Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमनीचेन्जरका नाममा अवैध भारु र डलरको कारोबार बढ्दै

मनीचेन्जरका नाममा अवैध भारु र डलरको कारोबार बढ्दै


विराटनगर ।
भारतीय रूपैयाँ र नेपाली रूपैयाँको कारोबारमा संलग्न व्यवसायीहरूले विभिन्न मनीचेन्जरका नामबाट अवैद्य कारोबार सञ्चालन गर्न थालिएको पाइएको छ । पछिल्लो चरणमा विराटनगरमा दिनप्रतिदिन अवैध कारोबारले तीव्रता पाइरहेको छ । केही वर्षअगाडि विराटनगरका हुण्डी व्यवसायी अनुपचन्द्र सेठिया पक्राउ परेपछि केही वर्षयता मथर भएको हुण्डी व्यापारको बदलामा पछिल्लो समय व्यवसायीले मनीचेन्जरका नाममा अवैध कारोबार सञ्चालन गर्न थालेका हुन् । नेपाल राष्ट्र बैंकले पछिल्लो चरण आफ्नो अनुगमनलाई तीव्रता दिए पनि उपलब्धि भने शून्य रहेको राष्ट्र बैंक उच्चस्रोतले जानकारी दिएको छ ।

अहिले विराटनगरमा खुलेका मनीचेन्जरहरूले खुलेआम अवैध भारुको कारोबार भइरहेको छ । नेपाल सरकारले भारु पाँच सय र दुई हजारका नोटहरूको कारोबारलाई अवैध ठहर गरे पनि राष्ट्र बैंकबाट नै इजाजत लिएका मनीचेन्जरहरूले खुलेयाम ठूला भारु नोटको कारोबारलाई तीव्रता दिएका छन् । त्यसकारण भारतीय रूपैयाँ एक सयको बिक्रीदर सरकारले एक सय साठी रूपैया १५ पैसा तोकेको भए पनि अवैधरूपमा कारोबार गर्ने मनीचेन्जरहरूले एक सय भारतीय रूपैयाँबराबर एक सय ७५ नेपाली रूपैयाँसम्ममा कारोबार गरिरहेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकको नियमअनुसार मनीचेन्जरको कारोबार गर्न आधिकारिक अधिकार पाएका मनीचेन्जरहरूले निश्चित रकम कमिसनबापत पाउने गर्दछन् । तर, विराटनगर महानगरपालिकाभित्र खुलेका मनीचेन्जरहरूले अवैध भारु र वैदेशिक डलर समेतको कारोबार गर्न थालेका छन् । निश्चित कमिसनभन्दा अवैद्य भारुको कारोबारबाट मुनाफा राम्रो हुनेहुँदा यहाँ रहेका अधिकांश मनीचेन्जरहरू अवैद्य भारुको कारोबारमा संलग्न रहेको बताइएको छ ।

मनीचेन्जरबाट आधिकारिक बिक्रेताको अनुमतिप्राप्त गरी होडिङबोर्ड राख्ने तर कारोबार अवैद्य भारु तथा डलरको हुन थालेपछि मनीचेन्जर सञ्चालनको अनुमति दिने सरोकारवाला निकायबाट सक्रियता बढाउन जरुरी भइसकेको विज्ञहरूको भनाइ छ । अहिले विराटनगरमा भारु मोरुको कारोबार गर्नको लागि करिब ५० वटा मनीचेन्जरलाई आधिकारिता राष्ट्र बैंकले दिएको छ । यसमध्ये केहि मनीचेन्जर अवैद्य भारु तथा डलरको कारोबार र वैदेशिक मुद्राको अपचलन मुद्दामा खारेजी भएको र खारेजीमा परेकाहरूबाटै अवैध धन्धा हुनेगरेको समाचारस्रोतले दाबी गरेको छ ।

भारु र मोरुको खरिदबिक्रीमा राष्ट्र बैंकको रोक्कापछि विभिन्न मनीट्रान्सफरको ब्यानर लगाएर वैदेशिक मुद्रादेखि अवैद्य भारुको कारोबार विराटनगरमा फस्टाउन पुगेको हो । मनीट्रान्सफर र मनीचेन्जरको कारोबारमा संलग्न व्यवसायी न्यूनरूपमा भए पनि कुनै इजाजतै नलिई सामान्य व्यापार गर्दै आएको व्यापारी पनि अहिले अवैद्य भारु तथा वैदेशिक मुद्राको कारोबारमा संलग्न रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया