Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनागढुंगा सुरुङमार्गको २८ प्रतिशत काम ‘फाइनल’

नागढुंगा सुरुङमार्गको २८ प्रतिशत काम ‘फाइनल’


काठमाडौं । नागढुंगा सुरुङमार्गको सुरुङ खन्ने काम ६६ दशमलव ३ प्रतिशत सकिएको छ भने खनिएको मध्ये २८ दशमलव ६ प्रतिशत भाग गाडी गुड्न योग्य बनाएर फिनिसिङ गरिएको छ । यसलाई सुरुङमार्ग आयोजनाले ‘टनेल लाइनिङ’ भनेको छ ।

कात्तिक १ गते मंगलबारसम्म कुल पाँच हजार चार सय ९९ मिटरमध्ये तीन हजार छ सय ४४ दशमलव ८० मिटर सुरुङ खन्ने काम पूरा भएको छ । खनिएको उक्त भागमध्ये आठ सय चार दशमलव ४० मिटर सुरुङलाई फाइनल गरेर गाडी चल्ने अवस्थामा पु¥याइएको छ ।

गाडी गुड्ने २६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमध्ये काठमाडौंबाट सात सय ८७ दशमलव ४० मिटर खन्ने काम भएको छ भने सो क्षेत्रको चार सय पाँच दशमलव ९० मिटरको लाइनिङको काम सकिएको छ । मुख्य सुरुङको धादिङतर्फबाट आठ सय २४ दशमलव ८० मिटर खनिएको मध्ये तीन सय ८६ दशमलव ५० मिटर सुरुङको लाइनिङको काम पूरा भएको छ । आयोजनाका अनुसार गाडी चल्ने मुख्य सुरुङको दुईतिरबाट सात सय ९२ दशमलव ४० मिटरको काम पूरा भएको छ ।

अहिले सुरुङ खन्ने र त्यसलाई फिनिसिङ गर्ने कार्य जारी राखेको कारण पहिलाको भन्दा कामदार बढाइएको छ । आयोजनाले सुरुङ फाइनल गर्नका लागि थप समय माग गरेको छ । यद्यपि त्यसमा निर्णय भने भइसकेको छैन । थप समय माग गरे पनि आयोजनाले कामलाई भने तीव्रता दिएको छ । तीव्ररुपमा काम गरे पनि फिनिसिङ गर्न थप समय चाहिने भएको कारण आयोजनाको मागप्रति सडक विभाग पनि सकारात्मक देखिएको छ । ‘काम गर्नेलाई समय पुगेन भने थप गरिदिन्छौँ’, सडक विभागका एक अधिकारीले भने, ‘समय थप उक्त आयोजनाका लागि ठूलो मुद्दा होइन ।’

मुख्य सुरुङको साथै क्रसपासहरुलाई पनि आयोजनाले फिनिसिङ गर्दै लगेको छ । मुख्य सुरुङ काठमाडौं र धादिङ दुवै तर्फबाट रातदिन अर्थात् २४सै घण्टा खन्ने काम जारी छ । नागढुंगा सुरुङमार्ग चिनिने यो योजना २०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगाको काठमाडौंतर्फ टुटीपाखामा शिलान्यास गरेका थिए । सुरुङमार्ग निर्माणको जिम्मा प्रतिस्पर्धाबाट जापानको हाम्जा–आन्द्रो जेभीले पाएको थियो । सोही साल असोज ६ गते सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र हाम्जा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएपछि कात्तिक ४ गते शिलान्यास गरिएको थियो ।

शिलान्यास गरेको १४ महिनापछि सुरुङमार्ग खन्ने काम २०७७ पुस पहिलो साताबाट भएको हो । सुरुङ खन्नु अगाडिको पूर्वाधारका काम, मुआब्जा विवाद, विस्फोटका पदार्थ आयातमा ढिलाइ, कोभिड महामारीलगायतको कारण १४ महिनापछि मात्र सुरुङको काम सुरु भयो । आयोजनाका एक इन्जिनियरका अनुसार सन् २०२३ भित्रमा सक्ने लक्ष्यका साथ जापनिज कम्पनीले काम गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया