Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन असोज ३० देखि हुने

दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन असोज ३० देखि हुने


काठमाडौं ।
नेपाल–भारत फ्रेन्चाइज सम्मेलन असोज ३० देखि सुरु हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मञ्चमा जुटाई एकअर्का देशबीच लगानी, प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले असोज ३० देखि कात्तिक २ गतेसम्म सम्मेलन हुने भएको हो । उक्त सम्मेलन पहिलोपटक भर्चुअलका माध्यमबाट आयोजना हुनलागेको छ ।

सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डटकमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्नलागेको हो । कार्यक्रम मार्फत नेपाल तथा भारतका प्रसिद्ध ब्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनि ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्नेछन् ।

सम्मेलनलाई दुई हजारभन्दा बढी योग्य लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशिप तथा अनुमतिपत्रलगायतमा व्यावसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने आयोजकको भनाइ छ । गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्स्पो तथा सम्मेलनको सफलतापश्चात् कार्यक्रमलाई एक स्थापित कार्यक्रमको रूपमा विकास गर्ने लक्ष्यअनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो ।

कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्स्पो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुनलागेको हो । यो सम्मेलनलाई नेपाल–भारत बीच लगानी प्रवर्द्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदानप्रदानको महत्वपूर्ण मञ्चको रूपमा हेरिएको छ । पहिलो एक्स्पोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो । उक्त एक्स्पोले दुई हजारभन्दा बढी ख्यातिप्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रममार्फत व्यावसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयाँ अवसर तथा नविनतम सोचको आदानप्रदानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो ।

नेपाल युवाहरूको संख्या कुल जनसंख्याको करिब ६० प्रतिशत ३० वर्षमुनिको रहेको छ । कोभिड १९ को महामारीभन्दा पहिले धेरैजसो प्रतिभाशाली युवाहरु विश्वव्यापी प्रसिद्ध ब्रान्डमा काम गर्ने इच्छासहित विदेशिने गर्दथे । अब विश्वको ध्यान नेपालतर्फ आकर्षित गरी नेपाली युवाहरूलाई स्वदेशमै पर्याप्त अवसर सृजना गर्न प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू आकर्षित गर्नुपर्ने समय आएको छ ।

फ्लिपकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्टजस्ता प्रतिष्ठित ब्राण्डहरुसहित एक सयभन्दा बढी भारतीयसहित अन्तर्राष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाइसकेका स्वदेशी ब्राण्डहरू पनि विस्तार भइरहेका छन् । नेपाल–भारत फ्रेन्चाइज सम्मेलनले नेपालमा फ्रेन्चाइजको आकर्षणसहित उद्यमशीलतालाई बढावा दिनुका साथै हरेक वर्ष द्विपक्षीय सफलताहरू आदानप्रदानमा समेत महत्वपूर्ण सहयोग पु-याउँदै आएको छ ।

कोभिडको महामारीका बाबजुद, उद्यमी व्यवसायीहरूले ई–कमर्स तथा अन्य प्रविधिहरूको अधिकतम उपयोगमार्फत व्यवसाय मोडल परिवर्तन गरी आफूलाई समयको मागअनुसार अगाडि बढाउन मद्दत गरिरहेका छन् । यस थ्रीडी भर्चुअल एक्सपोले पनि उद्यमशीलताको सोच राखी अगाडि बढ्नलागेको युवाजमातलाई समयअनुसार अगाडि बढ्न र व्यावसायिक अवसरहरूको खोजी गर्न सघाउने विश्वास गरिएको छ ।

यस सम्मेलनले अहिलेको समयमा सम्भावित लगानीकर्ता र साझेदारहरुलाई प्रविधिका माध्यमबाट सुरक्षित रूपमा आ–आफ्नै घरमा रही एकै ठाउँमा जुटाउन सहयोग गर्ने आयोजकको भनाइ छ । भर्चुअल एक्सपोले व्यवसायी र विज्ञहरूबीच आपसी सम्वाद, श्रव्यदृश्यका माध्यमबाट सबै तहका उद्यमीहरू, लगानीकर्ताहरूलाई भेट गराई व्यावसायिक अवसरहरूको उत्खनन, विश्वमा पछिल्लो व्यावसायिक अवस्थाबारे जान्ने बुझ्ने अवसर समेत जुटाउनेछ ।

सम्मेलनमा नेपाल र भारतमा रहेका सबै अग्रणी ब्रान्डहरूलाई यस भर्चुअल प्लेटफर्ममा भाग लिन आमन्त्रण गरिएको बताइएको छ । कार्यक्रमका तीन दिन दुवै राष्ट्रका ब्रान्ड र लगानीकर्ताहरू निजी क्षेत्रका तर्फबाट व्यवसायीहरूको उद्देश्य, इच्छा र लक्ष्यअनुरूपका व्यावसायिक सम्भावनाहरूको नया“ ढोका खोल्न सफल हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया