Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारओपेकद्वारा कच्चा तेल उत्पादन कटौतीलाई निरन्तरता

ओपेकद्वारा कच्चा तेल उत्पादन कटौतीलाई निरन्तरता


लण्डन । पेट्रोलियम निर्यातक देशहरुको संगठन (ओपेक)ले आइतबार तेल उत्पादन कटौतीलाई निरन्तरता दिने निर्णय गरेको छ । रुसी कच्चा तेल निर्यातमा पश्चिमा देशको प्रतिबन्ध लागू भएको केही घण्टापछि ओपेकले यस्तो निर्णय गरेको हो ।

ओपेक र रुससहितको अन्य मुख्य तेल उत्पादकहरुले प्रतिदिन २० लाख ब्यारेल तेल आपूर्ति कडाइलाई निरन्तरता दिने बताएका हुन् । गत अक्टोबरमा बनाइएको उक्त नीति गत महिनादेखि सुरु भएको थियो भने यो सन् २०२३ को अन्तिमसम्म चल्ने बताइएको छ । एक वक्तव्यमा ओपेकले आइतबारको बैठक भिडिओ कन्फरेन्समार्फत भएको र यसले अक्टोबरकै निर्णयमा सहमति भएको बताएको छ । बजारमा नयाँ परिस्थिति विकास भए सोहीअनुकूल निर्णय गर्न तयार रहेको पनि ओपेकले जनाएको छ ।

अक्टोबरमा गरिएको कटौतीलाई महामारी सुरु भएयताकै ठूलो मानिएको छ । यसको अमेरिकाले विरोध गरेको थियो । बाइडेन प्रशासनले यसलाई अदूरदर्शी रहेको बताउँदै न्यून र मध्य आय भएका देशलाई मार पार्ने टिप्पणी गर्दै आएको छ । त्यसयता तेलको मूल्य भने घटिरहेको छ ।

तर अबका दिनमा बजारमा उतारचढाव आउन सक्नेछ । युरोपले रुसले समुद्री मार्गबाट पठाएको तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि लागू हुने हुँदा थप अनिश्चितता छाउन सक्नेछ । जी७ देशहरु, युरोपेली संघ र अस्ट्रेलियाले शुक्रबार मात्रै रुसी तेल प्रतिब्यारेल ६० डलरको मूल्य सीमा राखेका छन् । यो सोमबारबाट सुरु हुँदै छ ।

रुसले युक्रेनविरुद्ध गरिरहेको आक्रमणको विरोधमा पश्चिमा देशले प्रतिबन्ध लगाएका हुन् । रुसले तेल बेचेर युद्ध खर्च जोहो गरेको पश्चिमा देशको आरोप छ । रुसले भने मूल्य सीमा निर्धारण गरेका देशमा तेल आपूर्ति नै बन्द गर्ने चेतावनी दिइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया