Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्वास्थ्य शिविरमा दुई हजार बढीले लिए सेवा

स्वास्थ्य शिविरमा दुई हजार बढीले लिए सेवा


धनबहादुर जप्रेल
महेन्द्रनगर, माघ २१
भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘मेयर गाउँघर स्वास्थ्य शिविर’ कार्यक्रमबाट करिब दुई हजार बासिन्दाले स्वास्थ्य सेवा लिएका छन् । भीमदत्त नगरपालिकाको ४२ वर्ष प्रथम स्थापना दिवसको अवसरमा माघ २ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको उत्तरी क्षेत्र ब्रह्मदेव खल्लाबाट सुरु गरिएको शिविर नगरका विभिन्न वडाका १० स्थानमा सञ्चालन गरिएको हो । उक्त शिविरबाट करिब दुई हजार ४४ वासिन्दाले स्वास्थ्य सेवा लिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए । यसैगरी चार सय ३७ जनालाई प्रयोगशाला सेवा र एक सय ५४ जनालाई सुरक्षित मातृत्व परिवार नियोजन सेवा लिएको विष्टले बताए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले माघ २ गते खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा शिविर औपचारिकरूपमा उद्घाटन गरेका थिए । खल्लामा पहिलो दिन शिविरबाट एक सय दुई जनाले सेवा पाए । वडा नं. ९ को महाकाली आधारभूत विद्यालय तुमडानीमा दुई सय २१, बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालय मटैनामा दुई सय ७६, वडा नं. १० को युवा वर्ष माध्यमिक विद्यालय तिल्केनीमा तीन सय १० र वडा नं. १ जेसिस माध्यमिक विद्यालय राजीपुरमा एक सय ८५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

भीनपा ५ स्थित कालिका आधारभूत विद्यालयमा शिविरबाट दुई सय एक, भीनपा ७ बालजागृति आधारभूत विद्यालय तीन सय दुई, भीनपा १२ ऐरी वीपी आधारभूत विद्यालय एक सय १६, भीनपा १३ बैजनाथ विद्या निकेतन एक सय ५५ र भीनपा १९ बागफाँटाको पञ्चकृत माध्यमिक विद्यालयमा एक सय ७६ स्थानीयले सेवा लिए । शिविर स्वास्थ्य जाँच गरिएका स्थानीयलाई औषधिसमेत वितरण गरिएको छ । शिविरमा स्वास्थ्य जाँच, परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, मातृ शिशु, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणलगायतका सेवाहरू प्रदान गरिएका थिए ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले संवैधानिक व्यवस्थाअनुसार नगरका बासिन्दाको स्वास्थ्य अधिकार ग्यारेन्टीका लागि शिविर सञ्चालन गरिएको बताए । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाइ उप शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले शिविरमा चिकित्सकहरूल स्वास्थ्य जाँचमा सहयोग गरेको बताए ।

महाकाली अस्पतालका चिकित्सक धिरज जोशी र गोविन्द रोकायालगायतले शिविरमा सहयोग गरेका थिए । स्वास्थ्य तथा सरसफाइ उपशाखाका अनुसार माघ ४ गते भीनपा ९ को तुमडानी, ५ गते भीनपा ९ कै मटेना, ९ गते तिल्केनी, १० गते राजीपुर, ११ गते ऐठपुर, १४ गते हल्दुखाल, १५ गते ओदाली, १६ गते पिपरैया र १७ गते बागफाँटामा मेयर गाउँघर स्वासथ्य सेवा शिविर कार्यक्रम सञ्चालन गरिएको थियो । भीमदत्त नगरपालिकाले पहिलो पटक माघ ७ गते स्थापना दिवस मनाएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया