Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र कतारका अमिर शेख तामिम बिल हमाद अल थानीबीच बुधबार यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको बताए । उनले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिए । उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गरे ।

प्रधानमन्त्री प्रचण्डले दुई देशबीच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

‘लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’ नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए ।

नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताए ।

नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताए । नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।”

प्रधानमन्त्री दाहालले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचीमा नेपाललाई समावेश गर्न आग्रह गरे । उनले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गरेको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गरे ।

‘पोखरा र लुम्बिनीबाट पनि उडान सञ्चालन गरौँ’
द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् ।

नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समयको मागसँगै दुवै देशबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए ।

आप्रवासी श्रमिक द्विपक्षीय सम्बन्धका सूत्र
प्रधानमन्त्री दाहालले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरु पठाउनका लागि नेपालमा व्यावसायिक तालिम र सीपविकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे । उनले कतारमा कार्यरत करिब चार लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “नेपाल आफ्ना नागरिकका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्यालाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।”

आर्थिक विकास नेपालको प्राथमिकता
प्रधानमन्त्री दाहालले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै उनले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्था वा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गरे ।

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन प्रमको आग्रह
इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् । “आफ्नो शैक्षिक प्रयोगात्मक परीक्षाका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन”, प्रधानमन्त्री दाहालले भने, “म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।” पश्चिम एसियामा बिग्रँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले जतिसक्दो चाडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापना होस् भन्ने कामना गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया