Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारमहानगरसङ्घीय सरकारलाई कामपाका प्रगतिशील कामबाट उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री

सङ्घीय सरकारलाई कामपाका प्रगतिशील कामबाट उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री


काठमाडौँ । काठमाडौँ महानगरको २९औँ दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताए ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताउँदै नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको उल्लेख गरे

उनले संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिकालगायत सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको बताए । उनले विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपानआदिले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको बताए ।

प्रधानमन्त्री दाहालले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले सङ्घीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताए । उनले पछिल्लो समय काठमाडौँ महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गरे ।

राजधानी सहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उनको भनाइ छ ।

२०५२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो । प्रधानमन्त्रीले  विकसित काठमाडौँ सहर निर्माणको साझा लक्ष्य हासिल गर्न महानगर दिवसले सबैलाई प्रेरणा देओस् भनी कामनासमेत गरे ।


क्याटेगोरी : समाचार, महानगर

तपाईको प्रतिक्रिया