Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदया फाउण्डेसनद्वारा अस्पतालहरुलाई चिकित्सा उपकरण प्रदान

दया फाउण्डेसनद्वारा अस्पतालहरुलाई चिकित्सा उपकरण प्रदान


काठमाडौं ।
दया फाउण्डेसनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पु-याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।

यस संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा हालसम्म छ थान हाई फ्लो नेशल क्यानुला, पाँच थान पाँँच लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै एक हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।

संस्थाले सहयोग गरेको अस्पतालहरु विशेषत न्यून आयवर्गकाहरुको उपचारको लागि लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड–१९ को उपचारमा टेवा पु¥याउने दया फाउण्डेसनका अध्यक्ष राजेश प्रधानले बताए । साथै निजी क्षेत्र पनि यस विषम परिस्थितिमा अगाडि आई समाज सेवामा अग्रसर हुनुपर्ने उनले बताए ।

संस्थाका पूर्वअध्यक्ष किपा माथेमाका अनुसार फाउन्डेसनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरु आयोजना गर्ने गरेको छ ।

यस फाउन्डेसनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउन्डेसनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्गसम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । दया फाउन्डेसन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा उनको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागि सन् २००९ मा स्थापित संस्था हो, जसको मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ ।

कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराएबापत टेकु अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउन्डेसनले ‘एक्सलेन्स अवार्ड’बाट सम्मानित गरिसकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया