Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाविरुद्ध अभियानका दुई विकल्प

कोरोनाविरुद्ध अभियानका दुई विकल्प


काठमाडौं । कोरोना भाइरसबाट मुक्ति पाउने हो भने तत्काल दुईवटा काम गर्न आवश्यक छ । एउटा हो खोपको व्यापकता र अर्को त्योभन्दा झनै व्यापक स्तरमा परीक्षण । पछिल्लो समय सरकारले खोपलाई व्यापक बनाउँदै लगेको अवस्था देखिन्छ । यद्यपि त्यसको वितरण प्रणली अझै भरपर्दो र सुरक्षित भने भइसकेको छैन । पहुँचका भरमा खोपको वितरण भइरहेको छ जसले बढी लक्षित वर्गसम्म पुग्नसकेको छैन भन्छन् । खोप दिन थालिएको गएको माघ महिनादेखि हो । त्यो हिसाबबाट कोरोनाविरुद्धको खोप दिन थालिएको पनि आठ महिना भइसकेको छ ।

अनुभवका हिसाबले यो समय धेरै हो तर अझै पनि सुरक्षित प्रकारले खोपको वितरणका लागि व्यवस्थापन गर्न सकिएको छैन । अन्यत्र मापदण्ड अपनाउने भनी परामर्श दिइन्छ तर खोपकेन्द्र भने जहिले पनि भीडभाडले नै भरिएका हुन्छन् । जसले खोपकेन्द्रमा गएर कोरोना लिएर आउने खतरा कायमै छ जस्तो सुरुका दिनमा थियो । यतिबेला एक करोडले खोप लगाइएको भनिएको छ यता संक्रमणको दर भने घटेको छैन । कारण यस्तै अनेकथरिका भीडभाड नै हुनुपर्छ ।

केही दिनअघि मात्रै एउटा रिपोर्ट सार्वजनिक भएको थियो नेपालमा खोपको प्रभावकारिताबारे । त्यसमा खोप लगाएकामध्ये ९० प्रतिशतमा ‘एन्टिबडी’ देखिएको उल्लेख थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै जनाएअनुसार यो अध्ययनमा २१ असारदेखि ३० साउनसम्म देशका विभिन्न स्थानबाट १३ हजार एक सय ६१ जनाको नमूना संकलन गरिएको त्यसको सूक्ष्म विश्लेषण भएको आधारमा यस्तो प्रतिशतमा एन्टिबडी विकसित भएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार कोभिड–१९ विरुद्धको खोपको एउटा डोज लगाएका व्यक्तिमा भन्दा पूर्ण खोप लगाएका व्यक्तिमा एन्टिबडी राम्रोसँग विकसित भएको देखियो । यसको अर्थ हो कोरोना रोकथामका लागि खोप अभियानलाई तिव्रता दिनु आवश्यक छ । यो सन्दर्भमा अर्को एउटा राम्रो पक्ष के हो भने नेपालमा खोपका बारे धेरै नै सकारात्मक धारणा छ । सबै खोप दिन तयार छन् । त्यसमाथि पाका उमेरका नागरिकले त तीन/चार महिनाको प्रतीक्षा नै गरेका थिए । तर पनि खोप मात्रै सुरक्षित हुने माध्यम होइन भन्ने त छँदै छ । सतर्कताको यो पक्षप्रति भने राज्य चुकेको नै देखिन्छ ।

अहिलेसम्मको अवस्थामा खोपतर्फ नेपालको कुल जनसंख्यामध्ये १७ दशमलव ९ प्रतिशत पहिलो मात्रा खोप लगाइसकेका छन् भने १५.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यो खोपको कुरा भयो । करिब ८० प्रतिशतको जनसंख्या अझै खोपबाट टाढा छ । त्यस्तो बेलामा व्यक्ति र समाजलाई सकेसम्म सुरक्षित राख्ने अर्को उपाय हो परीक्षणको व्यापकता । परीक्षणले जोखिमलाई कम गराउँछ ।

नेपालमा दिनको ५० हजारभन्दा माथिको संख्याको परीक्षण गर्ने क्षमता छ । तर भइरहेको छ बढीमा १५ हजारको हाराहारीमा । हजारको परीक्षणबाट एक जना संक्रमित भेटिए पनि खुशी मान्नु पर्छ । त्यो एक जनाले नै हजारलाई संक्रमित पार्न सक्ने जोखिम हुन्थ्यो त्यो मेटिएको अवस्था हो यो । खोप बाह्य देशमा भर पर्नुपर्छ भने परीक्षणका उपकरण नेपालमा पर्याप्त छन् सरकारले अभियान चलाउन मात्रै बाँकी छ । हुन्छ भने निःशुल्क नभए नाममात्रको शुल्क लिएर परीक्षणलाई व्यापक बनाइदिए केही दिनमा नै त्यसको सकारात्मक परीणाम आउँछ । संसारमा त्यसको अभ्यास भइसका छन् । दुःखद कुरा के हो भने नेपालले परीक्षणलाई अहिलेसम्म प्राथमिकता नै दिएको छैन । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया