Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअर्थतन्त्रको चक्रलाई नियमित गरौँ

अर्थतन्त्रको चक्रलाई नियमित गरौँ


काठमाडौं । अहिले अर्थतन्त्रको चक्र खल्बलिएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा पर्याप्त मात्रमा नगद मौज्दात रहेको र कर्जाको लागि रकम नभएको भने पनि बजारको मागअनुसारको कर्जाको आपूर्ति हुन सकेको छैन । यही कारण अहिले मुलुकको सिंगो अर्थतन्त्रसँगै मुलुकको समग्र व्यापारिक प्रणाली अथवा भनौँ अर्थतन्त्रको नियमित्र चक्र नै केही हदसम्म खल्बलिएको छ । यो चक्र खल्बलिनुको एउटै कारण भने बजारमा रकमको अभाव देखिनु हो, अथवा भनौँ बजारबाट पैसा हराउनु हो ।

राष्ट्र बैंककै भाषामा भन्नुपर्दा नेपालमा अहिले सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थाबाहेक २२ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा संस्थाहरू रहेका छन् । यी ५६ वटा संस्थाहरूको देशभर छ हजार चार सय ३७ वटा शाखाहरू छन् । जसमध्ये वाणिज्य बैंकहरूका पाँच हजार २९, विकास बैंकहरूका एक हजार एक सय २८ र फाइनान्स कम्पनीहरूका दुई सय ८० वटा शाखा सञ्चालनमा रहेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरूले देशभर रहेका आफ्ना शाखा सञ्जालमार्फत कुल ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले चार करोड ८३ लाख २४ हजार नौ सय ३९ वटा निक्षेप खातामार्फत उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् । जसमध्ये वाणिज्य बैंकहरूले मात्र चार करोड १६ लाख २६ हजार एक सय ५८ वटा निक्षेप खातामार्फत चार खर्ब ७१ अर्ब ७० करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । विकास बैंकहरूले पनि ५९ लाख ७७ हजार दुई सय ४५ वटा बचत खातामार्फत पाँच खर्ब ३४ अर्ब ३७ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने फाइनान्स कम्पनीहरूले सात लाख २१ हजार पाँच सय २६ वटा बचत खातामार्फत एक अर्ब नौ करोड २६ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

निक्षेप खाताको तुलनामा कर्जा खाताको अवस्था भने दयनीय रहेको छ । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा नेपालमा लघुवित्तबाहेक बैंक तथा फाइनान्स कम्पनीमा रहेको कुल कर्जा खाताको संख्या जम्मा १८ लाख ३३ हजार एक सय ६५ मात्र रहेको छ । यी खातामार्फत बैंक तथा फाइनान्स कम्पनीहरूले ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरूले १५ लाख तीन हजार सात सय ६६ वटा खातामार्फत ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विकास बैंकहरूले दुई लाख ८७ हजार पाँच सय ८१ वटा खातामार्फत चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरूले भने ४१ हजार आठ सय १८ वटा खातामार्फत ९३ अर्ब चार करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कर्जा रकम कुनै न कुनै रूपमा वित्तीय प्रणालीमा नै फर्कन्छ । किनकि अर्थतन्त्रको चक्र नै यही हो । तर नेपाल राष्ट्र बैंक र बैंक तथा फाइनान्स कम्पनीका प्रतिनिधिहरूको कुरा सुन्ने हो भने अहिले अर्थतन्त्रको चक्र बिथोलिएको छ । राष्ट्र बैंक भन्छ, पैसा छ तर बैंकहरू भन्छन्, पैसा छैन । त्यसो भए पैसा कहाँ छ त ? अहिले सबैको चासोको विषय बनेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई केलाउने हो भने नेपालले प्रत्येक महिना एक खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापारघाटा व्यहोर्दै आएको छ । एक खर्बभन्दा बढीको सामान आयात गर्दा नेपालले मुस्किलले केही अर्बको सामान मात्र निर्यात गर्नेगरेको छ । अर्थतन्त्रको नियमित चक्र खल्बलिनुमा आयात र निर्यातबीचको उच्च असन्तुलन पनि एउटा कारक हो । अर्थतन्त्रको चक्र खल्बलिुनका अन्य धेरै कारकहरू भए पनि सरकारले यी सबै कारकहरू पहिचान गरेर समस्या समाधान गर्नुपर्छ । अर्थतन्त्रलाई नियमित गतिमा फर्काउनु पर्छ । यसको लागि कुनै पनि किसिमको विलम्ब स्वीकार्य छैन, तत्काल सरकारले यो कार्य गर्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया