Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह

नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह


काठमाडौं ।
सरकारले युवा उद्यमीहरुलाई नयाँ अवसरहरुको सदुपयोग गर्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको भन्दै उक्त योजनाबाट भरपूर फाइदा उठाउन आग्रह गरे । राजधानीमा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा मन्त्री गुरुङले कोभिड—१९ ले शिथिल भएको अर्थतन्त्र उकास्न र देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिए ।

आर्थिक समृद्धिका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवसर रहेको भन्दै युवाहरुमा सोच, संकल्प, निरन्तरता र व्यावसायिक रणनीति हुनुपर्ने बताइन् ।

उद्यमीमैत्री वातावरणका लागि सरकारले नेतृत्व लिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले कम्फर्ट जोनमा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे ।

कार्यक्रममा विशाल फाउण्डेसनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफ्नो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निःशुल्क तालिम र सहुलियतकर्जा प्रदान गर्ने बताए । सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमतिअनुसार वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनले संयुक्त रुपमा सञ्चालन गरेको नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको प्रवर्द्धनका लागि युनिग्लोब कलेजमा कार्यक्रम आयोजना गरिएको थियो ।

२०७७ माघ महिनाभर उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवर्द्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइटमार्फत नवप्रवर्तन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिनेछ । नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत वाग्मती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक, विशाल फाउण्डेसन र युनिग्लोब कलेजले आयोजना गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया