Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकु विमान किन्ने

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकु विमान किन्ने


पेरिस ।
इजिप्टले फ्रान्ससँग अरु ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । यो सहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली वायुसेनापछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ ।

दुवै मुलुकले राफेल विमान खरिद सम्झौता भएको मंगलबार घोषणा गरेका छन् । इजिप्टको सेनाले राफेल विमान खरिदका लागि फ्रान्ससँग १० वर्षे ऋण लिइएको जनाएको छ । तर सम्झौता के कति रकममा गरिएको हो भन्ने इजिप्टको सेनाले केही खुलाएको छैन ।

इजिप्टले सन् २०१५ मा २४ थान राफेल लडाकु विमान पाँच अर्ब ९३ करोड डलरमा खरिद गरेको थियो । फ्रान्समा उत्पादित अत्याधुनिक यस राफेल विमान खरिद गर्ने पहिलो राष्ट्र पनि इजिप्ट नै हो । निकै अत्याधुनिक भए पनि यसको विदेशमा बिक्री त्यति बढी हुनसकेको छैन ।

इजिप्टले राफेल विमान खरिद गर्नुअघि बजारको खोजीमा रहेको फ्रान्सेली उत्पादक कम्पनी डासल्ट एभिएसनका यी विमान फ्रान्सेली वायुसेनाले सन् २००६ देखि प्रयोगमा ल्याइरहेको थियो । हाल यी विमान भारत र ग्रिस समेतका केही मुलुकमा बिक्री हुनथालेका छन् ।

फ्रान्सेली रक्षा मन्त्रालयले राफेल सम्झौताबाट फ्रान्समा तीन वर्षसम्म सात हजारले नयाँ रोजगारी प्राप्त गर्ने जनाएको छ । साथै, यसबाट फ्रान्स र इजिप्टबीच रणनीतिक तथा सैनिक साझेदारीलाई थप सुदृढ गर्ने मन्त्रालयको भनाइ छ । (रासस–एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया