Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभिजिट भिसा गिरोहका कर्मचारी र प्रहरी पक्राउ पर्लान् ?

भिजिट भिसा गिरोहका कर्मचारी र प्रहरी पक्राउ पर्लान् ?


काठमाडौं । वैदेशिक रोजगारीको लागि भिजिट भिसा अहिलेको मात्र समस्या होइन । भिजिट भिसा प्रकरण वर्षौँ बित्दा पनि सरकारले यसको समाधान गर्न सकेको छैन । भिजिट भाषाका नाममा जति पनि ठगी हुने गरेको छ त्यो भने अधिकांश बेरोजगार युवायुवतीहरुमार्फत नै उठाउने गरेको पाइन्छ । जसले गर्दा बेरोजगार युवाहरुलाई ठगी र समस्यामा पारेर थप ऋणको भार बोकाउने गरेको पाइन्छ ।

भिजिट भिसाको नाममा ठगी प्रकरण बढ्दै गएको समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भिजिट भिसामा नेपालबाट दुबई पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ राइनास नगरपालिका–३ ठेगाना भएका ४७ वर्षीय मधुबिलास बास्कोटा, सोलुखुम्बु दूधकुण्ड नगरपालिका–८ ठेगाना भएका ५४ वर्षीय होम बहादुर खड्का, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रंजना ढकाल प्याकुरेल, रुपन्देही देवदह नगरपालिका–५ ठेगाना भएका ३० वर्षीय राजु भन्ने खुम बहादुर बस्याल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ टाउन प्लानिङ बस्ने ४० वर्षीय सन्तोष प्याकुरेल रहेका छन् ।

दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्याय समेतको गिरोहले आमर्स गार्डमा पाँच सय जनाको भ्याकेन्सी भएको, मासिक तलब तीन हजार दिरामसम्म पाउने वैदेशिक रोजगारमा लगाइदिने, सोबापत जनही तीन लाख ५० हजार रूपैयाँ देखि आठ लाख रूपैयाँसम्म खर्च लाग्ने भनी फेसबुक वाट्सएपजस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणलाई विभिन्न मितिमा भिजिट भिसामा दुबईमा पु¥याई ९० दिनभित्र काममा लगाइदिन्छु भनी विश्वासमा पारी काममा नलगाई बिचल्ली बनाई फरार भएका थिए । उक्त घटनामा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।

नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको र हालसम्म ७६ जना पीडितहरुबाट दुई करोड ४३ लाख ३६ हजार आठ सय १० रूपैयाँ ठगी भएको खुल्न आएको छ । उनीहरूउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ । उनीहरु पक्राउ परेसँगै विमानस्थलमा रहने अध्यागमनका कर्मचारी तथा प्रहरीहरुले भिजिट भिसामा दुबई जाने युवाहरुलाई किन रोक्न सकेन भनी प्रश्न उठेको छ । भिजिट भिसामा दुबई मात्र होइन मलेसिया, खाडी मुलुकमा ठूलो संख्यामा नेपाली युवाहरु जाने गरेका छन् । तर, भिजिट भिसामा मलेसिया तथा खाडी मुलुक युवाहरु पठाउने काममा विमानस्थलमा रहेको अध्यागमनका कर्मचारी र मिलेमतो हुने गरेको स्रोतले बताएको छ ।

विना बैंक खाता रकम, घुम्ने अभिप्रायः नखुलेको, चप्पल लगाएका युवाहरु त विदेश घुम्न जाँदैनन् होलान् तर यी सबै कुरा थाहा हुँदा पनि मानव तस्करको सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युवाहरु विदेश पुगेका छन् । उनीहरुलाई विदेश पु¥याएबापत अध्यागमनका कर्मचारीहरुले ५० हजार रकमभन्दा बढी प्रतिव्यक्तिमार्फत पाउने गरेको स्रोतले बताएको छ ।

भिजिट भिसाको प्रलोभनमा विदेश पु-याउने नाममा हाल पक्राउ परेको व्यक्तिहरु एउटा सानो अंश मात्र रहेको बताइन्छ । भिजिट भिसाको नाममा हुने मानव तस्करी गिरोहमा नेपाल र विदेशी मुलुककमा उच्च व्यक्तिहरु नं संलग्न रहेको एक उच्च स्रोतले बतायो । ‘नेपाली मात्र नभई मलेसिया र खाडी मुलुकका अधिकारीहरु पनि यस कार्यमा संलग्न रहेका छन् तर यसको खोजबिन कारबाही भने हुँदैन’, स्रोतले भन्यो ।
केही समयअघि दुबई गएर आएका एक युवाले नाम नबताउने शर्तमा त्रिभुवन विमानस्थलमा आर्थिक दैनिकसँग कुराकानी गर्दै भिजिट भिसाको आडमा आफू दुबई गएर आएको बताए । ‘काठमाडौंका ती युवाले भिजिट भिसामा दुबई पठाउने अधिकारीहरुले मलाई काठमाडौंदेखि दुबईसम्म पु-याउने जिम्मेवारी लिएका थिए, मैले सोहीअनुरुप रकम तिरेको थिएँ’, उनले भने, ‘मेरो भाग्य भनौँ, मैले दुबईमा काम पाउन सकिन र म पुनः काठमाडौं फर्किएँ ।’

भिजिट भिसाको समस्याको बारेमा सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र, गृह मन्त्रालय पनि जानकार भए पनि सो समस्या समाधानतर्फ कदम चालेका पाइँदैन । गृहले भिजिट भिसा समस्या समाधान गर्न सहसचिव फणीन्द्रमणि पोखरलेको नेतृत्वमा अध्ययन समिति निर्माण समेत गरेको थियो । श्रममन्त्री कृष्णाकुमार श्रेष्ठले पनि भिजिट भिसा समस्या समाधानतर्फ कुनै चासो दिएको पाइँदैन । दिनहुँ भिजिट भिसाको नाममा युवाहरु विदेश उड्दा उनले यसलाई रोक्ने प्रयास गरेको पाइँदैन ।

भिजिट भिसाको नाममा ठगी गरेको अभियोग लागेका नेपाली व्यवसायी कोमलराज उपाध्याय दुबई बस्दै आएका थिए । उनलाई पक्राउ गर्नको लागि भन्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको थियो । जेठ पहिलो साता नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले उपाध्यायविरुद्ध रेड नोटिस जारी गरेको हो । उनीविरुद्ध ४० जनाले सीआईबीमा ठगी र मानव तस्करीको जाहेरी दिएका थिए ।

दुबईमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्स नामक कम्पनी चलाउँदै आएका उपाध्याय र उनका साझेदारीले उक्त धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । सोही कारण नेपालमा रही उनलाई सहयोग गर्ने अधिकारीहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया