Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व अर्थतन्त्रमा बलियो पुनरुत्थान हुने मुद्रा कोषको अनुमान

विश्व अर्थतन्त्रमा बलियो पुनरुत्थान हुने मुद्रा कोषको अनुमान


अमेरिका ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले यो र आगामी आर्थिक वर्षमा विश्व अर्थतन्त्र बलियो पुनरुत्थान हुने जनाएको छ । कोषले गत जनवरीमा गरेको अनुमान प्रक्षेपणलाई ‘अपग्रेड’ गर्दै विश्व अर्थतन्त्रमा बलियो सुधार हुने जनाएको हो । तर यस्तो सुधार देशहरुबीचमा खतरनाक हिसाबले फरक फरक हुने कोषले चेतावनी दिएको छ ।

कोषका अनुसार यो वर्ष विश्व अर्थतन्त्र छ प्रतिशतले वृद्धि हुनेछ भने अर्को वर्ष ४.४ प्रतिशतले हुनेछ । दुवै वृद्धिदर गत जनवरीभन्दा बढी हो । खासगरी विश्वका विकसित अर्थतन्त्रमा त्यसमा पनि अमेरिकी अर्थतन्त्रमा बलियो सुधार हुने कोषको प्रक्षेपण छ । एउटा ब्लगमा आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले स्वास्थ्य र आर्थिक क्षेत्रमा देखिने गरी संकट देखिएको बताएकी छिन् । तर खोप अभियानका कारण धेरैजसो अर्थतन्त्रमा यो वर्ष सुधारको बलियो प्रभाव देखिनेछ । खोप अभियान कम भएका, अर्थतन्त्रलाई सीमित सहयोग हुने आर्थिक नीति ल्याएका र पर्यटनमा आश्रित अर्थतन्त्रमा भने कम सुधार हुनेछ । खासगरी विकासशील देशमा अघिल्ला दुई कारणले प्रभाव पारेको ब्लगमा उल्लेख छ ।

चीनजस्ता उदाउँदा अर्थतन्त्र भने यसअघि नै महामारीअघिकै अवस्थामा फर्किसकेका छन् । तर धेरै अरु अर्थतन्त्र भने सन् २०२३ पछि मात्रै पुनरुत्थान हुनेछन् । रिपोर्टअनुसार सन् २०२० देखि २०२२ सम्म प्रतिव्यक्ति आयको सञ्चित नोक्सानी यस्ता देशमा २० प्रतिशत हुनसक्नेछ । विकसित संसारमा भने यस्तो दर ११ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । त्यस्तै रिपोर्टले गरिबी न्यूनीकरणमा यसअघि पाएको सफलता उल्टिएको छ । कोषका अनुसार गत वर्ष अतिगरिबको संख्या नौ करोड ५० लाखले बढेको छ । यसमा आठ करोड संख्या कुपोषित जनसंख्या छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया