Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमानव तस्करीको मुद्दालाई गम्भीररूपमा लिइयोस्

मानव तस्करीको मुद्दालाई गम्भीररूपमा लिइयोस्


काठमाडौं । नेपाल युद्ध चलिरहेको देश होइन, न यसका छिमेकमा नै त्यस्तो भइरहेको छ । कुनै देशसँग नेपालले युद्ध गर्ने कुरा कल्पना पनि गर्न सकिन्नँ । यता युद्धकै नामबाट नेपालमा करिब २० हजारको ज्यान गएको छ तर यो ज्यान गएको होइन लिइएको हो । माओवादीको कथित जनयुद्धको नाममा करिब २० हजारको ज्यान गयो । त्यो भने आन्तरिक द्वन्द्व थियो । त्यसमा पनि जनताले भाग लिएको नभई माओवादीका बन्दुकले जबरजस्ती मारिएका थिए । तर जे भए पनि त्यो आन्तरिक मामला थियो । पछिल्लो समय भने विश्वमा चलिरहेको युद्धको रुवावासी भने नेपालमा भइरहेको छ । केही पहिले इजरायलमा पढ्न गएका दश जनाको ज्यान गएको थियो । एकजना अझै प्यालेस्टाइनीको कव्जामा छन् । तिनलाई अझै छुटाउन सकिएको छैन । इजरायल गएका विद्यार्थीहरूलाई विश्वविद्यालयले नै पठाएको थियो । त्यसकारण ती विद्यार्थीहरू मानव तस्करी भएर गएका होइनन् भन्न सकिन्छ । इजरायलमा भएको त्यो युद्धको घाउ भने नेपालमा लागेको अवस्था छ । निश्चय नै यो दुखद् कुरा हो तर योभन्दा कठोरचाहिँ रुस युके्रन युद्ध भएको छ जहाँ दिनहुँ नेपाली मारिइरहेको समाचार आइरहेको छ ।

दुई देशबीच युद्ध चलिरहेको रुस र युक्रेनका सेनामा भर्ती हुन कसरी पुगे नेपाली भन्ने बारे राज्यले गम्भीरतापूर्वक अध्ययन गरेर दोषीमाथि कडा कारबाही गर्नु जरुरी छ । निश्चय नै युद्ध चलिरहेको देशमा पराइ देशका नागरिक सेनामा भर्ती भए भने तिनलाई युद्ध मैदानमा उतार्छन् नै । यी दुई देशको युद्धमा नेपालीहरू जसरी सामेल भएका वा गराइएका छन् त्यो सुन्दैमा डरलाग्दा छन । तिनलाई तालिम छैन, कसरी शत्रुबाट जोगिने भन्ने अनुभव पनि छैन । भागेर आएकाहरूले सुनाएका विवरणअनुसार उनीहरूलाई भर्ना भएको केही दिनमा नै अर्को पक्षको भूमि कव्जा गर्न सोझै पठाइन्छ । उतापट्टि भने सेना नै जसले चराको शिर जसरी यी नयाँ सेनालाई गोली हानेर उडाइ दिन्छन् । कथंकाल घाइते मात्रै भए भने तिनको उपचारमा पनि समस्या देखिन्छ । तिनको रेखदेख पनि कसैले गर्दैनन् । एक प्रकारले भँेडाखर्कजस्तो अवस्था छ । त्यहाँ नेपालीको संख्या पनि ठूलो छ तर उनीहरू रुसी सेनाको निगरानीमा हुन्छन् । व्यक्तिगतरूपमा कसैले केही गर्न सक्ने अवस्था हुँदैन । यस्तो भर्ती दुई देशबीचको सम्झौताबाट भएको होइन । यसरी नेपालीलाई त्यो अग्निकुण्डमा होम्ने काम केही दलालहरूले गरेका छन्  । महिनाको तीनलाख तलब पाइने र त्यो सबै बच्ने भनिएको छ भने अर्कातिर एक वर्षपछि उतैको नागरिकता पाउने भनेर लोभ देखाइएको छ । त्यसकारण पनि यो विषयमा राज्यले गहिरोरूपले अध्ययन गरेर दोषीमाथि कारबाही हुनै पर्छ ।

यसमा सबैभन्दा दुःखद् पक्ष के हो भने यस्तो मानव तस्करी रोक्न भनी राखिएको सरकारी निकायका मानिसहरू नै यस्तो तस्करीमा लागेको देखियो, त्यो पनि कुनै एक वा दुईजना होइन पूराका पूरा सेट नै । त्यसैमा सरकारका यो निकायका कर्मचारीले एकदिनमा नै एक करोडसम्म उठाउन गरेका समाचारहरू आएका छन् । भिजिट भिसामा मानव तस्करले सम्बन्धित निकाय अध्यागमनका अधिकृतलाई मोबाइल पोेन दिन्थे जसमा तस्करी भएर पठाउनुपर्ने मान्छेको नाम हुन्थ्यो । त्यहाँ नाम भएका व्यक्तिले सहजै निकाश पाउँथे । यता त्यसरी निकास पाउने व्यक्तिका कागजपत्र भने नक्कली हुन्थे । वर्षैदेखि यस्तो काम चलिआएको पाइयो । यो भनेको राज्यले नै मानव तस्करीलाई छुटदिएका अवस्था हो । यो प्रक्रियाबाट उम्किएका व्यक्ति नै युद्धग्रस्त देशका सेनामा भर्ना हुन पुगेको पाइयो । विमानस्थलमा नै रोकिएका थिए भने यो अवस्था आउने थिएन भन्ने बुझाइ पाइन्छ । रुसी सेनामा रहेका नेपालीहरूका अनुसार पाँच हजारभन्दा बढीको संख्या त्यहाँ पुगेको छ । सरकारले यसको विशेषरूपले अध्ययन गरोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया