Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनक्कली मदिरा उत्पादन गरी बिक्री गर्ने गिरोह पक्राउ

नक्कली मदिरा उत्पादन गरी बिक्री गर्ने गिरोह पक्राउ


काठमाडौं । प्रहरीले विभिन्न ब्रान्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर बिक्रीवितरण गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली रक्सी बनाएर बिक्रीवितरण गर्दै आएका पाँचलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले नक्कली रक्सी उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको पाइएको छ । उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्रान्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर नक्कली रक्सी बिक्री गर्नेगरेको थिए । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भई काठमाडौं बस्ने २४ वर्षका हरि ओली, सोही जिल्लाको भीमेश्वर घर भई भक्तपुर बस्ने भगवान् बस्नेत, सोही जिल्ला घर भई काठमाडौंको महाबौद्ध बस्ने विशाल ओली, रामेछाप घर भई काठमाडौंको मूलपानी बस्ने मनोज खत्री र सोही जिल्ला घर भई काठमाडौंको ठमेल बस्ने गोपी श्रेष्ठ रहेका छन् ।

काठमाडौंको कोटेश्वरमा विभिन ब्रान्डको नाममा नक्कली रक्सी बनार्ई बिक्रीवितरण हुनेगरेको सूचनाको आधारमा भदौ ७ गते साँझ खोजतलासमा निस्किएको प्रहरी टोलीले घटनामा संलग्न हरि ओलीलाई पक्राउ गरेको थियो । उनको कोठा खानतलासी गर्दा महँगो ब्रान्डका चार कार्टुन सिलप्याक मदिरा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनीसँगको सोधपुछका क्रममा उक्त मदिरा उत्पादन, भण्डारण, बिक्रीवितरण गर्ने कार्यमा अन्य केही व्यक्ति पनि संलग्न भएको पाइएपछि थप तीनलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूको बयानका आधारमा प्रहरीले भक्तपुरको चाँगुनारायण–२ दुवाकोटबाट उत्पादनकर्ता भगवान् बस्नेतलाई पनि पक्राउ गरेको छ । बस्नेत त्यहाँ नक्कली रक्सी उत्पादन कार्यमा खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस्नेतको फ्याक्ट्रीबाट सिलप्याक गरिएको सयौँ बोतल नक्कली मदिरासहित खाली बोतल, बिर्काे, आन्तरिक राजस्व विभागबाट जारी भएको स्टिकर तथा मदिरामा मिसानउन प्रयोग गर्ने केमिकल, घोल्न प्रयोग गरिने बाल्टी तथा अन्य भाडावर्तन समेत बरामद गरेको छ । सस्तो खालका मदिरा खरिद गरी त्यसमा भएको आन्तरिक राजस्व कार्यालयको स्टिकर उप्काएर महँगो मूल्य पर्ने ब्रान्डेड मदिराका बोतलमा टाँस गरी नक्कली मदिरा हालेर सिलप्याक गरी बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । नक्कली मदिरा बनाउँदा प्रयोग गर्ने केमिकलको बारेमा अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया