Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयस्याबास बालेन !

स्याबास बालेन !


काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र साहले महानगरपालिकाभित्र बनाइएका मापदण्डविपरीतका संरचना भत्काउन थालेका छन् । यसका साथै पैदलयात्रु हिँड्ने फुटपाथमा अवैधरूपमा सञ्चालन गरिएका पसल उठाउने अभियान थालेका छन् । मेयर बालेनको यो प्रयासले जनप्रतिनिधिप्रति जनताको मरेको आशा फेरि जागृत हुनपुगेको छ । गत स्थानीय निर्वाचनमा बालेन स्वतन्त्र उम्मेदवार भएर काठमाडौं महानगरपालिकाको मेयर पदमा अनपेक्षितरूपमा निर्वाचित भएका थिए । निर्वाचित भएको शपथग्रहणको भोलिपल्टै देखि सरकारले काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द गरिदिएको थियो । त्योसँगै फोहोरको समस्या उल्झाएर सत्ताधारीहरूले नै दोहोरो भूमिका निर्वाह गरेको कसैबाट छिपेको छैन् । यही पृष्टभूमिमा मेयर बालेन पनि उस्तै देखिन थालेका थिए र जनताले जुन जोगी आए पनि कानै चिरेको भन्न थालिसकेका थिए । तर विभिन्न समस्या र चुनौतीलाई चिरेर बालेनले सुमार्ग पहिल्याएका छन् । तीन दलका वडा अध्यक्षले काठमाडौं महानगरपालिका भरिएको छ ।

उपमेयर स्थायी प्रतिपक्ष । यस्तो अवस्थामा मेयर बालेन्द्र साह एक्लो बृहस्पति हुँदै आएका थिए । शक्ति नभएको मानिसलाई झिँगाले पनि लात्त हान्छ भन्ने भनाइ मुकुन्दहरूले चरितार्थ गरेका थिए । जे गरे पनि विरोध हुने यस्तो अवस्थामा मेयर बालेनले फुटपाथ सफाइ अभियान थालेर राम्रो कामको छनक दिएकै थिए । त्यसको लगत्तै मापदण्डविपरीतका संरचना भत्काउन आफैँ फिल्डमा उत्रिएपछि तिनैसँग मिलेर वर्षौँदेखि तर मार्दै आएका कर्मचारी पनि उनको पछि लाग्न बाध्य भएका छन् । भक्षक नगर रक्षक धनपतिलाई बिदाइ गर्नेबित्तिकै कर्मचारीतन्त्र लुरुक्क परेर उनको पछि लाग्नुपर्ने अवस्थाले त्यहाँभित्रको सुशासनको मिलिजुली रोहनको स्पष्ट संकेत गर्दछ । तर बालेनले एकै तीरले दोहोरो निशाना साँधेपछि चक्रव्यूहका रचनाकारहरू आफैँ अलमलमा परेका छन् । काठमाडौं महानगरपालिकामा २०५४ सालको निर्वाचनपछि विकृति थोपरिन थालेको हो । फुटपाथभरि पैदलयात्री हिँड्ने बाटै छेकेर पसल थापिएका छन् । संस्कृतिक सम्पदाहरू अतिक्रमण गरेर टाठाबाठाले आसेपासे आफन्तहरूलाई व्यवसाय सञ्चालन गर्न लगाएका छन् । महानगरका कर्मचारीसँगको मिलेमतोमा अवैध संरचना निर्माण गरेर व्यवसाय गर्न दिइएको छ ।

घोषित मापदण्डको खुलेआमरूपमा लेनदेनका आधारमा उल्लंघन भएका छन् । तर त्यसलाई रोक्नुपर्ने निकायले देखेको नदेख्यै गरेर बसेको छ । त्यसका पछाडि कुनै न कुनै रूपमा राजनीतिक दलको नेतृत्व जोडिन पुगेको छ । यस्तो अवस्थामा मेयर बालनेले विधि–विधान, नियम–कानुन, मूल्य–मान्यता, परम्परा र संरक्षणका लागि जुन कदम उठाएका छन्, त्यो अत्यन्त स्वागतयोग्य छ । यसका लागि मेयर बालेनलाई स्याबासी नदिइरहन सकिँदैन, स्याबास बालेन ! 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया