Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपानी नपर्दा किसान समस्यामा

पानी नपर्दा किसान समस्यामा


दोलखा । हिमाली जिल्ला दोलखाको माथिल्लो क्षेत्र लेकमा आलु रोप्ने समय सुरु भएको छ । आलुखेतीमा निर्भर रहेका जिल्लाका माथिल्लो क्षेत्रका सयौँ कृषक हिउँदे वर्षा नहुँदा समस्यामा परेका छन् । पुस अन्तिमदेखि रोप्न सुरु गरिने आलु पानी नपरेको कारण अझै रोप्न सकेका छैनन् ।

जिल्लाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर–४ काब्रेका समशेर बहादुर खड्काले आलू रोप्नका लागि बारी तयार गरेको तीन साता भए पनि रोप्न नसकेको बताए । उनले पुसमै आलु रोप्नको लागि बारी खनजोत गरेर राखेका थिए । तर पानी नपरेको कारण माघको दोस्रो साता सुरु हुँदा समेत आलू रोप्न नसकेको उनले बताए । खड्काले १० रोपनीमा आलुखेती गर्दै आएका छन् । गत वर्ष समयमै हिउँदे वर्षा भएकाले उनले ३ लाख रुपैयाँ बराबरको आलु उत्पादन गरेका थिए । खड्काले मात्रै हैन, यहाँको सिङ्गो गाउँका किसानले पनि हिउँदे वर्षालाई कुरेर बसेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीमा निर्भर रहेका ठूलचौर गाउँका करिब २५ घरपरिवाको आम्दानीको प्रमुख स्रोत नै आलुखेती हो । यहाँका किसानले आफ्नो सबै बारीमा मुख्य गरी आलु नै रोप्ने गर्छन् । ठूलचौरबाट मात्रै वर्षमा ३० लाखबराबरको आलू बिक्री हुँदै आएको यहाँका किसान बताउँछन् ।

ठूलाचौरकै अर्का किसान रमेश खड्काले पनि आलु रोप्न बाँझो बारी खनेर चिटिक्क बनाएका छन् । खेतला लगाएर मल पनि बोकेर राखेका छन् तर हिउँदे पानी नपर्दा आलू रोप्न सकेका छैनन् । ‘अघिल्ला वर्षहरु यो समय दोलखा दुई/तीन पटक हिउँदे वर्षा तथा हिमपात भइसक्थ्यो’, उनले भने, ‘यसवर्ष भने हालसम्म हिमपात र वर्षा भएको छैन ।’ हिउँदे आकासे वर्षाको भरमा खेती गर्ने किसानलाई आलुलगायतका तरकारी खेती गर्न समस्या भएको हो । बैतेश्वर गाउँपालिका वडा नम्बर–४ को ठूलचौर, ठूलावन, फाप्लु र बैतेश्वर–८ को एबो गाउँलाई आलुखेतीको पकेट क्षेत्रको रूपमा लिइन्छ । यी चारवटा गाउँबाट मात्रै वार्षिकरूपमा १० करोडबराबरको आलु उत्पादन हुनेगरेको कृषकहरु बताउँछन् । तर यसवर्ष खेती लगाउने सिजन घड्किन लाग्दा समेत अझै आलु रोप्न नसकिएको किसानहरुको गुनासो रहेको छ ।

हिम्पात नहुँदा जिल्लाका किसान मात्रै होइन, माथिल्लो क्षेत्रका होटल व्यवसायी तथा पर्यटन व्यवसायी समेत मारमा परेका छन् । हिमपात हुनासाथ भरिभराउ हुने दोलखाको माथिल्लो क्षेत्रमा रहेका पर्यटकीयस्थल र होटलहरु हिजोआज सुनसान देखिन्छन् । जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङ, गौरीशंकर, जिरी, खरिढुङ्गालगायतका क्षेत्रमा अझै हिम्पात हुन सकेको छैन ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया