबजार संक्रमणलाई सहज वातावरण बनेको राउतको भनाइ छ । मेलामा कामको खोजीमा रहेका व्यक्तिहरुको लगत दर्ता गर्ने, रोजगारदाताहरुले आफ्नो कम्पनी वा सेवा क्षेत्रमा आवश्यक परेको जनशक्तिको पहिचान गर्ने काम भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले बर्षेनी करिब पाँच लाख युवाहरु श्रम बजारमा आउने गरेको भन्दै त्यसको ७० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेको बताए । न्यून दक्षता भएकाहरुको ठूलो संख्या वैदेशिक रोजगारीमा जाने गरेकोले नेपाली कामदारहरुले अन्य मुलुकका कामदारहरुको तुलनामा कम ज्याला पाउनुपरेको उनको भनाइ थियो । मुलुकमा भित्रिइरहेका उद्योग प्रतिष्ठानहरुमा पनि दक्ष जनशक्तिको अभाव हुँदा छिमेकी मुलुकका श्रमिकहरुले नेपाली श्रम बजारमा पहुँच बढाएकोले त्यसलाई निरुत्साहित गर्दै नेपाली श्रम बजारको बलियो उपस्थिति निर्माण गर्न मेला महत्वपूर्ण हुने उनको दाबी छ ।

मेलाका अवसरमा रोजगारदाता कम्पनीहरुको तर्फबाट रिलायन्स स्पिनिङ मिलले जुनियर अपरेटरतर्फ दुई सय ५० जना, अरिहन्त मल्टिफाइवरले दुई सय जना, रघुपति जुटमिलले दुई सय जना श्रमिक कामदारको आवश्यकता सिर्जना गरेका छन् । त्यसैगरी होटल तथा पर्यटन क्षेत्रबाट पाँच सय, निर्माण व्यवसायसम्बद्ध संस्थाहरुले २५ सय, सुदर्शन सेक्युरिटीले एकसय विभिन्न सीप भएका श्रमिक कामदारका लागि फर्म भरेको दाबी आयोजकको छ । साथै मेलाकै अवसरमा विभिन्न कम्पनी, उद्योग धन्दा, कार्यालयहरुले समेत रिसेप्सनिष्ट, मार्केटिङ, मेसिन अपरेटर, प्याकेजिङलगायतका क्षेत्रमा दक्ष कामदारको खोजी गरेको आयोजकले बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया