Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी त्रिशूलीमा अलप

इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी त्रिशूलीमा अलप


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंक हेटौंडा शाखाका डेपुटी म्यानेजर निराजन देवकोटा त्रिशूली किनार धादिङको घाटवेँशीनजिकै सडकछेउमा मोटरसाइकल राखेर अलप भएपछि घटना थप रहस्यमय बन्दै गएको छ । उनी केन्द्रीय कार्यालयमा छलफलका लागि ‘लोन अफिसर’ राजीव न्यौपानेका साथ हेटौंडाबाट काठमाडौं आएका थिए । बल्खु पुगेपछि न्यौपानेलाई तिमी अफिस जाँदै गर म आउँछु भनेर केन्द्रीय कार्यालयतिर पठाएर आफू मोटरसाइकल लिएर धादिङतर्फ लागेका थिए ।

उनी अफिसको केन्द्रीय कार्यालयतिर नगई धादिङको घाटवेँशीमा पुगी सडकछेउमा मोटरसाइकल रोकेर त्यतैतिर टहलिँदा टहलिँदै अलप भए । उनी असोज १५ गते सोमबार बैंकको केन्द्रीय कार्यालय जानको लागि हेटौंडाबाट काठमाडौं हिँडेका थिए र बीचबाटोमा एक जना ग्राहकले भेटेका थिए । भेटमा ती ग्राहकले आफ्नो काम छिटो गरिदिनुपर्ने र काम नहुने हो भने आफूले दिएको सामान फिर्ता हुनुपर्ने कुरा राखेर चर्काचर्की गरेको स्रोतको दाबी छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुनुअघि देवकोटा मेगा बैंकको हेटौंडा शाखाका प्रमुख थिए । बैंकका चल्तापुर्ता सञ्चालक गोपाल खनालसँगको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नेगरेका थिए । समान विचार भएका कारणले पनि उनीहरूबीचको व्यावसायिक मित्रता र विश्वास कसिलो बनेको थियो । इन्भेष्टमेन्ट बैंकसँग मर्ज भएपछि उनलाई शाखा प्रबन्धक बनाइएन र शाखाको उपप्रमुख बनाएर राखियो । बैंकमा जागिर खाएपछि छोटो समयमा आफ्नो पारिवारिक उन्नति गरेका देवकोटाले हेटौंडामा होटल पनि खोलेको बताइन्छ ।

प्रमुखको जिम्मेवारी खोसेर अर्कैलाई दिएपछि उनले चाहेजस्तो गरी कर्जा प्रवाह हुन सकेन र पहिले प्रवाह गरेको कर्जा असुलीमा पनि कडाइ हुन थाल्यो । त्यसपछि उनमा निर्भर भएका ग्राहकहरूमाथि छटपटी हुन थाल्यो र आफ्ना काम गरिदिन दबाब बढ्न थाल्यो । उनले त्यो दबाबअनुसार काम गर्न सकेनन् । दबाब थेग्न सकेनन् र बैंक व्यवस्थापनलाई राजीनामा गर्ने निर्णय सुनाए । बैंक व्यवस्थापनले उनलाई राजीनामा नर्गन सुझाव दियो र उनको पालामा मेगा बैंकबाट प्रवाह भएका केही शंकास्पद कर्जाहरू असुली गर्न निर्देशन दियो । उनले त्यो काम पनि पूरा गर्न सकेनन् । त्यही दबाबमा रहेका देवकोटा हेटौंडामा १४ पानाको ‘सुसाइट नोट’ लेखेर काठमाडौं हुँदै धादिङ पुगेर त्रिशूलीको किनारामा अलप भएका हुन् । उनी अझै त्यतै कतै लुकेर बसेका छन् कि ? त्रिशूलीमा स्वैच्छिक जलसमाधी लिएका हुन् ? त्यो कतैबाट पनि पुष्टि हुन सकेको छैन । तर, उनी अलप भएपछि गरिएको खोजबिनमा उनका आफन्तहरूका नाममा छोटो समयमा अस्वाभाविकरूपमा आर्थिक कारोबार हुनेगरेको देखिएको छ । त्यसले उनी अलप हुनुलाई झन् रहस्यमय बनाउँदै गएको छ ।

घटना यस्तो थियो
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका हेटौंडा शाखामा कार्यरत निराजन देवकोटामाथि वित्तीय अनुशासन कायम गर्न नसकेको आरोप लागेको थियो । उनले प्रवाह गरेका अधिकांश कर्जामा कैफियत देखिएको, कर्जाहरूमा समस्या देखिएको वित्तीय अनुशासन कायम हुन नसकेको देखिएपछि बैंकको ‘हेड अफिस’ले उनलाई केन्द्रमा बोलाएको थियो । सोपश्चात् उनी लोन अफिसर राजीव न्यौपानेलाई साथमा लिएर काठमाडौं आएका थिए ।

देवकोटा काठमाडौं आउनुको प्रमुख कारण उनीमाथि लागेको वित्तीय अनुशासनको आरोप थियो । उक्त आरोप पछिका एक जना व्यक्ति थिए प्रेमकुमार घिमिरे । स्रोतका अनुसार निर्माण व्यवसायी घिमिरे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ‘खराब ऋणी’ हुन् । यसअघि उनी मेगा बैंकका ऋणी थिए । तर, मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएपछि घिमिरेको ऋण स्वतः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रूपान्तरण भयो । उनै घिमिरेले यही असोज १२ गते बैंकको हेटौंडा शाखालाई निराजन देवकोटालाई समेत जोडेर निवेदन दिएका थिए ।

घिमिरेले लेखेको पत्रमा देवकाटामाथि ठूलो परिमाणमा वित्तीय अपचलन गरेको आरोप लगाइएको थियो । पत्रमा भनिएको थियो, ‘खराब ऋणी’लाई ऋण मिलाउने नाममा दुई पटक गरेर १३ लाख रूपैयाँ लिएर पनि ‘धोका दिएको’ भन्ने तथ्य खुलाइएको थियो । यसैगरी निराजनको प्रभु बैंकमा रहेको खातामा दिलबहादुर योन्जनबाट १० लाख रूपैयाँ बुझाएको दाबी पनि घिमिरेले पत्रमार्फत गरेका थिए । ‘घर बनाउँदा गिट्टी बालुवा लिएर घर सम्पन्न गरेर पैसा पनि नदिएर अहिले आएर हामीसँग पैसा तथा सामान लिएको छैन भनी हामीलाई नै उल्टो गाली गलौच गर्ने, धम्की दिनेसमेत गर्नेगरेका छन्’, पत्रमा भनिएको थियो । घिमिरेको निवेदनमा भनिएको थियो, ‘देवकोटाको खातामा सो रकम आएको छ कि छैन भनी निज निराजन देवकोटाको बैंक स्टेटमेन्ट चेकजाँच गरी मसँग लिएको सामानको समेत रकम दिलाई भराइपाऊँ भनी निवेदन गर्न आएको छु ।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको हाल हेटौडामा एउटा मात्र शाखा सञ्चालनमा रहेको छ । मर्जरअघि भने इन्टेष्मेन्टको एउटा र मेगाको दुईवटा शाखा सञ्चालनमा थिए, जुन मर्जरपछि गाभिएर एक भएको थियो । सोपश्चात् भने तत्काल मेगाको हेटौंडा शाखामा प्रबन्धकका रूपमा रहेका देवकोटाको एक तह घटुवा भएको थियो । उनी सहायकप्रमुख भएका थिए । एक तह घटुवा भएपछि उक्त शाखाको निराजनको निर्णयअनुसार काम नहुने भयो, निर्णयकर्ता अर्कै व्यक्ति भए, त्यसपछि भने क्रमशः उक्त शाखामा देवकाटाले गरेका काला कर्तुतहरू खुल्न थाले । देवकोटा शाखा प्रमुख हुँदा घिमिरेको कन्स्ट्रक्सन कम्पनीलाई व्यापार विस्तारको लागि भन्दै ऋण दिँदैं सहजीकरण गरिदिएका थिए । तर, जब उनी उक्त शाखामा ‘सेकेन्ड म्यान’ भए उक्त शाखाका शाखाप्रमुखले घिमिरे कालोसूचीमा परेको ऋणी रहेको भन्दै घिमिरेको कन्स्ट्रक्सनको मेसिनरी र गाडी सबै तानिदिएका थिए ।

सोपश्चात् देवकोटा र घिमिरेको सम्बन्धमा पनि दरार आयो । घिमिरे देवकोटाविरुद्ध बैंकमा उजुरी दिए । त्यसअघि हुन्डाइको डिलर लिएको प्रकृति इन्टरप्राइजेजको केस पनि बैंकमा पुगेको थियो, जसमा देवकोटा वित्तीय अनुशासनभन्दा बाहिर गएको पाइएको छ । विभिन्न कागजपत्रहरूमा देखिएअनुसार इन्टरप्राइजेजका सञ्चालक सुवेदी थरकालाई देवकोटाले ऋण लिन प्रेरित गरेका थिए । उनको नाममा बैंकले ४० लाख रूपैयाँ ऋण दिएको थियो । तर, उक्त ४० लाख ऋणीको हातमा पुगेन । सुवेदीले लिएको ४० लाख रूपैयाँ नपाएको भन्दै बैंकमा उजुरी गरेका थिए । यसबाहेक मेगा बैंकको हेटौंडा शाखा कार्यालय रहेको घरका धनीसँग समेत देवकोटाको कारोबार थियो । त्यो समयमा देवकोटा ‘मिटरब्याजी’ रहेको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो ।

मेगा बैंकअघि देवकोटा प्रभु बैंकको शाखा प्रबन्धक हुँदा त्यहाँ भल्टको पैसा चलाएको भेटिएपछि प्रभु बैंकले उनलाई जिम्मेवारीबाट हटाएको थियो । सोपश्चात् देवकोटाको बैंकिङ यात्रा मेगातिर सोझिएको थियो । प्रभु बैकमा कार्यरत रहेको अवस्थामा पनि घिमिरेले धेरै नै बदमासीहरू गरेका थिए । त्यसैबेला उनले आफ्नो भाइ पर्ने सुजन देवकोटालाई बैंकबाट ऋण दिलाएको बैंक स्टेमेन्टमा देखिएको छ । त्यो ऋण तिर्न नसकेपछि प्रतीक सुवेदीलाई अरु ऋण लिन लगाएर भाइको ऋण भुक्तानी गरेको बैंक स्टेटमेन्टबाट खुलेको छ । उनका ‘क्लाइन्ट’मात्र होइनन्, उनकै कारोबार अपत्यारिलो देखिन्छ । मासिक ७० हजार तलब खाने देवकोटाको दैनिकरूपमा बैंकमा लाख रूपैयाँ हाराहारीको कारोबार गरेको देखिएको थियो । त्यसबाहेक उनकी श्रीमतीको नाममा एक करोड ४२ लाख रूपैयाँको कारोबार देखिँदा बहिनी ज्वाइँको अढाइ करोड रूपैयाँको कारोबार देखिएको छ । देवकोटा स्वयमको पनि डेढ करोडको कारोबार देखिएको छ ।

देवकोटाको आर्थिक हैसियत मेगा बैंकमा जोडिएपछि ह्वात्तै बढेको देखिएको छ । उनले मेगा बैंक गएको पछिल्लो तीन वर्षको अवधिमा कट्ठाको १५ लाख रूपैयाँका दरले १८ कट्ठा जग्गा किनेर उनले ‘फरेस्ट भ्यु’ होटल खोलेको देखिएको छ ।
यसरी आफ्नै कारणले देवकोटा चौतर्फीरूपमा घेराबन्दीमा परेका थिए । बैंकको हेड अफिसले उनीमाथि वित्तीय अनुशासनको विषयलाई लिएर छानबिन गरिरहेको थियो । हेडअफिसको सम्भावित कारबाहीबाट बच्नकै लागि देवकोटाले बैंकबाट राजीनामा थिए । तर, बैंकले उनको राजीनामा स्वीकृत गरेन ।

उनीमाथि छानबिन भइरहेकाले छानबिन नसकिएसम्म राजनीमा स्वीकृत नहुने जानकारी बैंकले दियो । त्यसपछि भने देवकोटा झनै तनावमा परेका थिए । त्यही तनावकोबीचमा हेड अफिसले बोलाएपछि हेटौंडाबाट काठमाडौं आएका थिए । तर, काठमाडौं आएका देवकोटा आफूसँगै आएका लोन अफिसर राजीव न्यौपानेलाई हेड अफिसमा पठाएर आफू पछि आउँछु भन्दै निस्किएका थिए । त्यसपछि भने उनी अहिलेसम्म फर्किएका छैनन् । त्रिशूलीमा हामफालेर आत्महत्या गरेको भनिएको देवकोटाको सास र आस अहिलेसम्म पनि रहस्यमय नै छ ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया