Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको उनले जानकारी दिए । गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ शय्या निःशुल्क उपलब्ध गराइएको भन्दै उनले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरूद्धको खोप निःशुल्करूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए । आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको उनको दाबी थियो । वीरका सबै शय्या तथा शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको उनले बताए ।

कार्यक्रममा उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल र अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठान बनाउन निरन्तर सहयोग गर्ने बताए । यस्तै, न्याम्सका रेक्टर डा लोचन कार्कीले न्याम्सको आफ्नै अस्पताल निर्माण नभएसम्म वीर अस्पतालबाट तत्काल नछुट्याउन आग्रह गरे । न्याम्स र वीर अस्पताल छुट्याउने विषयमा बहस चलिरहेको भन्दै उनले यी दुईलाई तत्काल छुट्याउदा धेरै विषयमा समस्या पर्ने बताए । ‘न्याम्समा अहिले चलिरहेको सबै शैक्षिक कार्यक्रम बन्द हुने र त्यसको असर वीर अस्पतालको सेवामा समेत पर्नसक्छ’, उनले भने । यस्तै, उनले न्याम्सको दायरालाई थप विस्तार गर्दै अघि बढेको जानकारी दिए ।

यस्तै, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले गुणस्तरीय स्वास्थ्य सेवाका लागि वीर अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले न्याम्स र वीर अस्पतालले नवीन प्रविधिको प्रयोगबाट विविध विधामा फड्को मार्न सफल भएको दाबी गरे । ‘न्याम्सले दिएको सेवाको क्षेत्र फराकिलो छ तर न्याम्सभित्रको वीर अस्पतालमा चुनौती छन् । पूर्णक्षमतामा शय्या सञ्चालन गर्न सकिएको छैन’, उनले भने । बजेटको अभावमा सेवा प्रवाहलाई थप व्यवस्थित गर्न नसकेको उनको गुनासो थियो । वीर अस्पतालमा प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आएको उनले बताए ।

कार्यक्रममा न्याम्सले आफ्नो २२औँ स्थापना दिवसका अवसरमा पहिलो उपकुलपति दिनेशनाथ गङ्गोल र स्वर्गीय प्राडा उपेन्द्र देवकोटालाई सम्मान समेत गरेको थियो । न्याम्सबाट विभिन्न समयमा उत्तीर्ण उत्कृष्ट विद्यार्थी डा रविरमन न्यौपाने, डा निरोज बनेपाली र डा मुकेशप्रसाद यादवलाई समेत पुरस्कृत गरिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया