Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशगन्धर्व समुदायको बस्तीमा मुख्यमन्त्री कार्की

गन्धर्व समुदायको बस्तीमा मुख्यमन्त्री कार्की


विराटनगर । मुख्यमन्त्रीलाई अकस्मात आफ्नै घरआगनमा पाउँदा झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व समुदायका नागरिक निकै खुसी भएका छन् । सो बस्तीमा गत सोमबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यही चैत १९ गते सोमबार राति आफ्ना नियमित कार्यक्रम सकेर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका–२ पुगेका थिए ।

गन्धर्व समुदायको बस्तीमा झमक्क साँझ परेका बेला सुरक्षाकर्मीका साथ मुख्यमन्त्री कार्कीलाई देखेर अचम्भित हुँदै हतारहतार स्वागत तथा सम्मानमा समुदाय जुटेको थियो । उनी गन्धर्व बस्तीको आँगन–आँगनमा घुम्दै राति ८ बजे शिव गन्धर्वको आँगनमा ओछ्याइएको म्याटमा पलेटी बाँधेर बसे ।

गन्धर्व बस्तीका महिला, पुरुष, वृद्धवृद्धालगायत बालबालिकाको भीड लाग्यो र उनीहरुले खाँदा लगाएर मुख्यमन्त्रीलाई सम्मान गरे । शिव गन्धर्व र उनकी पत्नीले खाना खान भान्छा कोठामा जान आग्रह गरेपछि मुख्यमन्त्री कार्कीलगायत उनीसँगै रहेका सबैले गएर खाना खाए ।

खानापछि मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरुसँग कुराकानी गर्न थाले । “मुख्यमन्त्री कार्कीले हाम्रा समस्या हामीसँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो”, स्थानीय नरमाया गन्धर्वले भनिन, “हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ । अहिले त हामीसँगसँगै खाना खाने मुख्यमन्त्रीलाई घरमै भेट्टाएका छौँ ।” सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा अत्यन्त खुसी लागेको उनले बताइन ।

मुख्यमन्त्री काकीलाई गन्धर्वहरुले समाजमा गाइनेको सङ्ज्ञा दिएर आफूहरुलाई हेप्ने गरेको गुनासो सुनाए । सो जातिको बस्तीको नजिकै आदर्श आधारभूत विद्यालय रहेको जनाउँदै उक्त विद्यालयलाई गन्धर्व जातिको पहिचान हुने गरी शिक्षा लागू गराइदिन, शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरी दिन मुख्यमन्त्री समक्ष स्थानीयवासीले माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सरकार खोज्दैँ जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्देश्यले यहाँका स्थानीयसँग समस्याको समाधानका लागि संवाद गर्न आएको बताए । स्थानीय शिव गन्धर्वले भन्नुभयो, “लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नुपर्दछ । मुख्यमन्त्रीले यसलाई चासोका साथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आशावादी छौँ ।” उनीहरूले लोपोन्मुख जातिको रूपमा गन्धर्वलाई सूचीकृत गर्न पनि माग गरे ।

मुख्यमन्त्री कार्कीले सामाजिक विभेद् अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीयवासी शिव गन्धर्वको घरमा सो दिन रातिको खाना र बास बसेर सन्देश प्रवाह गरेका छन् । उनले भनेका थिए, “अब मलाई कसैले अछुत भन्छ त, म त तपाईँहरूकोमा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाईँहामीले सहकार्य गर्दै आगाडि बढ्नुपर्छ ।”


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया