Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअपराधमा राज्यसंयन्त्रको यस्तो संलग्नता

अपराधमा राज्यसंयन्त्रको यस्तो संलग्नता


काठमाडौं । गएको शुक्रबार काठमाडौ जिल्ला अदालतले एउटा ठूलो समूहलाई पुर्पक्षका लागि जेल पठायो । थप अनुसन्धान नभएसम्म ३० जना अभियोगीमध्ये १८ जना पक्राउ परेका र तीमध्ये पनि १६ जना जेल परेको यो घटना आफैँमा सञ्जालयुक्त अपराधको ठूलो घटना थियो भने अपराधको पृष्ठभूमि पनि त्यतिकै गम्भीर थियो । आफ्ना दाजुभाइलाई कुनै देशको शरणार्थी बनाएर कुनै अर्को देशमा पठाउन खोजिएको यो घटना आफैँमा सामान्य थिएन । त्यसमाथि यस्तो काम ज–जसले, जहिलेजहिलेदेखि, जे–जसरी गर्दै आएका थिए, त्योजति गम्भीर हो त्योभन्दा देशकै राज्यसंयन्त्रको हविगत देखाउने खालको हो । जसलाई राज्यले विश्वास गरेर नागरिकको जिउधनको सुरक्षा गर्न खटाएको थियो, उनैबाट केही रकमकलमका लागि नियोजितरूपले सम्पन्न गर्न खोजिएको यस्तो कामले नेपालीकै शिर निहु¥याएको हुनुपर्छ । अपराध जगतको यो नयाँ सांगठनिक काम थियो, जसबाट अहिले पर्दा उठेको छ ।

त्यस दिन जेलचलान भएकाहरूमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला सचिव गृहमन्त्रीका तत्कालीन सल्लाहकार, पूर्वसांसद यो अभियानका अभियन्ता हुन् । यो तहको ‘भीआईपी’लाई पुर्पक्षका लागि जेल पठाइएको घटना निश्चय नै राज्यका लागि पनि सामान्य होइन । अदालतको आदेशले पनि धेरै कुरा बताउँछ । त्यसमा भनिएको छ– मौकाको बयान, बरामद भएको सीडीहरू, पेन ड्राइभर सनाखत मुचुल्काहरू, बरामद भएको डायरीहरू बरामद भएका वस्तुहरूको परीक्षण प्रतिवेदन, घटना विवरणमा कागज गर्ने व्यक्तिहरूले अनुसन्धानका क्रममा लेखाएका व्यहोराहरू, मिसिलमा संलग्न बैंक स्टेटमेन्टलगायत तत्कालप्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुदार होइनन् भन्न सकिने अवस्था देखिएन, पछि थप प्रमाण बुझ्दै र अदालतले परीक्षण गर्दैजाँदा ठहरेबमोजिम हुने गरी हाल प्रस्तुत मुद्दाको रोहमा प्रतिवादीहरू कसुरदार रहेको देखिँदा निजहरूले नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन गरेको कसुरको गाम्भीर्य र निजहरूलाई हुन सक्ने सजायसमेतलाई दृष्टिमत गर्दा प्रस्तुत मुद्दाको रोहमा मुलुकी फौजदारी कार्यविधि संहिता, ऐ. संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा कानुनबमोजिम थुनामा राख्न पठाइदिनू ।

फैसलाको आधारमा भनिएको– मौकाको बयान, बरामद भएको सीडीहरू, पेन ड्राइभर सनाखत मुचुल्काहरू, बरामद भएको डायरीहरू बरामद भएका वस्तुहरूको परीक्षण प्रतिवेदन, घटना विवरणमा कागज गर्ने व्यक्तिहरूले अनुसन्धानका क्रममा लेखाएका व्यहोराहरू, मिसिलमा संलग्न बैंक स्टेटमेन्टहरूलगायत तत्काल प्राप्त प्रमाणहरूले उल्लेखित नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन गरेको कसुर सामान्य देखिँदैन । यसमा एक मन्त्रीका बाबुछोरा, एक मन्त्रीका आफू र स्वकीय सचिव त परे नै एक मन्त्रीका छोरा फरार अवस्थामा छन् । पीडितको उजुरीमा पक्राउ परेकाबाट पोलिएकामध्येका हुन् यी । त्यसरी नै पोलिएका तर किन हो अहिलेसम्म अनुसन्धानको दायरामा नल्याइएकाहरूको संख्या पनि ठूलो छ । त्यसमा पनि एक पूर्वगृहमन्त्री र उनकी सांसद पत्नीको नाम आइरहेको छ । उनका छोराविरुद्ध त पक्राउपुर्जी जारी भएर पनि हाल फरार छन् ।

दुईजना गृहमन्त्री दुईजना गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार र उनका सचिवालय संलग्न रहेको यो अपराधकर्मले वास्तवमा नै राज्यसंयन्त्रको दुःखद अवस्था बुझाउँछ । जिल्ला अदालतको यो फैसला अन्तिम होइन । तर यसले प्रस्तुत गरेका फैसलाका आधार भने गम्भीर छन् । यसले यो काम कस्तो योजना बनाएर सम्पन्न गर्न लागिएको रहेछ भन्ने बारे बाँकी अनुसन्धान अघि बढोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया