Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीलाई आग्रह

नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीलाई आग्रह


काठमाडौं ।
नेपालमा शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरण बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न र विदेशमा रहेका नेपाली र विदेशीहरुलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ का अवसरमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै सो आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा जनाइएको छ । उचित वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैँले समेत नेपालमै लगानी गर्न विश्वरभरका गैरआवासीय नेपालीलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पु-याउनसमेत आग्रह गरेका थिए । ‘नेपालमा मजदुर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन भन्ने सन्देश आफू रहेको देशका लगानीकर्तालाई पु-याइ दिनुहोस्’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हकअधिकार समान ढङ्गले पाउनेसमेत बताएका थिए । ‘तपाईंहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाली जनता देशभित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्ने दाबीसमेत गरे । ‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेमभाव र सहयोगी भाव राख्छ तथा नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया