Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा अलपत्र नागरिक ल्याउन चार्टर्ड उडान पुनः सुरु

विदेशमा अलपत्र नागरिक ल्याउन चार्टर्ड उडान पुनः सुरु


काठमाडौं, साउन १
सरकारले विदेशमा अलपत्र परेका नागरिकहरु ल्याउनको लागि उद्धार चार्टर्ड उडान पुनः सुरु गरेको छ । दुई दिन स्थगित गरेर बुधबारदेखि पुनः चार्टर्ड उडान सुरु गरेर विदेशमा अलपत्र परेका नागरिक ल्याउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । सरकारले जेठ ३२ देखि विदेशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउन थाले पनि असार २८ गते स्थगन गरेको थियो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले एक साताका लागि अर्थात् असार ३१ देखि साउन ६ गतेसम्म चार्टर्ड उडानमार्फत अलपत्र नागरिक ल्याउने निर्णयअनुरुप पर्यटन मन्त्रालयले उडान पुनः सुरु गरेको मन्त्रालयका प्रवक्ता रुद्र तामाङले बताए ।

चार्टर्ड उडानको लागि स्वदेशीका साथै विदेशी एयरलाइन्स अर्थात् यसअघि चार्टर्ड उडान गरिरहेका एयरलाइन्सहरु नै रहेको उनको भनाइ छ । मन्त्रालयले एक साताका लागि ४२ वटा चार्टर्ड उडान गरिने जनाएको छ । विभिन्न मुलुकमा अलपत्र परेका लागि ४२ वटा उडान तोकिएकोमा बुधबार नै १२ वटा उडान भएको छ । उद्धार र कार्गो गरेर सो उडान भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

बुधबार नेपाल एयरलाइन्स, सिल्क एयर, मलेसिया एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरलाइन्स र फ्लाई दुबईले उडान भरेका छन् । त्यसैगरी बिहीबार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नौ वटा उडान गर्नेछन् भने एक साताका लागि नेपाल एयरलाइन्सले २४ वटा र हिमालय एयरलाइन्सले १५ वटा उडान भर्नेछन् । यी दुई एयरलाइन्सका अलावा मालिन्दो एयरले ४ वटा, एयर अरेबिया र फ्लाई दुबईले क्रमशः २/२ वटा उडान गर्नेछन् । केन्द्रको निर्णयअनुसार मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब र कुवेतमा रहेका नेपालीलाई उद्धार गर्नका लागि उडान गरिनेछ ।

साउन ६ पछिको उडानको विषयमा भने केन्द्रबाट हालसम्म कुनै जानकारी नआएको मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयमा अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको बताइएको छ । अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने विषयमा भने केन्द्रले नै निर्णय लिने हुँदा अहिलेसम्म उडान सुचारु हुने विषयमा आफूहरु अन्यौलमा रहेको मन्त्रालयका एक अधिकारीको भनाइ छ । केन्द्रका अनुसार असार २८ गतेसम्म २५ वटा मुलुकमा अलपत्र परेका २७ हजार ५ सय ३२ जना तथा बुधबार मात्रै पाँच सय ९३ जनालाई चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

सरकारलाई साउन ६ पछि भने कि अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्ने वा चार्टर्ड उडानलाई नै नियमित गर्नुपर्ने दुईमध्ये एउटा निर्णय लिनुपर्ने बाध्यता छ । यदि सो निर्णय नलिएको खण्डमा भने विदेशमा अलपत्र परेका नागरिकहरु थप समस्यामा पर्ने निश्चित छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडान सुचारु नभएकै कारण वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानुपर्ने नागरिकहरु अहिले समस्यामा परेका छन् । सरकारले असार १५ गते विदामा आएका तथा भिसा र करार अवधि बाँकी रहेकाको हकमा कोभिड १९ परीक्षण र स्वास्थ्यसम्बन्धी सम्झौता (प्रोटोकल)को पालना गर्ने गरी वैदेशिक रोजगारीमा जानको लागि पुनः श्रम स्वीकृति दिने निर्णय गरे पनि अन्तर्राष्ट्रिय उडान सुचारु नहुँदा उनीहरु समस्यमा परेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया