Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनक्कली सुन धितो राखेर बैंकलाई ठग्ने साह पक्राउ

नक्कली सुन धितो राखेर बैंकलाई ठग्ने साह पक्राउ


काठमाडौं । नक्कली सुन देखाएर नेपाल बैंकको चार करोड रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार प्रहरीले ठगी कार्यमा संलग्न भएको आरोपमा सप्तरीको कन्चनरूप नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार पक्राउ परेका साहले विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिन्छु भनी ठगी गरेको अभियोग पनि लागेको थियो । पोखरेलका अनुसार साहले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार कर्जा लिई उक्त कर्जा नतिरी फरार रहेकोमा निजलाई उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार पाँच सय ६४ रूपैयाँ बिगो र तीन वर्ष कैदको फैसला भएको थियो । साथै साहले लब वलीलगायत विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाउने भनी एक करोड रूपैयाँभन्दा बढी रकम लिई फरार थिए । प्रहरीले साहलाई यही फागुन २६ गते बिहीबार काठमाडौंको बौद्धस्थित हायात होटलबाट पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

साहले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर चार करोड १४ लाख ८४ हजार कर्जा लिई नेपाल बैंक लि.लाई सो रकम भुक्तानी नगरेकोले निजलाई सम्मानित उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार पाँच सय ६४ रूपैयाँ बिगो र तीन वर्ष कैदको फैसला भएको देखिएकोमा तत्काल फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

यसैगरी साहले बेरोजगार युवायुवतीहरूलाई विदेश पठाउने प्रलोभनमा पार्ने, जीवन शैली रवाफपूर्ण देखाउने, आफू अमेरिकाका सम्पूर्ण ठाउँ घुमेजसरी व्याख्या गर्ने कोटा थोरै भएकोले पहिला जो आउँछ उही जान्छ भनी आफूलाई एकदम व्यस्त देखाउने र पीडितलाई प्रभावमा पारी ठगी गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । पक्राउ परेका साहले आफूलाई दिपक सोनी भनेर पनि चिनाउने र विभिन्न व्यक्तिलाई प्रयोग गर्ने, विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गरेको खुल्न आएको प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया