Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनियाँ कामदार बढ्दै नेपालमा

चिनियाँ कामदार बढ्दै नेपालमा


काठमाडौं ।

सदैव नेपाली युवाहरु विदेश गइरहेको समाचार सुनिरहेको नेपाली समाजले विदेशी श्रमिक नेपाल आउने विषयमा भने कमै जानकारी पाएको पाइन्छ । तर नेपालमा पनि काम गर्नका लागि विदेशी श्रमिकहरु बढ्दो क्रममा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

सोही क्रममा चीनबाट नेपालमा काम गर्न आउने चिनियाँहरुको संख्या समेत बढेको पाइन्छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले हाइड्रो, विमानस्थल, सिमेन्ट उद्योगलगायतका क्षेत्रमा काम गर्नका लागि चिनियाँ कामदार नेपाल आउने गरेको बताएको छ । विभागका अनुसार विदेशी कामदार बढ्दो रहेकोमा चिनियाँ कामदारको संख्या समेत उल्लेखनीय रहेको बताएको छ ।

चिनियाँ नागरिहरु विमानस्थल, हाइड्रो, सिमेन्ट उद्योगहरुमा हाल पनि काम गरिरहेको पाउन सकिन्छ । विशेष गरी चिनियाँ लगानी तथा चिनियाँ ठेकदारले निर्माण जिम्मेवारी पाएको आयोजनामा उनीहरु काम गर्ने गरेका छन् । सोही क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जनामा हाल एक सय ८० जना चिनियाँ कामदारले नियमित काम गरिरहेका छन् । विमानस्थल प्रमुख विनेश मुनकर्मीले चिनियाँ कामदारहरु आउने क्रम अहिले निरन्तर जारी रहेको बताए ।

विभागका अनुसार पछिल्लो तीन आर्थिक वर्ष (२०७६ देखि ०७८) मा चार हजार पाँच सय ४२ जना चिनियाँ कामदार नेपालका विभिन्न आयोजनामा काम गर्नको लागि आएका छन् । जसमध्ये एक हजार पाँच सय १४ जना महिला तथा तीन हजार २८ जना पुरुष रहेका छन् । सो संख्यामध्ये एक हजार चार सय ४५ जनाले श्रम इजाजत नवीकरण गरेका हुन् भने तीन हजार ९७ जनाले भने नयाँ श्रम स्वीकृति लिएका हुन् ।

त्यसैगरी चिनियाँ मात्र नभई नेपालमा काम गर्नका लागि आउने कामदारहरु युरोप अमेरिका, अष्ट्रेलिया, अफ्रिकाका साथै एसियाका विभिन्न मुलुकका नागरिक छन् । उक्त अवधिमा १६ जना क्यानडाका, ७६ जना अष्ट्रेलियाका, १९ जना भुटानका, २४ जना ब्राजिलका गरी सयभन्दा बढी विदेशी नागरिकहरु नेपालमा काम गर्न आएको देखिन्छ । तर कोभिड १९ का कारण भने चीन लगायत अन्य मुलुकका कामदार नेपाल आउनसकेका छैनन् ।

नेपालमा काम गर्न आउने विदेशी कामदारमध्ये दक्ष व्यक्तिहरु अर्थात् प्राविधिज्ञ, चिकित्सक, पाइलट, इन्जिनियरलगायत रहेको पाइन्छ भने अदक्ष कामदार समेत आएका छन् । विभागका अनुसार अति आवश्यक कामदारबाहेक अन्य विदेशी नागरिकहरु काम गर्नका लागि नेपाल तत्काल आउने अवस्था नरहेको छ । यसैबीच भारतीय कामदारलाई भने नेपालमा श्रम स्वीकृति भने आवश्यक पर्दैन । सोही कारण नेपालमा ठूलो संख्यामा भारतीय कामदार रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया