Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकरिब तीन महिनापछि ताप्लेजुङ–काठमाडौँ उडान सुरु

करिब तीन महिनापछि ताप्लेजुङ–काठमाडौँ उडान सुरु


ताप्लेजुङ । करिब तीन महिनापछि नेपाल एयरलाइन्सले काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । गत जेठ २४ गतेदेखि खराब मौसमलगायतका कारण काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

काठमाडौँबाट लामो समयपछि भएको उडानमार्फत छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । साताको सोमबार, बिहीबार र शनिबार पहिलेकै उडान तालिकाअनुसार नियमित उडान हुने भएको छ । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

काठमाडौं ताप्लेजुङको भाडा यसअघि रु. नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु. आठ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि रु. नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु. आठ हजार चार सयमा झारिएको छ ।

चाडबाड नजिकिएसँगै र मौसममा क्रमशः सुधार आएकोले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया