Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकका दुई सय ५३ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकका दुई सय ५३ कर्मचारीलाई सम्मान


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैँकमा १५ वर्ष सेवा पूरा गरेका दुई सय ५३ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन् ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । उनले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताएका छन् । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्तिभन्दा मेहनत र लगनशीलतामा जोड दिन आमकर्मचारीहरूलाई आग्रह गरे ।

कर्मचारीको अथक मेहनत र लगनशीलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्याएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गरे । यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । बैंकका वरिष्ठ नायब प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५५ वटा शाखा, तीन सय ७९ वटा एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

३५ जना विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो१७ औँवार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेशबाट पाँच जना जेहेन्दार छात्राहरू छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रमअन्तर्गत बैंकले अहिलेसम्म एक सय पाँच जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरूको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ ।

No description available.

समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरू आर्थिकरूपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया