Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखराका होटलको स्वच्छता मूल्याङ्कन गरिँदै

पोखराका होटलको स्वच्छता मूल्याङ्कन गरिँदै


पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पोखरामा सञ्चालिन होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्याङ्कन गरी स्तरीकरण गर्ने तयारी गरेको छ । गत वर्ष लेकसाइडका छवटा रेस्टुरेन्ट र आठवटा होटलको मात्रै स्तरीकरण गरिएकोमा यस वर्ष सबै क्षेत्रमा गर्ने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले जानकारी दिए ।

बरालका अनुसार गत वर्ष लेकसाइडमा गरिएको स्वच्छता मूल्याङ्कनमा छवटा रेस्टुरेन्टले उत्तमको स्टिकर पाएका थिए भने आठ होटेलको अवस्था सन्तोषजनक रहेको पाइयो । त्यसपछि मूल्याङ्कन तथा स्तरीकरणको काम रोकिएको छ । होटल तथा रेस्टुरेन्टहरूले नै वास्ता नगर्दा काम अघि बढ्न नसकेको बरालको जिकिर छ । ‘हामीले काम अघि बढायौँ तर अपेक्षा गरेअनुुसार भएन,’ बरालले भने, ‘हामीले उनीहरूलाई तालिम पनि दियौँ । आउटपुट राम्रो थियो तर सहभागिता राम्रो भएन ।’

‘सहभागिता नै कम हुँदा चुनौती त छ । तर हामी निरन्तरता दिन्छौँ,’ उनले भने, ‘अघिल्लो वर्ष लेकसाइड क्षेत्रमा काम ग-यौँ । यस वर्ष बजार क्षेत्रको होटल रेस्टुरेन्टमा काम थाल्छौं ।’ वर्गीकरणका लागि सम्बन्धित होटल तथा रेस्टुरेन्ट नै अघि सर्नुपर्ने बरालको भनाइ छ । ‘हामीले आफैं वर्गीकरण गर्ने होइन । उनीहरूले नै वर्गीकरणका लागि निवेदन दिएपछि प्रक्रियाअघि बढ्ने हो’, उनले भने, ‘आगामी दिनमा निवेदन आधारमा अरू होटल तथा रेस्टुरेन्टको पनि वर्गीकरणमा जान्छौं ।’

कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरका अनुसार वर्गीकरणका लागि ५० प्रश्न सोधिन्छ । प्रश्नोत्तर आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य वर्गीकरण गरिन्छ । अति उत्तमको वर्गीकरणमा पर्न तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ । तर गत वर्ष पोखराका कुनै पनि होटल तथा रेस्टुरेन्ट अति उत्तम वर्गीकरणमा परेनन् । प्रश्नका साथमा खानाको गुणस्तर, खाना बनाउन प्रयोग गरिने तेललगायत सामग्री के–कस्तो प्रयोग छ भन्ने जाँच गरेर मूल्याङ्कन गरिन्छ । कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेस्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मूल्याङ्कन गरिने कुँवरको भनाइ थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य प्रयोगशाला स्थापना गरेपछि गण्डकीका ११ वटै जिल्लामा होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्याङ्कनको कामअघि बढाएको छ । ल्याब स्थापनापछि बजार अनुगमनसहित खाद्य सुरक्षामा सहज भएको निमित्त कार्यालय प्रमुख बरालले बताए ।

बरालका अनुसार पोखरामा रहेको रहेको कार्यालयले कास्की, स्याङ्जा र पर्वत जिल्लामा खाद्य गुणस्तर चेकजाँच गर्छ भने डिभिजन कार्यालय बाग्लुङले बाग्लुङसहित म्याग्दी र मुस्ताङ हेर्छ । यस्तै, डिभिजन कार्यालय तनहुँले तनहुँुसहित लमजुङ, गोरखा, मनाङ र नवलपुर जिल्ला हेर्ने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया