Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रलाई अनुकूल वातारण दिने प्रतिबद्धता

निजी क्षेत्रलाई अनुकूल वातारण दिने प्रतिबद्धता


काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेकोमा जोड दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटन सत्रका वक्ताहरुले पूर्वाधार विकासबाटै नेपालको आर्थिक समृद्धि सम्भव रहेको बताएका हुन् । यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामुखी बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।

सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिका लागि निजी क्षेत्र महत्वपूर्ण साझेदार भएको बताए । उनले निजी क्षेत्रलाई अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देशले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने प्रचण्डको दाबी थियो । ‘त्यही बुझेरै हामीले संविधान बनाउँदा र राजनीतिक घोषणापत्रमा पनि यस क्षेत्रको भूमिकालाई महत्व दिएका छौँ’, उनले भने ।

पछिल्लो समय सरकार र निजी क्षेत्रबीच हार्दिक सम्बन्ध बनेको र यसमा नेपाल उद्योग परिसंघको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकारलाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको बताए । मुलुकमा लगानीको वातावरण बनाउन राज्यको दायित्व बाँकी रहेको भन्दै अधूरा कामहरु अघि बढाइने बताए । निजी क्षेत्रलाई अझ विश्वासमा लिने र विदेशी लगानी वृद्धि गर्न राज्य गम्भीर हुन थप आवश्यक रहेको उनको भनाइ थियो । पूर्वाधार विकासलाई अब भौतिक विकासका रुपमा मात्र नहेरी डिजिटल विकासमा पनि केन्द्रित गर्नुपर्ने उनको सुझाव थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यसअघिका तीनवटा नेपाल पूर्वाधार सम्मेलनको उपलब्धिहरुले परिसंघलाई थप हौसला मिलेको बताए । परिसंघले सन् २०१४ देखिको पूर्वाधार सम्मेलनले अर्थतन्त्र बलियो बनाउन पूर्वाधारको महत्व बझाउने काम गरेको उनले बताए । परिसंघले पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको अवधारणा अघि सार्दै आएकोमा त्यसकै परिणामस्वरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को स्थापना भएको उनले बताए ।

पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको आवश्यकतालाई थप सशक्त बनाउन सक्नु पूर्वाधार सम्मेलनको महत्वपूर्ण पलह भएको अध्यक्ष अग्रवालले बताए । पर्यटन प्रवर्द्धनका लागि अन्तर्देशीय कनेक्टिभिटी र डिजिटल क्षेत्रमा रहेको सम्भावना उपयोगमा जोड दिएका आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए ।

एसियाली विकास बैंक (एडीबी)का निजी क्षेत्र सञ्चालन तथा सार्वजनिक–निजी साझेदारीका उपाध्यक्ष अशोक लभासाले पूर्वाधार विकास र आर्थिक वृद्धिका लागि पूर्वाधार सम्मेलन महत्वपूर्ण भएको बताए । पूर्वाधार क्षेत्रले सिर्जना गर्ने अवसरबाट नेपालले धेरै लाभ लिनसक्ने उनको भनाइ थियो । त्यसैगरी उनले एडीबीले पनि नेपालको पूर्वाधार विकासलाई प्राथमिकता दिएर सहकार्य गरिरहेको बताए ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले पूर्वाधार विकासका लागि सरकारले उपयुक्त नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । अहिले राजनीतिक दलको ध्यान आगामी निर्वाचनमा केन्द्रित भए पनि चुनावपछि आर्थिक विकासमा केन्द्रित हुन आग्रह गरे ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले विश्वव्यापी आपूर्ति शृंखलामा आएको अवरोधका कारण नेपालको मात्र नभई विश्व अर्थतन्त्रमा समेत समस्या परेको बताए । देशको दिगो विकासमा पूर्वाधारको अहम् भूमिका रहेको र चौथो शिखर सम्मेलनले त्यही तथ्यलाई जोड दिएको स्पष्ट पारे । पूर्वाधारमा थप लगानीको खाँचो रहेकोले निजी क्षेत्रलाई थप लगानी गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधतायुक्त नेपालसँग धेरै अवसर रहेको बताए । उनले ती अवसरहरुको सदुपयोग गर्न पूर्वाधार विकासको आवश्यकता रहेको बताए । सरकारले राखेको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न पनि पूर्वाधारमा लगानी आवश्यक रहेको उनको सुझाव थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया