Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोटल क्रिस्टल पशुपतिको शुभारम्भ

होटल क्रिस्टल पशुपतिको शुभारम्भ


काठमाडौं । ट्रेड टावर ग्रुपले काठमाडौं गौशालामा श्री पशुपतिनाथको गजुर देखिने गरी नयाँ होटल सञ्चालनमा ल्याएको छ । १५ दिन अगाडिदेखि नै सफ्ट लञ्च भएर सञ्चालनमा आएको भए पनि नयाँ वर्षका दिन होटलको विधिवत् शुभारम्भ गरिएको हो ।

ट्रेड टावर ग्रुपका कार्यकारी अध्यक्षद्वारा भगवान् श्री पशुपतिनाथको प्रतिमा पूजा गरी होटलको शुभारम्भ गरिएको थियो । आराध्यदेव श्री पशुपतिनाथको मूल गेटमा अवस्थित यो होटलका अधिकांश कोठाहरूबाट श्री पशुपतिनाथको मन्दिर तथा गजुर दर्शन गर्न सकिनेछ । पहिलो चरणमा ४९ वटा चारतारेस्तरको सुविधा सम्पन्न कोठाहरू, करिब पाँच सय जना अट्न सक्ने कृति तथा काब्या हल तथा दुईवटा प्राइभेट डाइनिङ रुमका साथै ‘स्काई डेक रेस्टुरेन्ट’ समेत सञ्चालनमा ल्याइएको छ । निकट भविष्यमा ९० वटा रुम, साना ठूला गरी थप चार वटा कर्पोरेट इभेन्ट हल र बोर्ड रुमसहित सेवा प्रदान गर्ने लक्ष्य रहेको होटलले जनाएको छ । होटेल निर्माण दुई वर्ष लगाएर सम्पन्न भएको हो । मुख्य गरी श्री पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटक अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक रहेकाले एयरपोर्ट नजिकै बस्न रुचाउने पाहुनाका लागि यो होटललाई उत्कृष्ट होटलका रूपमा तयार पारिएको छ । साथै, पाँच सय जनासम्मको पार्टीहरू सञ्चालनका लागि सुविधा पनि तयार रहेको छ ।

होटलका अध्यक्ष शिवहरि दंगालले यो होटल पूर्णरूपमा सञ्चालनमा आएपछि करिब एक सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र सम्भव भएसम्म स्थानीयलाई नै अवसर दिने जानकारी दिए । अध्यक्ष दंगालले ट्रेड टावर ग्रुपले निकट भविष्यमा काठमाडौंको उत्तरी सीमा जहरसिंह पौवामा हिल स्टेसनसहित गन्तव्यको रूपमा क्रिस्टल इको भिलेज, फार्म हाउस तथा एक नम्बर प्रदेशको इटहरीमा क्यासिनोसहितको पाँचतारे होटल र जनकपुरमा समेत थप हस्पिटालिटी बिजिनेस अगाडि बढाउनका लागि सम्भाव्यता अध्ययन गर्ने कार्य भइरहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया