Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा अझै सुरु हुन सकेन मतगणना

दोलखामा अझै सुरु हुन सकेन मतगणना

मतगणना गर्न माग गर्दै आन्दोलन


दोलखा । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको चार दिन वितिसक्दा पनि दोलखामा मतगणना सुरु हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको र सत्ता गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मत हालेको आरोप लगाउँदै नेकपा एमालेका उम्मेदवारले उजुरी दिएपछि मतगणना हुन नसकेको हो ।

मतदान भएको चार दिन बितिसक्दा पनि मतगणना सुरु नहुँदा जिल्लाभरका मतदातामा अन्योलता छाएको छ । मतगणनाको माग गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरू धर्नामा बसेका छन् भने कार्यकर्तालहरूले विभिन्न प्रकारका आन्दोलन थालेका छन् । बुधबार दिउँसो गठबन्धनबाट उम्मेदवार बनेका प्रतिनिधिसभाका गंगा कार्की, प्रदेशसभा क्षेत्र नम्बर १ का कुन्दनराज काफ्ले र २ का बर्मा लामा धर्नामा बसेका हुन् । मतगणनास्थल तोकिएको चरीकोटको गौरीशंकर क्याम्पसअगाडि उनीहरूले धर्ना दिएका हुन् । यस्तै गठबन्धन निकट तरुण तथा विद्यार्थीहरूले मतगणनाको माग गर्दै सोमबारदेखि नै आन्दोलन गर्दै आइरहेका छन् । बुधबार पनि उनीहरूले आफ्नो आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । सदरमुकाम चरीकोटमा बुधबार दिँउसो ‘बाइक ¥याली’ गरेको उनीहरूको साँझ सिट्ठी तथा राँके जुलुस निकालेका थिए । प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीले जिल्लाका सबै मतपेटिका सदरमुकाम भित्रिसके पनि मतगणना नभएपछि धर्ना थालिएको बताए ।

दोलखाका सहायक निर्वाचन अधिकृत शिव पोखरेलले उजुरीमाथि छानबिन भइरहेकाले निर्वाचन आयोगले मतगणना नगर्न भनेकोले मतगणना हुन नसकेको बताए । उजुरीमाथि छानबिन गर्न आयोगले बुधबार मात्र सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको तीन सदस्यीय टोली दोलखा पठाएको छ । एमालेले भने केही मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ । बुधबार बिहानदेखि नै निर्वाचन आयोगको टोली दोलखा आएर छलफल गरिरहेको छ तर मतगणना सुरु गर्नेसम्बन्धी कुनै निर्णय हुन सकेको छैन । दोलखामा एक प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदानकै दिन जिल्लाका सबै मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका ल्याएर राखेको छ । नेकपा एमालेले दोलखाका पाँचवटा मतदान केन्द्रमा स्वच्छ प्रतिस्पर्धा नभएको भन्दै आइतबार नै उजुरी गरेको थियो । लोकतान्त्रिक वाम गठबन्धन दलले तत्काल मतगणना सुरु गर्न आयोगलाई दबाब दिइरहेको छ भने नेकपा एमालेले भने मतगणना सुरु नगर्न दबाब दिइरहेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया