Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिडको तेस्रो लहरलाई बेवास्ता गर्दै करिब ३ लाख युवा विदेश जाने तयारीमा

कोभिडको तेस्रो लहरलाई बेवास्ता गर्दै करिब ३ लाख युवा विदेश जाने तयारीमा

अदक्ष युवा धेरै


काठमाडौं । कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोनलाई बेवास्ता गर्दै युवाहरु रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन् । कोरोनाका पछिल्लो भेरिएन्ट ओमिक्रोन बढ्दै जाँदा पनि युवाहरु विदेश जाने भन्दै दैनिक सयौंको संख्यामा श्रम स्वीकृति लिन आउने गरेको वैदेशिक रोजगार विभागका अधिकारीहरुले बताएका छन् । चालू आर्थिक वर्षको अर्धवार्षिक समयमा दुई लाख ९८ हजार एक सय सात जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । जसमध्ये दुई लाख ७९ हजार २६ जना पुरुष र १९ हजार ८१ जना महिला रहेको विभागले जनाएको छ ।

अर्धवार्षिक अवधिमा मासिक रुपमा श्रम स्वीकृति लिने युवाहरुको संख्या थपघट भए पनि समग्रमा भने विदेश जाने तयारीमा रहेका युवाहरुको संख्या बढेको उनीहरुले बताए । खोपको सहज उपलब्धता र खोप अनिवार्य गरी विदेशी मुलुकहरुले नेपाली युवाहरुको माग गरेसँगै युवाहरुले श्रम स्वीकृति लिएका हुन् । विशेष गरी नेपाली युवाहरु मलेसिया, खाडी मुलुक, दक्षिण कोरिया, जापानलगायतका मुलुकमा जाने तयारीमा रहेका छन् । यस्तै पछिल्लो समय इजरायल समेत गएको पाइन्छ ।

अर्धवार्षिक अवधिमा सबैभन्दा बढी मंसिरमा र सबैभन्दा कम साउनमा श्रम स्वीकृति प्रदान गरिएको छ । मंसिरमा ७४ हजार तीन सय ५४ जना (६९४४३ पुरुष/४९११ महिला) र साउनमा २५ हजार चार सय २८ जना (२४२९० पुरुष/११३८ महिला) ले विदेश जानको लागि श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै, पुसमा ६६ हजार छ सय २५ जना (६२२७३ पुरुष ४३५२ महिला), कार्तिकमा ५४ हजार नौ सय १८ जना (५०६२३ पुरुष/४२९५ महिला), असोजमा ३९ हजार छ सय ७१ जना (३७२०८ पुरुष/२४६३ महिला) र भदौमा ३७ हजार एक सय ११ जना (३५१८९ पुरुष/१९२२ महिला) युवाले विदेश जानको लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति प्रदान गरिएकोमध्ये ७० प्रतिशतभन्दा बढी संस्थागत श्रम स्वीकृति रहेको विभागले जनाएको छ । उनीहरु मेनपावरमार्फत संस्थागत श्रम स्वीकृति लिएर विदेश उडन तयार भएका हुन् । व्यक्तिगत प्रयासमा पनि मलेसिया र खाडी मुलुकहरुमा जाने युवाहरुको संख्या बढे पनि ठूलो संख्यामा भने मेनपावरमा भर पर्ने गरेको विभागको भनाइ छ । यसैबीच कोरोनापछिको हालको अवस्थामा कामदारहरुको माग आउने क्रमले भने तीव्रता पाउनसकेको छैन ।

श्रम स्वीकृति लिने युवाहरुमा पूर्ण दक्ष, व्यावसायिक, सीपयुक्त, अर्धदक्ष र अदक्ष रहने गरेका छन् । जसमध्ये पूर्ण दक्ष, व्यावसायिक, सीपयुक्तको संख्या करिब १० प्रतिशतमा सीमित रहेको छ भने बाँकी अर्धदक्ष र अदक्ष रहेका छन् । सरकारले विदेश पठाउँदा अदक्ष कामदारलाई व्यवस्थापन गर्न नसक्दा वैदेशिक रोजगारीको क्रममा विविध समस्या खेप्नुपरेको छ । अदक्ष कामदार पठाउँदा कम्पनीले फिर्ता पठाउने, न्यूनतम सेवा सुविधा नदिने, श्रमशोषण गर्नेलगायतका समस्या भोग्नुपर्ने हुन्छ ।

विभागका अनुसार श्रम स्वीकृति लिनेमध्ये पुस र मंसिर महिनामा पनि सबैभन्दा बढी अदक्ष कामदार रहेका छन् । पुसमा ३१ हजार आठ सय ६४ जना अदक्ष, २३ हजार सात सय १४ जना दक्ष, छ हजार पाँच सय ७६ जना अर्धदक्ष, एक सय चार जना व्यावसायिक र १५ जना उच्च सीप भएकाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै मंसिरमा सबैभन्दा बढी ३५ हजार सात सय ३३ जना अदक्ष, ३१ हजार नौ सय १६ जना दक्ष, छ हजार छ सय २० जना अर्ददक्ष, ७० जना व्यावसायिक र १५ जना उच्च सीप भएकाले श्रम स्वीकृति लिएका छन् । विदेश जाने युवाहरुमा ज्यादै न्यून मात्र पूर्ण सीपयुक्त युवा रहेका छन् ।

वैदेशिक रोजगारीको नाममा ठगी, अलपत्र, अकाल मृत्युलगायतका समस्या यथावत् हुँदा अदक्ष कामदारले यसलाई बढुवा दिन सहज हुने देखिन्छ । यसैबीच पछिल्लो समय भने भिजिट भिसामा विदेश गई अलपत्र पर्नेको संख्या बढेको छ । सरकारले वैदेशिक रोजगारीमा प्रशस्त समस्या हुँदा पनि त्यसलाई बेवास्ता गर्दै अघि बढ्दा युवाहरु समस्यामा पर्ने गरेको पाइन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया