Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमहत्वाकांक्षाले उम्मेदवार परिणामले धरौटी जफत

महत्वाकांक्षाले उम्मेदवार परिणामले धरौटी जफत


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको २५औँ दिन राष्ट्रपतिलाई बुझाएको निर्वाचनको परिणाम प्रतिदेनअनुसार यो निर्वाचनमा ठूलो मात्रामा जमानत जफत हुनेमा परे । अघिल्लो पटकभन्दा यो निर्वाचनमा दलहरूको सहभागिता ठूलो थियो । दलको सहभागिता भनेको संगठितरूपकै सहभागिता हो । निर्वाचनमा जति ठूलो सहभागिता रह्यो त्यसले प्रतिस्पर्धा बढाउँछ । जुन मात्रामा प्रतिस्पर्धा बढी हुन्छ त्यसले निर्वाचमा मतदानको संख्या पनि केही न केही बढाउँछ । यो पटकको निर्वाचनमा बहिस्कारको गुञ्जायस देखिएन । निर्वाचन पनि एकैचरणमा भएको थियो र एक सय ६५ निर्वाचन क्षेत्रमध्ये जम्मा तीनवटा निर्वाचन क्षेत्रमा मात्रै पुनः मतदान भएको थियो । यो भनेको निर्वाचन परिष्कृत र सर्वमान्य हुँदै गएको अवस्था पनि हो । अघिल्लो निर्वाचमा बहिष्कार गर्नेहरूको संख्या धेरै थियो । त्यसबेला बहिष्कार गर्नेमध्येको एउटा दलले त यो निर्वाचनमा भाग लिएर राष्ट्रिय मान्यता प्राप्त दलको हैसियत समेत पायो यी भनेका निश्चय नै सकारात्मक पक्ष हुन् । तर यही निर्वाचनमा मतदान भने विगतको भन्दा न्यून भयो । त्यसको कारण खोज्न बाँकी छ ।

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बुझाउँदा निर्वाचनमा सहभागिता जनाएका मध्येबाट ठूलो संख्याले आफ्नो जमानत जोगाउन नसकेको चित्र प्रकट भयो । यो खासगरी समानुपातिकका लागि भएको मतदानमा त्यस्तो चित्र देखिएको हो । संविधानसभाको निर्वाचनामा समानुपातिकको व्यवस्था भएको थियो जसमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसक्ने दलले यो पद्धतिबाट ठूलो संख्या हात पारेका जितको लोभ यी चुनावमा पनि कायम रहेको हुनुपर्छ । त्यसै कारण प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागिता बढी भएको हुनुपर्छ तर यो पद्धतिको एउटा सीमा हो सहभागी दलले एउटा निश्चित प्रतिशत नपु-याए उसले पाएका मत गणनामा आउँदैनन् ।

यो पटकको समानुपातिकतर्फ त ठूला दल पनि विगतको भन्दा मत घटाउनेमा परे । यसो हुनुको कारण अध्ययन हुन जरुरी छ । दलीय पद्धतिमाथिको वितृष्णा मान्ने हो भने यो पटक यति धेरै दल सहभागी भए । अघिल्लो निर्वाचनमा पाँचवटा दलले राष्ट्रिय मान्यता पाएका थिए भने यो पटक त्यसमा थपिएर सातवटा भएका छन् । यो पटक स्वतन्त्रहरूको पनि ठूलो संख्या थियो । यी सबैले चुनावमा दलीय पद्धतिको कतै पनि विरोध गरेको अवस्था थिएन । त्यसकारण दलीय पद्धतिमाथि वितृष्णाको कुराले यो ठाउँमा सान्दर्भिकता पाउँदैन तर जमानत जफत हुनेहरुको संख्या भने बढ्यो नै ।

प्रतिवेदनअनुसार यो निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकामा प्रत्यक्ष ६१ समानुपातिकमा ४७ वटा दल निर्वाचनमा सहभागी थिए । यीमध्ये प्रत्यक्ष्यमा १२ र समानुपातिकमा सातवटा दलले मात्र हैसियत जोगाउन सके । चुनावमा सहभागीमध्ये यो धेरै न्यून संख्याको मात्र मात्रै अस्तित्व जोगिएको अवस्था हो ।

यो निर्वाचन, २०७९ का लागि कुल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम रहेकामा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएको थियो । त्यसमा एक करोड चार लाख ८७ हजार नौ सय ५८ मत सदर भयो । जसमा उल्लिखित संख्याले त्यही सदर मतबाट आफ्नो जमानत गुमाएका हुन् । यसले महत्वाकांक्षाले उम्मेदवार बनायो परिणामले धरौटी जफत गरायो भन्ने अवस्था आयो । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x