काठमाडौं,सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ता र रोजगारदाताको संख्या बढेको छ । एक आर्थिक वर्षमा एक लाख जनाभन्दा बढी योगदानकर्ता सूचीकृत हुँदा संख्या बढ्न गएको कोषले जनाएको छ ।
चालू आर्थिक वर्षसम्ममा कुल तीन लाख ९१ हजार दुई सय ३२ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । कोषका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६÷७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७÷०७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८÷७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका हुन् ।
त्यस्तै कोषमा सूचीकृत हुनेमा योगदानकर्ता मात्र नभई रोजगारदाता समेत रहेका छन् । उनीहरुको समेत संख्या बढेको पाइन्छ । चालू आर्थिक वर्षसम्ममा १७ हजार छ सय ३८ जना रोजगारदाता सूचीकृत भएका छन् । जसअनुरुप आर्थिक वर्ष २०७५÷०७६ मा तीन हजार दुई सय ६१ जना, आर्थिक वर्ष २०७६÷०७७ मा नौ हजार दुई सय दुई जना, आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार ८३ जना र आर्थिक वर्ष २०७८÷०७९ मा तीन हजार तीन सय नौ जना रोजगारदाता सूचीकृत भएका छन् ।
मुलुकभर रहेको सम्पूर्ण संघ÷संस्थालाई कोषमा आबद्ध हुन निर्देशन दिए पनि सबै भने आएको पाइँदैन । तर, यति हुँदाहुँदै पनि कोषमा सूचीकृत हुने योगदानकर्ता र रोजगारदाता भने बढेका छन् । जसले गर्दा अहिलेसम्ममा योगदान रकम २९ अर्ब १५ करोड रुपैयाँ बढी संकलन भएको पाइन्छ ।
श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको कोषले उनीहरुलाई सुरक्षा योजनाअन्तर्गत रकम समेत उपलब्ध गराएको छ । जसअन्तर्गत कुल दाबी भुक्तानी रकम तीन अर्ब ३३ करोड ८१ लाख रुपैयाँ, अवकाश दाबी रकम दुई अर्ब ८५ करोड २५ लाख रुपैयाँ, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम ३८ करोड २२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम चार करोड ४६ लाख रुपैयाँ र आश्रित परिवार सुरक्षा दाबी रकम चार करोड ४६ लाख रुपैयाँ वितरण गरेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुरुप कोषले योगदानकर्ता, रोजगारदाता सूचीकृत तथा रकम संकलन र वितरण गर्ने गर्दछ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
कोषले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । बैंकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ स्थानीय तहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवेयर तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।
यस्तै कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिने भएको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको बताएको छ । कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याज दर स्वीकृत गरिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।
यसैबीच कोषले दायरा फराकिलो बनाउने भएसँगै थप आकर्षण बढ्ने बताइएको छ । कोषले अनौपचारिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक र देशभित्र र बाहिर स्वरोजगारमा रहेका नागरिकहरु सामाजिक सुरक्षामा जोडिन पाउने व्यवस्था गर्दै सामाजिक सुरक्षाको दायरा फराकिलो बनाएको छ । कोषले यसअघि औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक र मुलुकभित्र र विदेशमा स्वरोजगारमा रहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षामा जोडेको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुईवटा कार्यविधि निर्माण समेत गरेको छ ।
जसलाई ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको समाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ र ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ भनी नामकरण गरिएको छ । मन्त्रालयले मंसिर २५ गते स्वीकृत गरिसकेको उक्त कार्यविधिहरु क्रमशः आगामी नयाँ वर्ष अर्थात् २०८० वैशाख १ गते र आउँदो फागुन अन्तिम सातादेखि कार्यान्वयनमा आउनेछ ।
अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिका लागि भने सामाजिक सुरक्षा योजनाअन्तर्गतका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामा सहभागी हुने पाउनेछन् । यसैगरी उनीहरुले सुविधा प्राप्त गर्नका लागि भने घटना घटेभन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने तथा ६० वर्ष पूरा भएको र कम्तीमा एक सय ८० महिना योगदान गरेको हुनुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया