Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनको आणविक केन्द्रमा संयुक्त राष्ट्रसंघका अधिकारी

युक्रेनको आणविक केन्द्रमा संयुक्त राष्ट्रसंघका अधिकारी


युक्रेन । युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा संयुक्त राष्ट्रसंघको निरीक्षण टोली बिहीबार त्यहाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ प्रतिनिधिमण्डलको यो भ्रमण युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टभित्र पस्न महिनौं लामो वार्तापछि भएको हो । सुविधासम्पन्न गाडीमा आइपुगेका अधिकारीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गरेका छन् ।

विशेषज्ञहरू कम्प्लेक्सतर्फ अघि बढ्दै गर्दा रुस र युक्रेन दुवैले उक्त क्षेत्रमा गोलाबारी गरेको र भ्रमणलाई बिथोल्न खोजेको एक अर्कामाथि आरोप लगाएका थिए । भारी गोलाबारीले टोलीको प्लान्टतर्फको यात्रामा ढिलाइ भएको बताइएको छ ।

युक्रेनको राज्य आणविक ऊर्जा कम्पनी एनरगोएटमले रुसी मोर्टार र गोलाबारीका कारण आपतकालीन सुरक्षा प्रणालीद्वारा यसको एक रिएक्टर बन्द भएको र आन्तरिक आवश्यकताका लागि प्रयोग गरिएको वैकल्पिक विद्युत आपूर्ति लाइनमा क्षति पुगेको बताएको छ । एनरगोएटमका अनुसार प्लान्टको एउटा रिएक्टर ले काम गरिरहेको थिएन र डिजेल जेनेरेटरमार्फत् प्लान्टलाई सञ्चालन गरिएको थियो ।
‘आज (बिहीबार) बिहानदेखि केही समयअघिसम्म सैन्य गतिविधि बढेको छ’, यात्राका क्रममा ग्रोसीले भने, ‘युक्रेनी सेनाले ब्रिफिङ गरेपछि टोलीले जोखिमका बावजुद यात्रालाई निरन्तरता दिएको ‘फाइदा र बेफाइदा’को मूल्यांकन गर्दै प्लान्टसम्म आइपुगेको छ ।’

ग्रोसीले व्यक्तिगत रूपमा युक्रेनी अधिकारीहरूसँग टोलीको मार्गलाई अनुमति दिनको लागि सम्पर्क गर्दै प्लान्टसम्म पुगेको बताउँदै युक्रेनी र रूसी आक्रमणबीचको तथाकथित ‘ग्रे जोन’मा अत्यधिक जोखिम भएको आणविक केन्द्रबाट जानकारी जापोरिजझियास्थित दिएका छन् ।

यसैबीच रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभले मस्कोले टोलीबाट ‘निष्पक्षता’को अपेक्षा गरेको बताएका छन् । उनले भने, ‘हामी प्लान्ट सुरक्षित छ कि छैन, यसले सुरक्षित रूपमा काम गर्दछ र मिसनले त्यहाँ आफ्ना सबै योजनाहरू पूरा गर्दछ भनेर सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अपनाइरहेका छौँ ।’

जापोरिजिया प्लान्ट रूसी सेनाले कब्जा गर्दै आएको छ तर युक्रेनी इन्जिनियरहरूले छ महिना लामो युद्धको सुरुवाती दिनदेखि नै सञ्चालन गर्दै आएका छन् । युक्रेनले रूसले उक्त प्लान्टलाई ढालको रुपमा प्रयोग गरिरहेको, त्यहाँ हतियार भण्डारण गरेको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ भने मस्कोले युक्रेनले उक्त क्षेत्रमा लापरबाहीपूर्वक गोलाबारी गरेको आरोप लगाएको छ । रासस/एपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया