Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘गरिब परिवार परिचयपत्र’ वितरणकार्यको शुभारम्भ

‘गरिब परिवार परिचयपत्र’ वितरणकार्यको शुभारम्भ


महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १२ बाट ‘गरिब परिवार परिचयपत्र’ वितरणकार्यको शुभारम्भ गरेकी छिन् । बर्दिबासमा बुधबार एक कार्यक्रमको आयोजना गरी गरिब परिवार परिचयपत्र वितरणकार्यको सुभारम्भ गरिएको हो । मन्त्री श्रेष्ठले पहिचानकार्य सम्पन्न भएका दुई लाख २३ हजार तीन सय ३० घरपरिवारलाई परिचयपत्र वितरण गर्ने कार्यको बुधबारबाट सुरुवात गरेको बताइन् । २३ जिल्लाका दुई सय १४ स्थानीय तहहरूबाट ११ लाख आठ हजार आठ सय ३६ घरपरिवारको तथ्यङ्क संकलन भई दुई लाख २३ हजार तीन सय ३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरणको कार्य शुभारम्भ गरिएको हो ।

मन्त्री श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरू सरकारले योजना बनाएर गर्न सुरु गरिसकेको बताइन् । अहिलेको सरकारले तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम गरिरहेको उनको दाबी थियो । यस्तै उनले पहिचान गरिएका गरिब परिवारलाई विपन्न घरपरिवारलक्षित सेवा सुविधाहरूमा आबद्ध गर्ने विषय यसवर्षको नीति तथा कार्यक्रममा पनि राखेको जानकारी दिँदै स्वेदशमा नै रोजगारी सिर्जना गरेर आफ्नै खुट्टामा उभिने र कोही पनि नागरिकले विदेश जान नपर्ने गरी काम गर्न योजनाबद्ध रूपमा सरकार अगाडि बढेको बताइन् ।

यस्तै बुधबार नै मन्त्री श्रेष्ठले बाराको सिम्रौनगढमा स्थापना गरिएको मालपोत कार्यालयको उद्घाटन गरेकी थिइन् । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयले जग्गा प्रशासनमा सुशासन स्थापनाका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् । उनले नापी र मालपोत कार्यालय सिधै जनतासँग जोडिने कार्यालय भएकाले थप चारवटा थप नापी र मालपोत कर्यालय स्थापना गर्ने निर्णय भई दुईवटा स्थापना गरिसकेको र दुईवटा निकट भविष्यमा नै गर्ने समेत जानकारी दिइन् । यस्तै उनले आफू मन्त्रालयमा आइसकेपछि गाउँब्लकमा पुनः नापी र विशेष नापीबाट ५० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिसकेको उल्लेख गरिन् । भूमिसँग जोडिएका सबै खालका समस्या आगामी दुई वर्षभित्र समाधान गर्न सरकार प्रतिबद्ध भएर लागेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले यही आर्थिक वर्षभित्र तीन सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने जानकारी दिइन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया