Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा चर्किँदै इन्धन अभाव

श्रीलंकामा चर्किँदै इन्धन अभाव


कोलम्बो । समयमा नै पेट्रोलियम पदार्थ खरिद गर्न आर्थिक अभावका कारण कठिनाइ भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाव भएको छ । छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि पुनः अभाव भएको इन्धन संकटका लागि सवारी चालकसँग क्षमा याचना गर्दै ऊर्जामन्त्री कञ्चन विजेसेकेराले शनिबार बताएका हुन् । उनका अनुसार यो हप्ता आइपुग्नुपर्ने इन्धन ‘बैंकिङ’ कारणले आउन नसकेको र आगामी हप्ता पनि निर्धारित मात्रा आइपुग्न कठिनाइ हुने देखिएको छ ।

श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक आयातलाई समेत धान्न विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरिरहेको छ । विजेसेकेराले भने, ‘राज्य सञ्चालित सिलोन पेट्रोलियम निगमले यस द्वीपमा ताजा तेल आपूर्ति कहिले हुनेछ किटान गर्न सम्भव देखिएको छैन । यसका लागि देशमा देखिएको चरम आर्थिक संकट जिम्मेवार छ । कच्चा तेलको अभावमा सीपीसीले आफ्नो एकमात्र रिफाइनरी पनि केही समय बन्द गरेको थियो ।’

दुई महिने क्रेडिट शर्तमा दुबईस्थित कोरल एनर्जीमार्फत किनेको ९० हजार टन रूसी कच्चा तेल प्रयोग गरेर रिफाइनरीले यस महिनाको सुरुदेखि उत्पादन सञ्चालन सुरु गरेको भए पनि कच्चा इन्धनको प्रशस्त आपूर्तिको अभावमा अभाव देखिएको हो । यस हप्ताको सुरु र अर्को हप्तासम्ममा आउने पेट्रोल, डिजेल र इन्धनको कच्चा पदार्थको ढुवानी’ बैंकिङ तथा व्यवस्थापकीय कारणहरूले गर्दा समयमै आइपुग्ने अवस्था नदेखिएको मन्त्री विजेसेकेराले बताए ।

उनले भने, ‘देशमा बाँकी रहेको इन्धन केही पेट्रोल पम्पबाट वितरण गरिनेछ ।’ उनले सार्वजनिक यातायात र विद्युत् उत्पादनलाई प्राथमिकता दिइने तर सवारी चालकहरूलाई इन्धनको लागि लामो लाइनमा नबस्न आग्रह गरे । श्रीलंकामा लाखौँ सवारी चालकहरूले पेट्रोल र डिजेलको प्रतीक्षामा लामो समय कुर्नुपरेको गुनासो व्यापक बनेपछि मन्त्रीले विलम्ब र असुविधाको लागि क्षमा याचना गर्नुपरेको हो ।

गत हप्ता सरकारले ऊर्जा संकटका कारण आवतजावत कम गर्न दुई हप्ताका लागि विद्यालयसँगै राज्य सञ्चालित कम आवाश्यक संस्थाहरु बन्द गरेको थियो । इन्धनअभावका कारण देशभरका केही अस्पतालले स्वास्थ्य कर्मचारीको उपस्थितिमा तीव्र कमी आएको जानकारी दिएका छन् । प्रधानमन्त्री रानिल विक्रेमेसिङ्हेले बुधबार संसदमा भने, ‘मुलुकले थप केही महिना का लागि कठिनाइको सामना गरिरहनुपर्नेछ त्यसैले मानिसहरुलाई थोरै मात्र इन्धन प्रयोग गर्न आग्रह गर्नुको विकल्प छैन ।’

उनले भने, ‘अहिले हामीले इन्धन, ग्याँस, बिजुली र खाद्यान्नको अभावबाहेक अझ गम्भीर परिस्थितिको सामना गरिरहेका छौँ ।’ ५१ अर्ब अमेरिकी डलर विदेशी ऋण अप्रिलमा चुक्ता गर्न असमर्थ भएको कारण सरकारले अहिले त्यसको पनि चुक्ता गरिरहेको सम्भावित जमानतको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौताका लागि पहल गरिरहेको छ ।

खाद्यान्न आयातमा थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने
श्रीलंका सरकारले आवश्यक खाद्य वस्तुहरू आयात संकटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ । भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो ।

श्रीलंकाका व्यापारमन्त्री नलिन फर्नान्डोले भने, ‘यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका १८ करोड अमेरिकी डलर मूल्यका खाद्य वस्तुहरूको अतिरिक्त यो सुविधा मिलेको हो । यो खरिदसँगै कम्तीमा पनि अर्को दुई महिनाको लागि चाहिने खाद्यवस्तुको भण्डारण गर्न हामीले पाउनेछौँ ।’

श्रीलंकाको डेली मिरर पत्रिकाले फर्नान्डोलाई उद्धृत गर्दै लेखेको छ, ‘निकट भविष्यमा खाद्य वस्तुहरू आयात गर्न हामीले सोही क्रेडिट सुविधाबाट भविष्यमा सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएका छौँ ।’

स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका श्रीलंकालाई एक दिन पहिले भारतले तीन अर्ब रूपैयाँभन्दा बढी मूल्यबराबरको मानवीय सहयोग उपलब्ध गराएको थियो । कोलम्बोस्थित भारतीय उच्च आयोगका अनुसार यस ढुवानीमा चामल, दूध पाउडर र आवश्यक औषधीहरू समावेश छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया