Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


२० हजारलाई कोरोना
काठमाडौं, साउन १८
नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा छ हजार ९ सय ९३ नमूना परीक्षण गर्दा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौँमा पाँच/पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई/दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ७२.१ अर्थात् १४ हजार ४ सय ९२ जना कोरोनामुक्त भई ‘डिस्चार्ज’ भएको मन्त्रालयले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ को भोजपुर र सङ्खुवासभा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । कोरोना संक्रमित नहुनेको जिल्लाहरु पनि समयअनुसार थपघट हुँदै आएका छन् । सरकारी तथ्यांकअनुसार सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्नथालेको देखिएको छ ।

लकडाउनको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रतिको सङ्ख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमूना परीक्षण गर्दा २.८ प्रतिशत अर्थात् एक हजार ३४५ जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १ सय ७४ नमूना परीक्षण गर्दा दुई हजार ९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हालसम्म प्रदेश नं १ बाट ८ सय ५६, प्रदेश नं २ बाट तीन हजार १ सय ४९, वाग्मती प्रदेशबाट ५ सय ३२, गण्डकी प्रदेशबाट एक हजार २ सय ५६, प्रदेश नं ५ बाट तीन हजार ९ सय ७१, कर्णाली प्रदेशबाट एक हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट तीन हजार १० कोरोनालाई जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ५६ जनाले ज्यान गुमाएका छन् । पाँच हजार ३ सय ३८ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५ सय बढी सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन् ।

सरकारले पीसीआर परीक्षणको सङ्ख्या वृद्धि गरेपछि क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या पनि घटेको छ । अब क्वारेन्टिनमा ११ हजार ५ सय २३ रहेका छन् । प्रदेश नं १ मा एक हजार २ सय ५४, प्रदेश नं २ मा एक हजार ५ सय ७३, वाग्मती प्रदेशमा ८ सय ५२, गण्डकी प्रदेशमा दुई हजार ९ सय ५३, प्रदेश नं ५ मा एक हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ९ सय २२ क्वारेन्टाइनमा रहेका छन् ।

सरकारले समुदायमा कोरोना फैलिन नदिन विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दै आएको छ । निश्चित समय क्वारेन्टाइनमा बसेपछि स्वाबको नमूना परीक्षण गरेर नतिजा ‘नेगेटिभ’ आएमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्दै पठाउने गरेको छ । हालसम्म तीन लाख ८२ हजार ४ सय ९० नमूना आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार अहिलेसम्मकै सर्वाधिक १० हजार नमूना आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको थियो । कोभिड–१९ बाट हालसम्म विश्वभर एक करोड ७७ लाख ७१ हजार ३ सय ८ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये छ लाख ८३ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन् भने एक करोड ११ लाख ६७ हजार ८ सय ३९ कोरोनामुक्त भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया